Top_Header_Right_Add

शौचालय, सफाइ र आलस्य

शौचालय, सफाइ र आलस्य

-अजय कुमार झा

शौचालय एक यस्तो सुविधा हो, जसलाई मानिसले मल एवं मूत्रको समुचित व्यवस्थापनको लागि प्रयोग गर्दछ । शौचालय शब्दको प्रयोग त्यस्तो कक्षको लागि गर्न सकिन्छ, जसमा मल–मूत्र विसर्जन गर्ने तकनिकी वा विधि प्रयुक्त गरिएको होस् ।

         अजय कुमार झा

सरसफाइ मानिस स्वस्थ रहनका लागि व्यक्तिगत तथा वातवरणीय स्वच्छता कायम गर्ने कार्य हो । मानिसले सरसफाइमा ध्यान दिने हो भने ३० देखि ६० प्रतिशतसम्म रोग लाग्नबाट बच्न सकिन्छ । सरसफाइको परिभाषा मान्छेपिच्छे फरक–फरक हुन्छ । एक जनाले आफ्नो हात पानीमा भिजाएर ओठ चुठेपछि हातमुख सफा भयो भन्ठान्छ । तर एक जना धारामा गएर साबुन पानीले राम्ररी हातमुख धोएपछि मात्र सन्तुष्ट हुन्छ ।
सरसफाइको अर्थ एउटा यस्तो पनि छ । बुटवलस्थित देवदह मेडिकल कलेजबाट निस्कने फोहरमैलाको उचित व्यवस्थापन गर्न स्थानीयले माग गरेका छन् । कलेजबाट उत्पादन हुने फोहर पानी व्यवस्थापन नगर्दा वस्ती नै दुर्गन्धित भएको र प्रदुषण फैलिएपछि स्थानीयले माग गरेका हुन् । फोहोरका कारण हुने रोगबाट उपचार गर्ने र फोहोरको सफाइका लागि प्रेरणा दिने संस्थाले नै समुदायमा फोहोरमैलाको डुंगुर बनाउँछ । यो बुटबल मात्र होइन, अपवाद बाहेक नेपालको निजी वा सरकारी सबै अस्पतालको अवस्था हो । साथै अस्पतालमात्रले होइन, उद्योग, यातायात, शिक्षण संस्थानहरूले पनि आफूभित्रको फोहोरको व्यवस्थापन नगरी बाहिर बस्तीतर्फ हुत्याई दिन्छ ।
शौचालय र सरसफाइबीच नजिकको सम्बन्ध छ । शौचालयको सरसफाइले संसारमै एउटा ठूलो मुद्दाको रूप लिएको छ । शौचालय सरसफाइको प्रवृत्ति र आचरणमा सुधार ल्याउन ठूलो प्रयास र लगानी भइरहेको छ । संयुक्त राष्ट्रको घोषणा अनुरूप सहश्राब्दि लक्ष्य अन्तर्गत अन्तर्राष्ट्रिय, क्षेत्रीय, राष्ट्रिय तथा स्थानीय स्तरमा निकै जिम्मेवारी तथा उत्तरदायित्व निर्धारण गरिएको छ । नोवेम्बर १९ लाई विश्व सरसफाइ दिवसको रूपमा मनाएर प्रत्येक वर्ष एउटा ठूलो समूह शौचालय सरसफाइसँग आफूलाई जोड्न सकेका छन् ।
घर र वरपरको सरसफाइको महत्व दर्शाउँदै घर आउने पाहुनालाई शौचालय देखाऊ भन्ने अर्ती छ । यो भनाइको तात्पर्य यो हो कि जुन घरमा शौचालय सफासुग्घर छ, त्यो घर स्वतः सफा हुन्छ । तर यो अर्तीलाई मानिसले व्यवहारमा ल्याउन अझ गर्नुपर्ने धेरै बाँकी छ । नेपाली समाज खुला शौचालयबाट बन्द शौचालयमा परिवर्तनशील छ ।
