राजविराज, ५ मंसिर । प्रदेश २ का भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले मैथिली भाषाको संरक्षण एवम् सम्मानजनक स्थान सुनिश्चित गर्न प्रदेश सरकार प्रतिवद्ध रहेको बताएका छन् ।
मैथिली साहित्य परिषद् राजविराजले मैथिली भाषाका महाकवि विद्यापतिको स्मृतिमा बुधवार आयोजना गरेको सभालाई सम्वोधन गर्दै उनले यस्तो प्रतिवद्धता व्यक्त गरेका हुन् । देशमै नेपालीपछि सर्वाधिक बोलिने मैथिली भाषाको आफ्नै प्राचीन इतिहास रहे पनि विगतमा विभेद हुँदैआएकोले यसको अपेक्षाकृत विकास हुन नसकेको बताउँदै प्रमुख अतिथि साहले भने ‘मैथिली भाषाको संरक्षण एवम् सम्मानजनक स्थान सुनिश्चित गर्न प्रदेश सरकार प्रतिवद्ध छ, प्रदेश सरकारले भाषा, साहित्य एवम् कला संस्कृतिको संरक्षण एवम् प्रवद्र्धनकालागि बोर्ड गठन गर्ने तयारी गरिरहेको छ ।’
मैथिली लगायतका मातृभाषामा पठन–पाठन कार्यलाई प्रदेश सरकारले प्राथमिकताका साथ अगाडि बढाउने उनले बताए । प्रदेश मन्त्री साहले प्रदेशको नामांकरण र भाषाको विषयमा बृहत अध्ययन एवम् जनभावना बुझ्नकालागि समितिले काम अगाडि बढाएको चर्चा गर्दै प्रतिवेदनको आधारमा आफुहरु अगाडि बढ्ने समेत बताए ।
कार्यक्रमका विशिष्ठ अतिथि पूर्व सांसद रन्जु कुमारी झाले मैथिली भाषा र मिथिलाको आफ्नै पहिचान रहेको यो पहिचानलाई कायम राख्नुपर्नेमा जोड दिईन् । संघीयतामा मातृभाषाहरुले समुचित स्थान पाउनुपर्ने आवश्यकता औंल्याउँदै उनले मैथिलीभाषी एकतावद्ध भएर अगाडि बढनुपर्ने बताईन् ।
महेन्द्र विन्देश्वरी बहुमुखि क्याम्पस राजविराजका पूर्व क्याम्पस प्रमुख प्राध्यापक अमरकान्त झाले मल्लकालिन समयमा समेत कामकाजी भाषाको रुपमा रहेको मैथिलीमाथि दमन भईरहेकोले मैथिलीभाषीहरु सचेत हुनुपर्नेमा जोड दिए । मैथिली साहित्य परिषद्का पूर्व अध्यक्ष समेत रहेका उनले पहिचानवादी शक्तिहरुले मैथिली भाषाको सम्मानजनक स्थान सुनिश्चितताका लागि आवाज उठाउनुपर्ने आवश्यकता औंल्याए । मैथिल महासंघका अध्यक्ष विष्णु कुमार मण्डलले मधेश केन्द्रित दलहरुद्वारा नै मैथिलीमाथि उपेक्षा भईरहेको भन्दै यसलाई गम्भीरतापूर्वक लिनुपर्नेमा जोड दिए ।
परिषद्का अध्यक्ष अशोक कुमार झाको अध्यक्षतामा आयोजित कार्यक्रममा पूर्व सांसद शिवचन्द्र मिश्र, परिषद्का पूर्व अध्यक्ष विवेकानन्द मिश्र, पूर्व प्राचार्य नथुनी दास, मैथिल महिला परिषद्की संस्थापक अध्यक्ष मीना ठाकुर, गायिका कञ्चन झा, सुषमा झा, परिषद्का वरिष्ठ सदस्य अजय कुमार झा लगायतले महाकवि विद्यापतिको योगदानबारे चर्चा गरे । सोही अवसरमा अवसरमा मैथिली भाषा, साहित्यको संरक्षणमा योगदान पुर्याउने प्राध्यापक उमाकान्त झा, प्राध्यापक भोला झा, पूर्व प्राचार्य नथुनी दास र संगीतकार शैलेन्द्र विश्वकर्मालाई शिवदत्त मिश्र स्मृति पुरस्कारद्वारा सम्मानित गरिएको छ ।
यसैगरी, गायक कैलाश झा र गायिका अन्जु यादवलाई विजयन्द्र विनोद कला पुरस्कारबाट सम्मान गरिएको परिषद्का सचिव श्यामसुन्दर यादवले जानकारी दिएका छन् । उनका अनुसार मैथिली भाषाको संरक्षण एवम् उन्नयनमा योगदान पुर्याए वापत राजविराज नगरपालिका र चित्रगुप्त सेवा समितिलाई सम्मान गरिएको छ । यसैगरी मैथिली साहित्य परिषद्को स्थापना एवम् मैथिली भाषा साहित्यको संरक्षणमा योगदान पुर्याएको भन्दै संस्थापक सचिव सुरेन्द्रप्रसाद देवलाई मरणोपरान्त सम्मान गरिएको छ ।
विद्यापति स्मृति पर्व समारोहको अघिल्लो दिन आयोजित मैथिली अनुवाद प्रतियोगितामा विजेता घोषित भएका छात्रछात्राहरुलाई समेत पुरस्कार प्रदान गरिएको छ । सभामा स्वागत मन्तव्य उपाध्यक्ष सतिश कुमार दत्त तथा सञ्चालन सह–सचिव रामअधिन साहले गरे ।
यस अघि परिषद्द्वारा नै पब्लिक विन्देश्वरी माध्यमिक विद्यालयबाट निकालिएको झाँकी राजविराजको विभिन्न भाग परिक्रमा गरेको थियो । मिथिलाको कला संस्कृति झल्कने भेषभुषासहितको झाँकी मैथिली भवनमा पुगेर सभामा परिणत भएको थियो । झाँकीमा शिब ईन्टरनेशनल बोर्डिङ्ग स्कूलका छात्रछात्राहरुले सहभागीता जनाएका थिए केशो अनिरुद्धवत्ती माध्यमिक विद्यालय सहितका विद्यार्थीहरुको सहभागिता रहेको थियो ।


राष्ट्रिय
राजविराजमा मनाईयो विद्यापति स्मृति पर्व समारोह
मैथिली भाषाको सम्मानजनक स्थान सुनिश्चितता गर्न प्रतिवद्ध छौः मन्त्री साह