• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

बालसंसार

.प्रारम्भिक बालविकास कार्यक्रम सञ्चालन नीति विमोचन

.प्रारम्भिक बालविकास कार्यक्रम सञ्चालन नीति विमोचन

राजविराज, ५ पुस । सप्तरीको खडक नगरपालिकाले प्रारम्भिक बालविकास कार्यक्रम सञ्चालन नीति २०७५ तयार गरेको छ ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा उल्लेखित शिक्षा सम्वन्धी कार्य क्षेत्रलाई कार्यान्वयन गर्न तयार गरिएको प्रारम्भिक बालविकास कार्यक्रम सञ्चालन नीति २०७५ विहिवार एक कार्यक्रमका सार्वजनिक गरेको हो । नगरपालिकाका मेयर हेमायु हकको अध्यक्षता तथा जिल्ला समन्वय समिति सप्तरीका संयोजक प्रभाकर यादवको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा नीतिलाई विमोचन गरिएको छ ।
नीति विमोचन गर्दै संयोजक यादवले प्रत्येक नागरिकको शिक्षामा सहज पहुँच र गुणस्तरीय एवं समय सापेक्ष शिक्षा प्रदान गर्ने अवसरको सुनिश्चिताका साथै मौलिक हकका रुपमा स्थापित भईसकेको वर्तमान सन्दर्भले माध्यमिक तहसम्मको शिक्षा सञ्चालन एवं व्यवस्थापनको जिम्मा स्थानीय तहलाई दिएकोले प्राथमिकताका साथ नीतिका साथ अघि बढ्नु आफैमा सराहनिय कार्य रहेको बताए । नीति कार्यान्वयनमा जोड दिदै संयोजक यादवले जिल्लाका अन्य स्थानिय तहले समेत नीति बनाएर अघि बढे आवश्यक पनि जिल्लाको शिक्षा क्षेत्रमा नयाँ आयाम थपिने तथा कोही पनि शिक्षाबाट वञ्चित नरहने विश्वास व्यक्त गरे ।
मेयर हकले यस नीतिले गर्भावस्थादेखि ५ वर्षसम्म उमेर समूहका बालबालिकाहरुको सर्वाङ्गिक विकासमा सघाउ पु¥याउनुका साथै संविधान प्रदत्त प्रत्येक बालबालिकालाई बाल अधिकारमा आधारित प्रारम्भिक बालविकास तथा बाल सहभागिताको हक सुनिश्चितता गर्ने बताए । उनले ९२ वटा शैक्षिक संस्था रहेको खडक नगरपालिकामा शिक्षा क्षेत्रलाई थप प्रभावकारी बनाउने उद्देश्यले नीति तयार पारिएकोले तिव्र रुपमा कार्यान्वयनतिर लागेर अघि बढ्ने प्रतिवद्धता जनाए ।
साथै उलने नीति तयार गर्नमा सहयोग गर्ने संस्था सेभ द चिल्ड्रन, सवल नेपाल सप्तरी र प्राविधिक सहयोग गर्ने संस्था सेतो गुरासँ राष्ट्रिय बाल विकास केन्द्रलाई धन्यवाद समेत दिए । कार्यक्रममा सेभ द चिल्ड्रनका देव विलास यादव, जिल्ला समन्वय समितिका सल्लाहकार विनोद यादव लगायत शुभकामना दिए ।
सबल नेपाल सप्तरीका राधेश्याम रामले सञ्चालन गरेको कार्यक्रममा नगरपालिकाका १ देखि ११ वटै वडाका वडाध्यक्ष तथा प्रतिनिधि लगायतको सहभागिता थियो ।