राजविराज, मंसिर २५ गते । ब्याडमिन्डन खेलाडीको प्रतिस्पर्धात्मक क्षमता बढाउन अभिप्रेरित गर्ने उद्देश्यका सप्तरीको सुरुङ्गा नगरपालिका–१ शिशुवारीमा दुई दिने नगर स्तरीय ब्याडमिन्टन प्रतियोगिता आयोजना गरिएको छ ।
नगरपालिका अन्तर्गत २९ समूहका ५८ जना खेलाडी सहभागी सो प्रतियोगितामा शशीकुमार चौधरी, सन्तोषकुमार बुढाथोकी प्रथम, रामपुकार चौधरी, सन्तोष चौधरी द्वितिय, र दिपेन्द्रकुमार चौधरी, सुरेन्द्रकुमार चौधरी तृतिय स्थान हासिल गरेका छन् । नगरप्रमुख मुक्तिनाथ चौधरीले अध्यक्षता गर्दै प्रथम, द्वितिय र तृतियलाई क्रमशः रु.१२ हजार, रु. आठ हजार र पाँच÷पाँच हजार नगद, शिल्ड, ट्रफी, र प्रमाणपत्र प्रदान गरे ।
प्रदेश २ सभा सदस्य गोविन्द न्यौपानेद्वारा आइतबार उद्घाटन गरिएको उक्त प्रतियोगिताको समापन समारोहमा सुरुङ्गा नगरपालिका प्रमुख प्रशासकीय अधिकृत राजकुमार दास, जनता मावि शिशुवारी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अश्विनीकुमार कार्की, सामाजिक विकास समिति संयोजक एवं वडा नम्वर ४ अध्यक्ष दिपेन्द्रप्रसाद चौधरी, नगर शिक्षा अधिकृत हिरालाल राना, नायब सुब्बा टेकबहादुर खडका लगायतले नगरमा ब्याडमिन्टन खेललाई लोप हुन नदिन यस्ता प्रतियोगिता आयोजनालाई निरन्तरता दिनुपर्ने आवश्यकता औंल्याए ।