Top_Header_Right_Add

सरसफाइ र स्वच्छताः बदलिँदो युगलाई स्वागत

सरसफाइ र स्वच्छताः बदलिँदो युगलाई स्वागत

अजय कुमार झा

अक्टुबर २, अर्थात् भारत का राष्ट्रपिता महात्मा गान्धीको जन्म जयन्ती । अर्थात् अन्तर्राष्ट्रिय अहिंसा दिवस । व्यक्ति, घर र सार्वजनिक स्थल सरसफाइप्रति संकल्पचित्त हुने दिन । यद्यपि विश्व सरसफाइ दिवस यसको १५ दिन अघि अर्थात् सेप्टेम्बर १५ का दिन आयोजना गरिन्छ । तर सरसफाइ दिवस र गान्धी जयन्तीको विशेष सम्बन्ध छ ।

     अजय कुमार झा

भारतले सेप्टेम्बर १५ देखि अक्टुबर २ सम्म सरसफाइ विशेष कार्यक्रम आयोजना गर्यो । हामी कहाँ नेपालमा सेप्टेम्बर १५ लाई पहुँच बिन्दु कायम गरी देशभर सरसफाइ विशेष कार्यक्रम चलाइयो । जसमा व्यक्तिको घर परिवारदेखि लिएर सार्वजनिक स्थलसम्मको सरसफाइ कार्यक्रम समावेश गरेको पाइयो । संघीय वन तथा वातावरण मन्त्रालय मातहतको वन अनुसन्धान तथा प्रशिक्षण केन्द्रको आह्वानमा आयोजना गरिएको साप्ताहिक कार्यक्रममा पहिलो दिन घर–परिवार र दोस्रो दिनदेखि छैठौं दिनसम्म सार्वजनिक स्थलहरू क्रमशः विद्यालय, पार्क, मंदिर, जलाशय र सडकको सरसफाइ कार्यक्रम समावेश गरेको पाइयो ।
सरसफाइ सचेतनामूलक कार्यक्रमलाई साङ्गोपाङ्ग रूपमा मनाउने क्रियाकलाप त हामी कहाँ निकै पहिलेदेखि आयोजना गर्ने गरिएको छ । खानेपानी तथा सरसफाइ कार्यालयले यस क्रियाकलापलाई अगुवाई गर्दै आएको थियो । तर सार्वजनिक स्थलहरूको सरसफाइलाई लक्ष्य गरी साप्ताहिक कार्यक्रमको आयोजना शायद पहिलो पटक आयोजना गरिएको थियो । सार्वजनिक स्थलको सरसफाइ दायित्वसँग जनसमुदायलाई जोड्ने गरी सचेतनामूलक कार्यक्रमको सञ्चालन निश्चय नै महत्वपूर्ण छ । सरसफाइको अवधारणा व्यक्तिको व्यक्तित्वबाट सुरु भएर घर–परिवार हुँदै सार्वजनिक स्थलसम्म पुगेर समुदायमा व्याप्त हुन्छ । सरसफाइ सचेतना मानव जीवनको अत्यन्तै संवेदनशील विषय हो र सरसफाइ सचेतनाको उठान गर्नुभएकोमा महात्मा गान्धीप्रति यो संसार नतमस्तक छ ।
गान्धीले स्वच्छतालाई सर्वोपरि मान्नुहुन्थ्यो । गान्धीको अभिव्यक्तिमा सरसफाइको ठाउँमा स्वच्छताको प्रयोग देखिन्छ । सरसफाइ क्रिया हो भने स्वच्छता त्यस क्रियाको प्रतिफल हो । गान्धीले र हामीले प्रयोग गरेको शब्दमा विवाद गरिरहनुपर्ने कुनै कारण छैन । नाकलाई सिधा छुने कि घुमाएर छुने सम्मको कुरो हो । सरसफाइ वा स्वच्छताको सन्दर्भमा गान्धीले पहिलो अभिव्यक्ति १४ फरवरी १९१६ को मिशनरी सम्मेलनमा दिनुभएको थियो । उहाँले भन्नुभयो, “आंतरिक स्वच्छता पहली वस्तु है, जिसे पढ़ाया जाना चाहिए । बांकी बातें इसे पढ़ाने के बाद ही लागू की जानी चाहिए ।” सय वर्षअघि गान्धीले व्यक्त गर्नुभएको विचार आज हामी मात्र होइन, स्वयं भारत र संसारका बहुसंख्यक मुलुककै लागि प्रस्थान बिन्दु बनेको छ । हामीले स्वच्छता अभियानको सफलता सुनिश्चित गर्नु छ भने गान्धीको विचारलाई गम्भीरतापूर्वक लिइनुपर्छ । .
