राजबिराज, १४ फागुन । सप्तरीको राजविराजमा सञ्चालित प्रदेश नम्वर २ स्तरीय क्षेत्रीय छनौट क्रिकेट प्रतियोगिता अन्तर्गत चौथो दिनको खेलमा रौतहटले सिरहालाई ४६ रनले तथा सप्तरीले सर्लाहीलाई ६८ रनले पराजित गर्दै विजयी शुरुवात गरेको छ ।
मध्यमाञ्चल खेलकुद विकास समितिको आयोजना तथा जिल्ला खेलकुद विकास समिति सप्तरी र सप्तरी क्रिकेट संघको संयुक्त संयोजनमा पब्लिक विन्देश्वरी माध्यमिक विद्यालयको खेल मैदानमा खेल आयोजना गरिएको हो । मङ्गलवार सम्पन्न पहिलो खेलमा रौतहटले टस जितेर पहिलो ब्याटिंग गर्ने निर्णय गर्दै निर्धारित २० ओभरको खेलमा ४ विकेटको नोक्सानीमा १ सय ५२ रनको योगफल तयार पारे ।
रौतहटका लागि आशु कन्डोइले ५४ बलमा १० चौक्का र २ छक्काको मद्दतले ७१ रन तथा अञ्चल चौधरीले ५२ बलमा ७ चौक्काको मद्दतले ५३ रनको योगदान दिएका थिए भने शैलेन्द्र कुशवाहाले १५ रनको योगदान दिएका थिए । बलिङ्गतर्फ सिरहाका पार्थिव यादवले २ तथा दिलिप यादवले १ विकेट लिए । एक सय ५३ रनको लक्ष्य लिई मैदानमा ओर्लेको सिरहाले ७ बिकेट गुमाई १ सय ६ रन मात्र जोडे । सिरहाका लागि रिषभ कार्कीले ३१ तथा राजकुमार दास र अशोक यादवले क्रमशः २० र १३ रनको योगदान दिए । बलिंगतर्फ रौतहटका तर्फबाट सुनिल मिश्राले ३ तथा रवी साह र बिक्रम कुशवाहाले सामान २ बिकेट लिए ।
खेलको म्यान अफ द म्याच रौतहटबाट बिस्फोटक ब्याटिंग गरे वापत आशु कँडेललाई घोषित गरियो । मङ्गलवार नै सम्पन्न एक अर्को खेलमा सप्तरीले टस जिती पहिलो ब्याटिंग गर्ने निर्णय गर्दै निर्धारित २० ओभरको खेलमा सम्पुर्ण बिकेट गुमाई १ सय ३५ रनको योगफल तयार पारे । सप्तरीका लागि रोहन बिकले उत्कृष्ट ब्याटिंग गर्दै ४ चौक्का र ३ छक्काको मद्दतले ५० रनको योगदान दिएका थिए भने बिवेक यादवले १० बलमा ३ छक्काको मद्दतले बिष्फोटक २२ रन तथा अमित यादवले २१ रनको योगदान दिएका थिए । यसैगरि आशिष झाले १२ रनको योगदान दिएका थिए । बलिङ्गतर्फ सर्लाहीका समसाद शेखले ४ तथा सन्दिप खडका र रोशन सिंहले सामान २ बिकेट लिएका थिए ।
एक सय ३६ रनको लक्ष्य लिई मैदानमा ओर्लेको सर्लाही सप्तरीको घातक बलिङ्ग सामु निरिह हुँदै १७ ओभर २ बलमा सम्पुर्ण बिकेट गुमाई ६७ रनमै समेटिएको थियो । सर्लाहीलाई सस्तोमा समेटन सप्तरीका अनिल यादवले घातक बलिङ्ग गर्दै ४ ओभरमा १ मेडकन सहित ८ रन दिई ४ बिकेट लिएका थिए भने बिवेक यादवले ३ ओभर २ बलमा १ मेडन सहित १० रन दिई ४ विकेट तथा महबुब आलम र विकास दासले सामान १ बिकेट लिए ।
खेलको म्यान अफ द म्याच अलराउण्ड प्रर्दशन गरे वापत सप्तरीका बिवेक यादव घोषित भए । प्रतियोगिता अन्र्तगत बुधवार पहिलो खेल रौतहट र सर्लाही तथा सप्तरी र सिरहा बिच पब्लिक विन्देश्वरी क्रिकेट मैदानमा हुने जानकारी राजविराज नगरपालिका वडा नम्वर ५ का अध्यक्ष समिर झाले गराए ।