• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

कृषि

माटो परीक्षण गरी सुहाउँदो व्यवसायिक खेती आवश्यकः मन्त्री साह

माटो परीक्षण गरी सुहाउँदो व्यवसायिक खेती आवश्यकः मन्त्री साह

राजविराज, २० मंसिर । प्रदेश नम्वर–२ का भूमी, व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले किसानहरुले परम्परागत खेती गर्दैआएका कारण अपेक्षाकृत उत्पादन बढ्न नसकेकोले माटो परीक्षण गरी उपयुक्त व्यवसायिक खेती गर्नुपर्ने आवश्यकता औंल्याउनु भएको छ ।
‘भू–क्षय रोकौं, भविष्य बनाऔं’ भन्ने मूल नाराका साथ सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–४ जिरिया हाटमा शुक्रवार विश्व माटो दिवसको अवसरमा आयोजित कार्यक्रमहरुको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । प्रदेश नम्वर २ कृषि उत्पादन हुने मुख्य क्षेत्र भए पनि किसानहरुमा अझैं जागरुकता आउन नसकेको बताउँदै उनले भने ‘किसानहरुले परम्परागत खेती गर्दैआएका कारण अपेक्षाकृत उत्पादन बढ्न नसकेको छैन, त्यसैले माटो परीक्षण गरी उपयुक्त माटो सुहाउँदो व्यवसायिक खेती आवश्यक छ ।’
किसानहरु निर्वाहमुखि खेती गरिरहेकोप्रति चिन्ता व्यक्त गर्दै मन्त्री साहले निर्वाचित जनप्रतिनीधिहरुले समेत किसानहरुलाई प्रोत्साहित गरी व्यवसायिक खेतीतर्फ आकर्षण बढाउनुपर्नेमा जोड दिए । माटो परीक्षण गराउनेतर्फ किसान अझैं जागरुक नरहेकोप्रति चिन्ता व्यक्त गर्दै उनले भने ‘हामीले किसानलाई सुविधा दिने हो तर त्यसको सही सदुपयोग त किसानहरुले नै गर्नुपर्दछ, कुन माटोमा पोषक तत्वको अवस्था के छ ? यसको यकिन गरी प्राविधिकको सल्लाह अनुसार खेती लगाए उत्पादन बढ्ने निश्चित छ ।’
अन्दाजको भरमा खेतमा डिएपी, यूरिया लगायतका रसायनिक मल प्रयोग नगर्न आग्रह गर्दै माटोको यकिन गरेर मात्र मल प्रयोग गर्नुपर्नेमा उनले जोड दिए । करिब एक करोड रुपैयाँको लागतमा ल्याईएको अत्याधुनिक ल्याब सहितको माटो परीक्षण घुम्ती प्रयोगशाला बसबाट सेवा लिन आग्रह गर्दै मन्त्री साहले कृषि नै प्रदेश समृद्धिको मूल आधार भएकोले आफुहरुले किसानहरुलाई प्राथमिकतामा राखेको जानकारी दिए ।
तिलाठी कोइलाडी गाउँपालिका अध्यक्ष सतिश कुमार सिंहको अध्यक्षतामा आयोजित कार्यक्रममा माटो तथा मल परीक्षण प्रयोगशाला प्रदेश नम्वर २ का प्रमुख सुनिल कुमार सिंह, कृषि ज्ञान केन्द्र सप्तरी–सिरहाका प्रमुख भगिरथ यादव, पशु सेवा विज्ञ केन्द्रका प्रमुख फुलगेन यादव, पशुविज्ञ धु्रव यादव लगायतले मन्तव्य व्यक्त गरे । कार्यक्रम सञ्चालन पशु सेवा केन्द्रका प्राविधिक चन्देश्वर मण्डलले गरे ।
माटो तथा मल परीक्षण प्रयोगशाला प्रदेश नम्वर २ को कार्यालयद्वारा तिलाठी कोइलाडी गाउँपालिकामा निःशुल्क माटो परीक्षण शिविर, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सिरहाद्वारा बाँझोपन निवारण शिविर तथा पशु स्वास्थ्य शिविर आयोजना गरिएको छ ।
शिविरमा एक सय ५० जना किसानले माटो परीक्षण गराएका छन् भने ग्रामिण भेगका ३ सय पशुपालक कृषकहरुले आफ्ना पशुको जाँच तथा उपचार गराएको जनाईएको छ ।