खुला शौचालय प्रणाली सामूहिक शौचालय प्रणाली थियो । पोखरी, नदी वा जलाशयको डिल र किनार, बस्तीभित्रका वा चौरीका बाँसघारी आदि शौच क्षेत्र हुन्थ्यो । । पानी लिएर शौच गर्नुपर्ने, चिम्टी माटोले हात र पानी बोक्ने भाँडो माज्नुपर्ने, हात–खुट्टा धुनुपर्ने हुन्छ । खुला शौचको सफाइ जनावर विशेषले आहारको रूपमा प्रयोग गरेर गथ्र्यो । मलको केही अंश माटोमा कम्पोष्ट भएर मिल्थ्यो ।
समय बदलिएको छ । खुला शौचालय प्रणाली लोप हुँदै गएको सफाइ र सभ्यताको विकास हुँदै गएको छ । खुला शौचालय बन्द शौचालयको रूपमा र सामूहिक शौचालय निजी शौचालय तथा सार्वजनिकको रूपमा परिवर्तित भएका छन् । सार्वजनिक शौचालयहरू व्यावसायिक तर अधिकांश अव्यवस्थित अवस्थामा छन् । सरकारी शौचालयहरू कि अमानतमा कि ठेक्कामा सञ्चालन गरिन्छन् । सार्वजनिक शौचालय व्यवसायमा निजी क्षेत्रको भूमिका अत्यन्तै थोरै छ । यसलाई सामाजिक प्रतिष्ठामा कमी आउने किसिमको व्यवसाय मानिन्छ । कुनै जाति विशेषलाई शौचालय सफाइकर्मी जातिको दायरा तोकी छूवाछूत भेद अपनाउने अवस्था अब रहेन । शौचालयको हौद (ट्यांक) बाट मल झिकेर बाहिर लैजाने काममा ढुवानी साधनको चलन उत्साहवद्र्धक छ ।
बन्द शौचालयहरूमा निजी, सार्वजनिक र व्यावसायिक गरी तीन किसिमले बाँड्न सकिन्छ । सरसफाइको दृष्टिकोणले यी सबै किसिमका शौचालयहरूको अध्ययन आवश्यक छ । निजी शौचालयको सरसफाइ थप गर्नुपर्ने कुराहरू धेरै छन् । तर अभियानअन्तर्गत बनाइएका शौचालयहरूको दिगो सरसफाइका लाथि थप चेतनामूलक काम आवश्यक छ ।
नेपालमा सरकारले सरसफाइको सचेतना शीर्षकमा बजेटको व्यवस्था बर्सेनि गर्दछ । १५ जेठमा संसदमा पेश भएको बेजटमा ‘आर्थिक वर्ष २०७५/०७६ लाई राष्ट्रिय सरसफाइ वर्षका रुपमा मनाउने उल्लेख छ । आर्थिक वर्ष २०७५/०७६ का लागि खानेपानी मन्त्रालयलाई २४ अर्ब ५ करोड ७५ लाख बिनियोजन गरिएको छ, जुन कुल बजेटको १.८२ प्रतिशत हो । तर त्यो बजेटको क्रियान्वयनले अपेक्षित परिणाम दिन सकेको छैन । न्यून सरसफाइका कारण देशले वार्षिक १० अर्ब रुपैयाँ क्षति व्यहोरिरहेको छ, त्यो छुट्टै हो ।
नेपालमा खुला दिसामुक्त घोषणा अभियान २०६८ देखि सुरु भयो र २०७५ मा आउँदा देशको प्रत्येक भूभाग र प्रत्येक ईञ्च खुला दिसामुक्त छ । तर गाउँ होस् बजार इलाका हरेक बाटो गल्लीमा खुला दिसाले मानिसलाई गिज्याई रहेको हुन्छ ।
सार्वजनिक शौचालयको सफाइमा सरकार आफै वास्ता नगरेको अवस्थामा देखा परेको छ । यस तथ्यको चौतर्फी चासो राजधानी काठमाडौंको गौशालास्थित सार्वजनिक शौचालयको दुरवस्था समाचारमा आएपछि बढेको छ । सरकार भनेको प्रधानमन्त्री र मन्त्रीहरू मात्र होइनन् । सरकार भनेको प्रणालीगत संरचना हो । जहाँ प्रत्येक विषय, क्षेत्र र तहमा जिम्मेवारी र जबाफदेही तोकिएको हुन्छ । शौचालय र सरसफाइको कुरा निहायत वडा कार्यालयले व्यवस्थापन गर्ने विषय हो । शौचालयको रेखदेख समस्या काठमाडौंमा मात्र छ भन्ने होइन, हिमाल, पहाड, मधेश सर्वत्रको समस्या हो । तर काठमाडौंको प्रदर्शनले देशैलाई छोप्छ ।