अक्टुबर २ को सन्दर्भमा महात्मा गान्धीप्रति संसारभर श्रद्धाञ्जलि अर्पित गरिएको छ । नेपालमा पनि प्रधानमन्त्री केपी शर्मा ओलीसहित विशिष्ट व्यक्तित्वहरूबाट श्रद्धाञ्जलि अर्पण गरिएको छ । तर प्रदेश नं २ को राजधानी जनकपुरधाममा महात्मा गान्धी स्मृति प्रतिष्ठानद्वारा आयोजित ‘गान्धीको स्वच्छता र राजनीतिक स्वतन्त्रता’ विषयक संगोष्ठीमा मुख्यमन्त्री लालबाबु राउतले व्यक्त गर्नुभएको विचार अत्यन्त सान्दर्भिक छ । मुख्यमन्त्रीले प्रदेशलाई हरित र स्वच्छ बनाउन प्रदेश सरकार अग्रसर भएको बताउनुभएको छ । स्वच्छता गैरसरकारी संस्थाको कागजमा मात्र नभई व्यवहारमै आवश्यक भएको बताउँदै उहाँले स्वच्छता अभियानप्रति इमान्दार बन्नुपर्ने पनि बताउनुयो ।
मुख्यमन्त्री राउतको उपरोक्त कथनले के दर्शाउँछ भने स्वच्छता अभियान अहिलेसम्म गैरसरकारी संस्थाको कागजपत्रमै सीमित रही आएको छ । अर्थात् सरकारी अभियान र क्रियाकलापको हिस्सा बन्न सकेको छैन । प्रदेश सरकार प्रदेशलाई हरित र स्वच्छ बनाउन अग्रसर भएको र सरकार आफ्नो अभियानप्रति इमानदार रहनेछ । मुख्यमन्त्रीले प्रदेश सरकारले विश्व धरोहरको रूपमा रहेको जानकी मन्दिरलाई स्वच्छ राख्न गुरूयोजना तयार गरिसकेको जानकारी पनि उक्त अवसरमा दिनुभयो । यस घटनाले यो प्रदेशमा ठूलै परिवर्तनको सम्भावना उत्पन्न गरेको छ । खासगरी जानकी मन्दिर जस्तो विशिष्ट सार्वजनिक स्थललाई स्वच्छताको केन्द्रमा ल्याउनु दूरगामी तथासर्वव्यापी विषय भएको छ । सार्वजनिक स्थलहरूलाई सरसफाइको अभियान लक्ष्य बनाइए यसले निजी स्थलहरूको सरसफाइमा स्वतः प्रभाव पार्नेछ ।
सरसफाइप्रतिको गम्भीरता अन्य प्रदेशमा पनि देखिएको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले मानव स्वास्थ्यका लागि सरसफाइ आवश्यक भएको बताउनुभएको छ । प्रदेश सरकारको श्रम दिवसका अवसरमा आयोजित एक सरसफाइ कार्यक्रममा हिस्सा लिँदै मुख्यमन्त्री शाहीले सरसफाइ मानव जीवनको अभिन्न अङ्ग भएको बताउनुभयो । संसारका सबै देश र समाजमा सरसफाइ एक व्यक्तिगत र सामूहिक दायित्व र कार्यभारको रूपमा विकसित भइरहेको वर्तमान अवस्थामा मुख्यमन्त्री शाहीले मानव स्वास्थ्यका लागि सरसफाइ भन्ने अवधारणा निश्चय नै समयको मागलाई पूरा गर्न सक्ने हुन्छ ।
