राजविराज, १४ पुस । राष्ट्रिय सहकारी बैंकका अध्यक्ष के.बी. उप्रेतीले नेपाली जनताको स्तर वृद्धिका निम्ति स्थानीय सरकारसँग समन्वय तथा सहकार्य गरेर सहकारी बैंक अगाडि बढ्न तयार रहेको बताएका छन् ।
सप्तरीको राजविराजमा सोमवार आयोजित नवज्योत वचत तथा ऋण सहकारी संस्थाको पाँचौ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । सहकारी संस्थाहरुसँग सहकार्य गरेर जनताको स्तर वृद्धि गर्ने खालका कार्यक्रमहरु ल्याएर कार्यअघि बढाउन स्थानीय सरकारहरुसँग आग्रह गर्दै उनले भने ‘नेपाली जनताको स्तर वृद्धिका निम्ति स्थानीय सरकारसँग समन्वय तथा सहकार्य गरेर सहकारी बैंक अगाडि बढ्न तयार छौं ।’
जनताहरुमा सिप र क्षमताको विकास गर्ने, रोजगारी सृजना गर्ने, सामाजिक कार्यमा सहयोग गर्ने, सुशासन स्थापना गर्ने लगायत स्थानीय सरकारले गर्ने कार्यहरु सहकारीबाट पुरा हुने भएकोले यी कार्यहरु गर्न आफुहरु तत्पर रहेको अध्यक्ष उप्रेतीले बताए । सहकारीको माध्यमबाट सामाजिक रुपान्तरण हुने बताउँदै उनले यूवाहरु वैदेशिक रोजगारीको क्रममा पलायन हुने क्रम तीब्र रुपमा बढिरहेकोले ती यूवाहरुलाई स्थानीयस्तरमै व्यवसाय गरी रोजगारीको अवसर श्रृजना गर्न सहकारी बैंकले लगानी गर्ने प्रतिवद्धता व्यक्त गरे । 
अध्यक्ष उप्रेतीले सहकारी तथा स्थानीय सरकार मिलेर यस्ता कार्यहरु अघि बढाउन सकियो भने संघीय सरकारले अघि सारेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को नारा साकार पार्न पनि टेवा पुग्ने विश्वास व्यक्त गरे । सहकारीहरुलाई समेत जिम्मेवार भएर काम गर्न सुझाव दिँदै उत्पादनमुखि एवम् स्वरोजगारमूलक कार्य लगानी गर्न अध्यक्ष उप्रेतीले सुझाव दिए ।
संस्थाका अध्यक्ष नरसिंह यादवको अध्यक्षतामा आयोजित उद्घाटन समारोहमा सहकारी बैंक प्रदेश नम्वर–२ का संयोजक विश्वनाथ यादव, रुपनी गाउँपालिकाका अध्यक्ष हरेराम यादव, राष्ट्रिय सहकारी संघका प्रमुख रमेश गुप्ता, नेपसुन जनकपुर फिल्ड कार्यालयका महेश बराल, वडा अध्यक्ष जयनारायण मण्डल, राष्ट्रिय सहकारी बैंकका शाखा प्रमुख विष्णु पराजुली, नेपाल पत्रकार महासंघ सप्तरीका उपाध्यक्ष श्यामसुन्दर यादव लगायतले शुभकामना मन्तव्य व्यक्त गरे । सोही कार्यक्रममा विभिन्न विद्यालयमा अध्ययनरत छात्रछात्रालाई पुरस्कृत गरिएको छ भने संस्थाकालागि उत्कृष्ट योगदान पुर्याउने व्यक्तिहरुलाई सम्मान गरिएको छ । कार्यक्रम सञ्चालन सञ्चारकर्मी जिबछ दासले गरे । कार्यक्रममा केशव कर्ण लगायतका कलाकारहरुले सांस्कृतिक कार्यक्रममा प्रस्तुति गरेका थिए ।
सञ्चालक समिति गठन
नवज्योत सहकारी संस्थाको सोमवारै साँझ सम्पन्न साधारणसभाले सञ्चालक समितिको अध्यक्षमा पुनः नरसिंह यादवलाई चयन गरिएको छ । समितिको उपाध्यक्षमा बालेश्वर विश्वास सचिवमा लालदेव यादव र कोषाध्यक्षमा जिबछ यादव चयन भएका छन् । सदस्यमा बासुदेव खङ्ग, सिता देवी यादव र नविजा खातुनलाई साधारणसभाले चयन गरेको छ ।
यसैगरी लेखा समितिको संयोजकमा सुमिन्त्रा देवी खङ्ग, सदस्यमा अब्बास मन्सुरी र गीता देवी राम चयन भएकी छिन् ।