घर–घरमा शौचालय निर्माणको नाराले धेरैको घरमा शौचालयको अभाव हटाएको छ । घर आँगनमै शौचालय बनाउन दिक्क मानिरहेका मानिसहरू येनकेन शौचालय बनाई सकेपछि त्यसै शौचालयप्रति गर्व गर्न थाले । घर आँगन आउने आफन्त र अतिथिलाई शौचालयको दर्शन गराउन थालेका थिए । तर तिनै मानिस अचेल शौचालयको चर्चा गर्न हिच्किचाउँछन् । किनभने शौचालय अब पुरानो भएको छ भन्दा पनि फोहोर रहन थालेको छ । शौचालय जाने मानिसहरूले शौचालयको सफाइ पनि उत्तिकै आवश्यक छ भन्ने व्यवहार आलस्य मान्दछन् । सफाइप्रतिको उत्प्रेरणाको कमी छ ।
नेपालीहरूलाई लाग्ने ८० प्रतिशतभन्दा बढी सरुवा रोग स्वच्छ खानेपानीको अभाव र सरसफाइको कमीले लाग्ने गर्छ भन्ने प्रतिवेदनहरूको भनाइ छ । तर पनि शौचालयले परिवारजनलाई रोगजन्य आक्रमणबाट कसरी बचाउँछ भन्ने तथ्यप्रति जागरुकता आउन सकेको छैन । शौचालयलाई किन र कसरी सफा राख्ने भन्ने चेतनाको प्रसार हुन नसक्दा; शौचालय नहुँदाको अवस्थाभन्दा शौचालय हुँदाको अवस्थामा जोखिम बढेको छ । आम मानिस त्यस्तो जोखिमप्रति सजग हुन नसक्नु अस्वाभाविक छैन । तर शौचालय अभियानका अगुवाहरूको नवअवतार नहुनु भने स्वाभाविक हुन सक्दैन । अब, शौचालय सफा राखौं भन्ने नारा लगाउने बेला आएको छ ।
कुनै पनि समुदायका घरपरिवारमा प्रायः समान किसिमको संरचना बनाइएको हुन्छ । जस्तै देउताको, भान्साको, खाने, सुत्ने, बस्नेको, त्यस्तै शौचालयको । घरको सफाइ परिवारको लागि नियमित कार्यहरूमा पर्दछ । प्रत्येक दिन बिहान र बेलुका घरको सरसफाइ गरिन्छ । बेलुका धूप आरती देखाउने चलन पनि छ । घरको सरसफाइमा शौचालयले नियमितता स्थान पाएको हुँदैन ।
शौचालयको सफाइ अरु स्थानको भन्दा बढी मिहिनेती हुन्छ । शौचालयको सफाइमा केही विशेष साधन (ब्रस, हर्पिक, फिनायल आदि) आवश्यक पर्छ । प्रायः जसो घरमा ती सामग्रीको अभाव रहेको देखिन्छ । घरको सरसामान खरिदमा शौचालय सफाइ सामग्री उपेक्षाको शिकार भइरहेको हुन्छ । सफाइ सामग्रीले शौचालय सफाइतर्फ आकर्षित गर्दछ ।
शौचलय अभियानअन्तर्गत जुन घरमा चर्पी छैन, त्यो घरमा छोरी नदिने नारा चल्यो । तर छोरीलाई घर पठाउँदा शौचालय सफाइको पाठ पढाएर पठाइएन । प्रतिफल छोरीको घर जाँदा बाबुलाई शौचालयतर्फ हैन, लोटा दिएर चौरतिर पठाइन्छ । तर बाबु यति हुँदा पनि शौचालय सरसफाइ शिक्षाको दरकार बुझ्न सकेको छैन । सबैको हाल उस्तै छ ।