नेपालमा विश्व सरसफाइ दिवस विभिन्न कार्यक्रम गरी मनायो । सेप्टेम्बर १५ का दिन सरसफाइ अभियान गरी विश्वभर मनाइँदै आएको यो दिवस नेपालमा मनाइन लागेको केही वर्षमात्र भएको छ । पछिल्लो विश्व सरसफाइ दिवसका अवसरमा सार्वजनिक स्थलहरूको स्वच्छताप्रति गैरसरकारी संस्था तथा आम जनचासो उल्लेखनीय देखियो । ग्रिन नेपाल, सबल नेपाल, सप्तरी युथ, वातावरण संरक्षण युवा अभियान, सहारा बाल क्लबजस्ता संस्थाहरू निकै सक्रिय देखिए । खासगरी ग्रिन नेपालका स्वयंसेवकहरूले सरसफाइ सप्ताहको सातवटै दिन निर्धारित स्थलहरूको सरसफाइमा सक्रिय देखिए । तर सरसफाइ चाडपर्व जस्तै देखियो । भोलिपल्ट फोहोरको पुरानै ताल देखियो । वर्षमा एक पटक चेतनामूलक कार्य गरेर पुग्ने रहेनछ । पटक पटक गरिनुपर्छ । विश्व सरसफाइ दिवसले सिधा आम जनतालाई सम्बोधन गर्दैन । सरकारी तथा गैरसरकारी निकायहरू यसको माध्यम बन्नुपर्छ । यसका लागि सरकारी तथा गैरसरकारी संस्थाहरूले नियमित तथा प्रभावकारी रूपमा चेतनामूलक कार्यक्रम चलाउनुपर्छ ।
जथाभावी थुप्रिएका फोहोरले गाउँसहर कुरुप पार्छ । वातावरण प्रदूषित बनाउँछ । फोहोरकै कारण विभिन्न रोगको संक्रमण फैलिने सम्भावना पनि उत्तिकै रहन्छ । सफा र स्वच्छ गाउँसहर हाम्रो सभ्यतासँग जोडिएको हुन्छ । तर, नेपालमा घरको आँगनदेखि सडक, सार्वजनिक स्थल, नदीखोला जहाँतहीँ फोहोर थुप्रिएको भेटिन्छ । कतिपय अवस्थामा जनचेतनाको कमीका कारण फोहोर व्यवस्थित हुन नसके पनि अधिकांश लापरबाहीका कारण सार्वजनिक स्थल दुर्गन्धित भइरहेको पाइन्छ ।
शहरी क्षेत्रका सार्वजनिक स्थलहरूमा सरसफाइको घोर अभाव देखिन्छ । शहर बजारमा मंदिर, मस्जिद अथवा अन्य कुनै धार्मिक स्थल होस् वा धर्मशाला, विद्यालय, बस स्टेण्ड कतै पनि सफाइ छैन । शहर बजारका यी सबै स्थानहरूमा फोहोरको डुंगुर लागेको छ । शहरी क्षेत्रको सरसफाइको कमीले स्थानीय तहको कार्य शैलीमाथि सवाल उठ्दै आएको छ । सर्वसाधारणले यसबाट कठिनाइको सामना त गर्ने पर्छ साथै स्वच्छताको मामिलामा गलत सन्देश पनि प्रचारित भई रहन्छ । सरसफाइको काममा स्थानीय तहका साथ–साथै नगरवासीको भूमिका पनि अत्यन्तै न्यून छ ।
सार्वजनिक क्षेत्रहरू तोकेर सरसफाइका लागि जनश्रमदान अभियान सञ्चालन गर्नुपर्छ । यसमा स्थानीय तहमा निर्वाचित प्रतिनिधिहरूको उत्प्रेरणा र अगुवाई हुनुपर्छ । स्थानीय तहका सफाइकर्मीहरूलाई सहायक भूमिकामा राखिनुपर्छ । आम जनताले जनश्रमदान गर्ने वातावरण बन्यो भने फोहोर गर्ने र थुपार्ने प्रवृत्तिमा ह्रास आउनेछ । घर सफा भयो भने व्यक्तिको चिन्तन पनि शुद्ध रहन्छ । राष्ट्रिय विकासमा यस्तो प्रवृतिको ठूलो योगदान हुनेछ ।
