जनकपुरधाम, १२ साउन । निरन्तरको वर्षा र बाढीका कारण प्रदेश नम्वर २ मा क्षतिग्रस्त भएका मुख्य सडकहरुको मर्मत कार्य तत्काल शुरु गरी आवागमन सहज बनाईने भएको छ ।
प्रदेशमा भएको जनधनको क्षति तथा सडक लगायतको अवस्थाबारे जानकारी गराउन संघीय राजधानी काठमाण्डौ पुगेको मुख्यमन्त्री लालबाबु राउत सहितको टोलीसँग संघीय सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले क्षतिग्रस्त सडकहरुको तत्काल मर्मत कार्य शुरु गर्ने प्रतिबद्धता जनाएको हो । विहान प्रधानमन्त्रीसँग छलफल गरेको सर्वदलीय टोली दिउँसो भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठको उपस्थितिमा मन्त्रालयका सचिव, सडक विभागका महानिर्देशक, हुलाकी राजमार्ग परियोजनाका प्रमुख सहितसँग सामुहिक छलफल गरेको छ ।
छलफलमा मुख्यमन्त्री लालबाबु राउतले बाढीका कारण प्रदेशका सबै सडकहरु प्रायः अवरुद्ध भएकोले राहत वितरणमा समेत समस्या भईरहेको गुनासो गरे पछि सडकको मर्मत कार्य तत्काल शुरु हुने जनाईएको छ । छलफलमा संघीय भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुविर महासेठले सडक मर्मतका लागि सबै शक्ति परिचालन गर्न निर्देशन समेत दिएका छन् ।
प्रदेश नम्वर २ को सडक मर्मतकालागि संघीय सरकार मातहतका सडक डिभिजन कार्यालय, प्रदेश सरकारको मेकानिज्म र आवश्यक परे अन्य प्रदेशबाट समेत प्राविधिक सहायता जुटाउने सहमति भएको मुख्यमन्त्री राउतले जानकारी दिएका छन् । छलफलमा प्रदेशको तर्फबाट भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल, नेकपा संसदीय दलका नेता सत्यनारायण मण्डल सहितको सहभागिता रहेको थियो ।
पुनर्वास तथा पुनरनिर्माणका लागि सहयोग जुटाउने उद्देश्यले काठमाण्डौ पुगेको सर्वदलिय टोली सम्बन्धित पक्षहरुसँगको छलफललाई सोमबार समेत निरन्तरता दिईने छ ।