परम्परागत समाजले घरेलु कार्यको अभिभारा आइमाईलाई बोकाएको छ । लोग्ने मान्छेले बाहिरी जिम्मेबारी हेरोस् भन्ने ठानिन्छ । घरेलु काम हेर्ने मानिसको उपहास गरिन्छ । बरु लोग्नेले नुहाउने पानी स्वास्नीले खिची दिनुपर्छ । पुरुष आफ्नो घरमा पाहुना झैं हुन्छन् । त्यसमा पनि शौचालय सफा गर्ने कुरा त निकृष्ट र अपवित्र काम मानिन्छ । भगवानले वराह अवतार लिएको रहस्य सुनाउँछन् तर त्यसबाट प्रेरणा लिने काम गर्दैनन् । ठूलो परिवार र संयुक्त परिवारहरूमा शौचालय सफाइको कुरा त झन बढी जटिल हुन्छ । परिवारभित्रका कतिपय असहमतिहरूको मार शौचालय सफाइमाथि नै पर्दछ ।
शौचालयको सफाइप्रति घरको मुख्य व्यवस्थापकको चासो हुनुपर्दछ । चासो मात्र होइन, आचरण पनि देखिनुपर्छ । एक त शौचालय, त्यसमा पनि गनाउने भनेपछि अरु पनि दूर दूर नै रहने कोसिस हुन्छ । घरको व्यवस्थापकले अरूलाई सुझाउने वा अह्राउने गरेर मात्र हुँदैन परे आफैंले पनि गरेर देखाई दिनु पर्दछ । महात्मा गान्धीले एक पटक एक बालकलाई धेरै गुलियो न खाऊ भनी सम्झाउनुपर्ने परिस्थिति पैदा भयो । उनले त्यसका लागि सात दिनको समय लिए, पहिले आफूले त्यो बानी छोडे अनि मात्र सम्झाउने कार्य गरे ।
शौचालयको उचित व्यवस्थापनका केही प्रमुख नियम हुन सक्छन् । शौचालय सफाइ पारिवारिक छलफलको विषय बन्नु भाग्यमानी कुरा हो । ती नियमको पालना गर्नका लागि सबैलाई सिकाउनु आवश्यक हुन्छ । शौचालयमा पानीको प्रयोग पनि एक महत्वपूर्ण विषय हो । शौचालय र पानीको स्रोतबीचको दूरी पनि अर्को महत्वपूर्ण पक्ष हो । शौचालयभित्र वा बाहिर हात धुने स्थानमा साबुन, तौलिया, कवर बिन आदि वस्तुको व्यवस्था जरुरी छ ।
जुठो र बचेको खानाको उचित व्यवस्थापन नगरी कतिपयले ट्वाइलेटको प्यानभित्र हालेर खानालाई फ्लश गर्ने गरेको प्रयास उचित होइन । यसो गर्दा पानीको दुरुपयोग बढी हुन्छ र खानाको कण र तेलले प्यानको सफाइलाई खर्चिलो बनाउँछ । जुठो र बचेको खानाको सबैभन्दा सजिलो उपाय त्यसलाई कम्पोस्ट बनाउनु हो ।
घरमा साना साना नानी छन् भने प्यानमाथि ढक्कन राख्न उचित हुन्छ । यसो गरेर तपाइँ आफ्नो प्यारो बच्चा र ससाना महत्वपूर्ण तथा बहुमूल्य सामग्रीलाई समेत सुरक्षित तुल्याउनु हुनेछ । अब बालमैत्री शौचालयको समय आएको छ । केटाकेटीको स्वभाव र बानी बुझेर उनीहरूलाई कठिनाइ नहुने किसिमको शौचालय संरचना बनाउनु नै मालमैत्री शौचालय हो । हुनत शौचालय वृद्धमैत्री पनि बनाउनुपर्छ । शौचालय पानी जम्ने अवस्थामा राख्नु हुँदैन । काई लागेर चिप्लिने हुन सक्छ ।
