• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

कृषि

सप्तरीमा गहुँ बीऊको हाहाकार, यत्रतत्र कालो बजारी

अनुदानको बीऊ खुलेआम ४ हजारमा बिक्री
सप्तरीमा गहुँ बीऊको हाहाकार, यत्रतत्र कालो बजारी

राजविराज, १ पुस । यतिबेला किसानहरुले गहुँको बीऊ छर्ने बेला हो । खेत जोतेर तयारी अवस्थामा राख्दा पनि विउ नपाएपछि सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वडा नम्वर ६ का कैलु यादव यतिबेला चिन्तित देखिएका छन् । विगत दुई सातादेखि गहुँको विऊका लागि दिनहुँजसो सदरमुकाम राजविराज धाउँदै आएका छन् । तर बीऊ नपाएपछि उनमा निरासा बढ्दै गएको छ ।
‘बीऊ लिन गाउँपालिकाको कृषि विकास शाखा कार्यालय धाउँदा पनि पाईएन’ उनले भने ‘सदरमुकाम धाएर दौडधुप गर्दा पनि हात लागेको छैन ।’ कैलु झैं राजगढ गाउँपालिकाका किसान लालदेव यादव पनि शुक्रवार कृषि ज्ञान केन्द्र राजविराजमा नै भेटिए । ‘खेत तयार गरेर गहुँ छर्नका लगि ठिक्क छ, तर कतै पनि बीऊ नपाएका कारण जोतेको खेत पनि वाँझै रहने पो हो की भन्ने चिन्ता बढेको छ ।’
‘साल्ट ट्रेडिङ्ग लिमिटेड र कृषि ज्ञान केन्द्र धाउँदा धाउँदा हैरानी सिवाय केहि पाईएन’ उनले भने–‘गहुँको विउ अभावका कारण वालि लगाउँन नपाउँदा वालवच्चा कसरी पाल्ने भन्ने चिन्ताले पिरोल्न थालेको छ ।’ वडा अध्यक्षले पाएको पाँच बोरा गहुँको बीऊ समेत वितरण नगरी त्यसै थन्क्याएर राखिएको उनले गुनासो गरे । समस्या लालदेव र कैलुको मात्र होईन, जिल्लाका अधिकांश किसानले यतिबेला गहुँको विऊ अभावका कारण सास्ती झेल्नु परेको छ ।
कृषि ज्ञान केन्द्र सप्तरीका अनुसार समयमा आवश्यकता अनुसारको बीऊको उपलब्ध हुन नसक्दा सप्तरी र सिरहामा गहुँको बीऊ अभाव भएको हो । गत मंसिर ९ गते मात्र गहुँको विऊ खरिदका लागि प्रदेश सरकारले निर्देशन दिएको र वालि लगाउने वेला नजिकिदै गरेको समयमा टेण्डर मार्फत विउ खरिद गर्न नसकिएको ज्ञान केन्द्रका प्रमुख भागिरथ यादवले वताए ।
सरकारको स्वामित्व रहेको संस्था मार्फत नै विउ खरिद गर्नु पर्ने ब्यवस्थाका कारण अन्त्यमा साल्ट ट्रेडिङ्ग कम्पनी लिमिटेडसँग २३० मेट्रिक टन विऊको सम्झौता भएकोमा सम्झौता अनुसार पनि बीऊ नआएपछि किसानलाई पनि दिन नसकिएको उनको भनाई छ । ‘साल्ट ट्रेडिङ्गले १०५ टन मात्र उपलब्ध गरायो’ यादवले भने–‘त्यो पनि सिरहा र सप्तरीका किसानलाई वाँड्नु पर्ने भएकाले सवैतिर बीऊको अभाव छ ।’
कृषि ज्ञान केन्द्र र साल्ट ट्रेडिङ्गले डिलर मार्फत गहुँको बीऊ वितरण गर्दै आएका छन् । ज्ञान केन्द्रले करिव ६० टन तथा साल्ट ट्रेडिङ्गले १०६ दशमलव २४ टन मात्र गहुँको बीऊ सप्तरीमा विक्री वितरण भएको जानकारी दिए । ज्ञान केन्द्रका अनुसार सप्तरीका लागि ७ सय मेट्रिक टन गहुँको विउ आवश्यक छ । अहिले पनि जिल्लामा करिव ५५० टन गहुँको बीऊ अपुग गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
आधिकारीक विक्रेतासँग नै अभाव भएपछि वजारमा तेब्वर मुल्यसम्म हाल्दा पनि किसानले सहज ढङ्गवाट गहुँको विऊ पाएका छैनन् । साल्ट ट्रडिङ्गले २ हजार ६२० रुपैयाँ प्रतिवोरा (४० केजी) र कृषि ज्ञानकेन्द्रले ४० प्रतिशत अनुदानमा १ हजार ५७२ रुपैयाँ प्रतिबोरा (४० केजी) बेच्ने गरेको गहुँको बीऊ खुल्ला बजारमा ४ हजार रुपैयाँ बोरा विक्री भईरहेको किसानहरुको गुनासो छ ।
जिल्ला आपुर्ति समितिका संयोजक तथा सप्तरीका सिडिओ सुरेन्द्र पौडेलले गहुँको बीऊ सहज वितरण तथा कालोवजारी नियन्त्रणका लागि स्थानीय तहहरुलाई पत्राचार गरिसकिएको भन्दै आवश्यक्ता परे सुरक्षाको प्रवन्ध समेत मिलाईने बताए । गहुँ बीऊ कालोवजारी सुरु भएको गुनासो आएपछि सदरमुकाममा समेत अनुगमन तिव्र बनाईएको उनको भनाई छ । अनुदाको गहुँको विउ भारततर्फ समेत निकासी हुन थालेपछि पछिल्लो समय सुरक्षाकर्मी परिचालन गरी करिव ४० क्विन्टल बीऊ नियन्त्रणमा लिई जिल्ला भन्सार कार्यालय वेल्हीमा बुझाईएको उनले जानकारी दिए ।