राजविराज, ९ असोज । चाडपर्व नजिकिएसँगै सप्तरीमा चोरीका घटनामा वृद्धि भएको छ । बुधवार रातिमात्रै सदरमुकाम राजविराजसहित दुई स्थानमा लाखौंको मालसमान चोरी भएको छ । राजविराज नगरपालिका–५ मा रहेको एक मोटर पार्टस पसल र सुरुङ्गा नगरपालिका–११ मा रहेको एक विद्यालयमा चोरी भएको हो ।
राजविराज स्थित कुष्ण साहको मोटर पार्टस पसलमा सतरको ताल्चा फुटाई २ लाख १० हजार रुपैयाँको बराबरको मनमाल चोरी भएको प्रहरीले जनाएको छ । यसैगरी सुरुङ्गा स्थित जनता माध्यमिक विद्यालय खजनपुरमा मुल ढोका काटेर अफिसभित्रका सरसमान चोरीको प्रयास भएको छ । अफिसभित्र रहेको एक–एक थान कम्प्युटर, प्रिन्टर, रोटर, जग र साउण्ड बक्स निकालेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार सो समानहरु अफिस बाहिर निकालेपनि विद्यालयबाट ५ सय मिटरको दुरीमा फालेको पाइएको छ । सो समानमध्ये साउण्ड बक्स मात्रै लगेको जनाएको छ । दुवै घटनामा संलग्न व्यक्तिहरुको खोजी कार्य भईरहेको जनाएको छ ।