• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
सप्तरीमा रेड लेडी (मेवा) को व्यवसायिक खेती

राजविराज, १९ कात्र्तिक । स्वास्थ्यका लागि अति गुनिलो फल हो मेवा । तर, उत्पादनतर्फ किसानहरुको ध्यान पुग्न नसक्दा सप्तरीका बजारमा ७५ प्रतिशतभन्दा बढी मेवा भारतबाटै आयात हुँदै आएको छ । सोही कुरालाई मध्यनजर गर्दै सप्तरीमा पहिलो पटक संयुक्त रुपमा व्यवसायिक मेवा खेती सुरु गरिएको छ ।
कञ्चनरुप नगरपालिका वडा नम्वर १२ धरमपुरमा दिपक गुप्ता, पिताम्वर कर्ण र अनिल प्रधानले सुन्दरी फार्म खोलेर संयुक्त रुपमा व्यवसायिक मेवा खेती सुरु गरेका हुन् । ‘गुलियो र पोषिलो मानिने मेवाको बोट गाउँघरमा काँही–कत्तै देखिएपनि यसको व्यवसायिक खेती छैन’ दिपक गुप्ताले भने–‘जसका कारण बजारको माग पुरा गर्न भारतकै भर पर्नुपर्ने बाध्यता छ ।’ उनले आफुहरुले सुरु गरेको खेतीबाट मेवा उत्पादन हुन थालेपछि बजारको माग पूरा विश्वास व्यक्त गरे ।
‘चार महिनाअघि मात्रै भारतको कलकत्ताबाट ‘रेडलेडी’ प्रजातिका विरुवा ल्याएर पाँच विघा जग्गा भाडामा लिएर मेवा खेती सुरु गरे’ गुप्ताले भने–‘कुल १९ लाख रुपैयाँको लगानीमा झण्डै चार हजार बोट रोपे ।’ अहिले तीनै जना मिलेर बोटको रेखदेख गर्दै आएको उनले बताए । ‘अहिले त बोटको अवस्था राम्रै छ, तर पनि चिन्ता छ’ उनले थपे–‘प्राविधिक यहाँ पाउँदैनन् ।’
पिताम्वर कर्णले कृषिमै केही नयाँ गर्ने सोच पलाएपछि व्यवसायिक रुपमा मेवा खेती सुरु गरेको बताए । ‘कृषिमै केही नयाँ गर्ने सोच त अन्य युवाहरुमा पनि देखें’ उनले भने–‘आफुहरुले तीन जना मिलेर बजारको माग पुरा गर्न नयाँ सोचअनुसार मेवा खेती सुरु गरे, तर कृषितर्फ सरकारको उदासिनताले अन्य युवाहरु भने केही गर्न सकिरहेको छैन् ।’
उनले कम्तिमा पनि स्थानीय र प्रदेश सरकारले त्यस्ता युवाहरुलाई कृषितर्फ उन्मुख गर्न ध्यान पु¥याउनुपर्ने माग गरे । सरकारले युवाहरुकालागि अनुदान उपलब्ध गराएर कृषितर्फ ल्यायो भने अवश्य पनि कृषिमा प्रदेश आत्मनिर्भर हुन्छ,’ उनले भने ।
अनिल प्रधानले आफुहरुले लगाएको एउटा बोटमा करिब ५० देखि ६० किलोसम्म फल लाग्ने बताए । ‘ खेतमा लगाएको ताइवानी मेवाको बोटमा अहिले फुल र फल लाग्न सुरु भईसकेकोले ३ देखि ४ महिनासम्ममा खाने योग्य भईसक्छ’ उनले भने–‘यहाँ उत्पादित मेवा काठमाडौं, पोखरा, धरान, विराटनगर, जनकपुर लगायतका बजारसम्म पठाउने योजना छ ।’
सप्तरीका बजारमा ६० देखि ६५ रुपैयाँ प्रतिकिलोको दरले मेवाको कारोबार हुँदै आएको छ ।