राजविराज, २५ कात्तिक । स्वतन्त्र मधेश गठबन्धनका सप्तरी संयोजक सुरेन्द्र शर्मा भनिने ‘सुरेन्द्र मधेशी’ बुधबार अदालतको आदेशमा धरौटी तिरेर रिहा भएका छन् ।
सप्तरी जिल्ला अदालतका न्यायाधीश चन्द्रकिशोर यादवको एकल ईजलाशले दिएको आदेशानुसार उनी ११ हजार रुपैयाँ धरौटी बुझाएर रिहा भएका हुन् । राजविराज नगरपालिका वडा नम्वर–७ खरसाल टोल स्थित आफ्नै निवासबाट गत कार्तिक २३ गते अपरान्ह जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेका थिए ।
यसैबिच सोही दिन राजविराज–६ स्थित खरसालमा बनाईएको गठबन्धनका केन्द्रीय संयोजक राउतको मूर्ती लग्ने क्रममा प्रहरीले रुपनी गाउँपालिका वडा नम्वर–३ हर्दियाका भानु भनिने शर्मालाई समेत पक्राउ गरेर लगेका थिए । उनी समेत जिल्ला प्रशासन कार्यालयबाट बुधबारै रिहा भएका छन् ।
सुरेन्द्र मधेशी रिहा भएको खुशीयालीमा गठबन्धनका कार्यकर्ताहरुले स्वागत सहित नाराबाजी गर्दै राजविराज परिक्रमा गराएका थिए ।