जनकपुरधाम, ८ साउन । संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति एकीकरण पश्चात गठन भएको समाजवादी पार्टीको मधेश प्रदेश समितिको अध्यक्षमा विजय यादव चयन भएका छन् ।
बुधबार जनकपुरमा आयोजित समायोजन सभामा प्रदेश समिति समायोजन कार्यदलका संयोजक, पार्टीका उपाध्यक्ष एवं प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले अध्यक्ष सहित ७० सदस्यीय नयाँ प्रदेश समितिको घोषणा गरेका हुन् । नवगठित कार्य समितिको उपाध्यक्षमा रामपृत पासवान, उर्मिला साह, सुशील यादव चयन भएका छन् । यसैगरी मुख्य सचिवमा शम्भू झा, सचिवहरुमा दिनेश यादव, ज्ञानेन्द्र कुमार यादव र राम कैलाश यादव चयन भएका छन् । यसैगरि कोषाध्यक्षमा रेणु यादव (सिरहा) चयन हुनु भएको छ ।
समायोजित समितिमा तत्कालिन संघीय समाजवादी फोरम नेपालको लहान अधिवेशनबाट निर्वाचित ५१ जना र नयाँ शक्तिबाट १९ जना रहेका छन् । पदाधिकारीहरुमा उपाध्यक्ष सुशील यादव र सचिव राम कैलाश यादव नयाँ शक्तिबाट चयन भएका छन् । अध्यक्ष सहितका अन्य पदाधिकारीहरु फोरमको कोटाबाट आएका छन् । ११ पदाधिकारी सहितको ९९ सदस्यीय समितिमा २ उपाध्यक्ष सहित २९ सदस्यको पद खाली राखिएको छ ।
समायोजन समारोहमा समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले संक्रमणकालमा रहेको देशको निकासकोलागि समुन्नत संघीय समाजवाद एक मात्र विकल्प रहेको बताए । विश्वकै राजनीति परिदृश्यमा पुजीवादी र साम्यवादी विचारधारा चरम संकटमा फँसेको उल्लेख गर्दै उनले त्यसको विकल्पमा आफुहरुले समुन्नत संघीय समाजवादलाई अघि सारेको उल्लेख गरे ।
पूर्व प्रधानमन्त्री समेत रहेका डा. भट्टराईले समाजमा अन्तरविरोध रहेसम्म संघर्ष जारी रहने बताए । समावेशीता र संविधान विपरित आएको लोक सेवा आयोगको विज्ञापन विरुद्ध संघर्षको विकल्प नरहेको समेत उनले दावी गरे ।
कार्यक्रममा केन्द्रिय समिति अध्यक्ष उपेन्द्र यादवले समाजवादी पार्टी वैकल्पिक राजनीतिक शक्ति निर्माणको अभियानमा जुटेको तथा त्यसका लागि थुप्रै पार्टीहरुसँग सकारात्मक छलफल जारी रहेको बताए । उनले संघीय लोकतान्त्रिक व्यवस्थामा संसदीय सर्वोच्चता हुने भए पनि देशमा संसदीय सर्वोच्चता माथि नै प्रहार भै रहेको हुँदा सचेत रहन नेता कार्यकर्ताहरु निर्देशन समेत दिए । आफुहरु संविधान संशोधनको शर्तमा सरकारमा सहभागी भएको उल्लेख गरे । उपप्रधानमन्त्री समेत रहनु भएका यादवले संविधान संशोधन नभए संघर्ष एक मात्र विकल्प रहने बताए ।