शौचालयको सफाइ कति मात्रामा गर्ने ? प्यानमा एक दुई बाल्टीन पानी हालेर पुग्यो कि ? यताउति दुई चार पटक ब्रस चलाएर भयो कि ? अथवा वास्तवमा सफा सुग्घर चिटिक्क पार्ने हो ? शौचालयलाई सिंगार्न सकिन्छ । स्नानागार र शौचालय सँगै छ भने सिंगार्ने उपाय धेरै हुन्छ । ओडोनिल जस्तो सुगन्धित टिकिया राख्न सकिन्छ । यसो गरियो भने निश्चय पनि स्वस्थ्य जीवनको समर्थक मानिन्छ ।
शौचालयलाई ब्रश र लिक्युडले सफा गर्नुपर्छ । खर्चिलो ठान्नु हुन्न । स्वास्थ्यको रक्षाका लागि खानपान र रहनसहनमा खर्च गरे जस्तै शौचालय सफाइको खर्च पनि स्वस्थ्ताकै निरन्तरताका लागि हो ।
मानिससँग केही आलस्य पनि हुन्छ भने केही समयको अभाव पनि हुन्छ शौचालयको सफाइका लागि । त्यसैले कतिपयले दैनिक शौचालय सफाइका लागि मानिस पनि नियुक्त गरेका हुन्छन् । मानिस राख्नु गलत होइन । तर आफैंले गर्दा पैसाको वचत हुने भन्दा पनि शारीरिक अभ्यासमा योगदान गर्नु ठूलो कुरा हुन सक्छ ।
मल भोजनको अपचित भाग हो, जसमा पानी, ग्यास र ठोस तीनवटै अंश हुन्छन् । एक स्वस्थ्य व्यक्तिले प्रतिदिन औसत ३०० ग्राम मल त्याग गर्दछ । एक स्वस्थ व्यक्तिको मलमा ६० ग्राम ठोस भाग रहन्छ । अथार्त एक वर्षमा एक व्यक्तिद्वारा लगभग १८ किलो ठोस मलको त्याग गरिन्छ । भोजन गर्नका लागि एउटा व्यक्तिले कति मेहनत र प्रयास गर्दछ । तर भोजनको अवशेषको व्यवस्थापनका लागि के गर्दछ भन्ने सबाल एक एक व्यक्तिका लागि महत्वपूर्ण बन्नु आवश्यक छ । जसरी मलको हिस्सा पेटमा अडाएर राख्न सकिदैन त्यसरी नै मललाई बाहिर सडाएर राख्न सकिदैन । शौचालय सफाइ स्वास्थ्य र जीवन स्तर राम्रो बनाउनको लागि हो ।
दीगो विकासको मुख्य आधकार नै स्वच्छ खानेपानी र सरसफाइयुक्त व्यवहार हो । व्यक्तिले घरभित्रको सरसफाइको महत्व नबुझेसम्म घर बाहिर फोहोर गर्ने कार्यबाट निजात पाउन सक्दैन । एक सुदृढ़ एवं प्रभावकारी शिक्षा, सूचना एवं संप्रेषण प्रणालीको माध्यमले स्वच्छताप्रति प्रेरणा उत्पन्न गरेर स्वच्छता एवं स्वास्थ्य शिक्षाको प्रसार गर्नु आवश्यक छ । सरसफाइसम्बन्धी प्रविधिको अध्ययन, विकास, अनुसन्धान तथा सूचना व्यवस्थापन, दीघर्कालीन गुरुयोजनाको मूल्यांकन तथा परिमार्जन गर्ने, नीति, कार्यक्रम र कार्यनीति बनाउने, शैक्षिक सामग्रीको विकास, उत्पादन र वितरण गर्ने, वार्षिक कार्यक्रम तथा बजेट बनाउने कार्यमा आवश्यक गम्भीरता अपनाउनु आवश्यक छ ।
-लेखक निजामती कर्मचारीहरूको आधिकारिक ट्रड यूनियन सप्तरीका अध्यक्ष हुनुहुन्छ ।

Classified Saptari Buy and Sell in Saptari

About The Author

लेखक यादव पत्रकारिताका साथै भाषा, साहित्य, कला, संस्कृति, पर्यटन, ऐतिहासिक एवम् पुरातात्विक क्षेत्रमा कलम चलाउँछन् (सं) ।

News Portal Web design in Saptari Offer