अधिकांश व्यक्तिको भनाइ के हुन्छ भने सार्वजनिक स्थलको सरसफाइको जिम्मेदारी स्थानीय तहको हो । तर सार्वजनिक स्थल स्वच्छता जनश्रमदान अभियानको सञ्चालनले सरसफाइमा स्थानीय नागरिकको भागीदारी मात्र सुनिश्चित गर्दैन अपितु मानिसहरू आफ्नै घरबाट झाड़ू कोदालो समेत लिएर आउने छन् । स्थानीय तहले यस्तो प्रक्रिया अपनायो भने आम जनतामा स्थानीय तहमाथिको निर्भरता हटनेछ र सबैको सहयोगबाट आफैं सार्वजनिक स्थलहरूको सरसफाइ गर्ने अठोट उत्पन्न हुनेछ । जब सार्वजनिक स्थल हामी सबैको हो र फोहोर पनि हामी आफैंले फैलाउँछौं भने सफाइ गर्नका लागि स्थानीय तहको बाटो किन कुर्ने भन्ने भावना उत्पन्न हुनेछ । खासगरी वडा समितिहरूले साप्ताहिक कार्यक्रम राखेर सबैले एक घण्टा श्रमदान गरी सार्वजनिक स्थलहरूको सफाइको संकल्प गराउन सक्छ ।
सार्वजनिक स्थल भन्नाले चौक, सरकारी निकाय, संस्था वा कार्यालय, शिक्षण संस्था, पुस्तकालय, स्वास्थ्य संस्था, विमानस्थल, कल्याण सेवा तथा सहयोग केन्द्र, शिशु स्याहार केन्द्र, वृद्धाश्रम, अनाथालय, उद्यान, क्लब, सार्वजनिक शौचालय, उद्योग, जलाशय, सडक, चलचित्र घर, सांस्कृतिक केन्द्र तथा नाट्यशाला, होटल, रिसोर्ट, रेष्टुरेण्ट, लज, छात्रावास, अतिथि गृह, रङ्गशाला, कभर्डहल, हाट–बजार, डिपार्टमेण्टल स्टोर तथा मिनी मार्केट, धर्मशाला, धार्मिक स्थल, सार्वजनिक प्रतिक्षालय आदि बुझिन्छ ।
सार्वजनिक स्थलहरूको विशेषता के हुन्छ भने त्यस्तो सार्वजनिक स्थलको व्यवस्थापन तथा क्रियाकलापसँग प्रत्यक्ष रूपमा केही मानिसहरू जोडिएका हुन्छन् । जस्तै विद्यालयमा शिक्षक तथा विद्यार्थी, हाटबजारमा व्यापारी, वृद्धाश्रम वा अनाथालयमा आश्रित आदि । तसर्थ सार्वजनिक स्थलको सरसफाइमा त्यस्ता मानिसहरूको भूमिका प्राप्त गर्न सकिन्छ ।
सार्वजनिक स्थल सफाइ सरोकारको विषय सरकारी तथा गैरसरकारी संस्थाहरूको कार्यालय भवन तथा परिसर पनि हो । सरकारी कार्यालयको सफाइका लागि कर्मचारी व्यवस्था गरिएको हुन्छ । कार्यालयहरूलाई सफा सुग्घर बनाई राख्न माथिल्लो तहबाट निर्देशन पनि प्राप्त भएको हुन्छ । कार्यालयहरूको सरसफाइको अवस्था हेर्दा प्रायः त्यसको प्रभाव परेको देखिन्छ । तथापि कार्यालयहरूको स्वच्छतामा सेवाग्राही तथा आगन्तुकहरूको क्रियाकलाप चुनौती बनेको हुन्छ । कार्यालयहरूले फोहोर गर्ने प्रवृत्तिलाई निषेध गर्ने सन्देश पनि प्रवाहित गरेको देखिन्छन् । तर कतिपय गैरसरकारी संस्थाका कार्यालयहरूमा सरसफाइ तथा फोहोर नियन्त्रणप्रति चासोको कमी देखिन्छ ।
ठूला आकारका सरसफाइका लागि ठूलै अभियानको खाँचो हुन्छ । वि.सं. २०७० जेठ ५ गतेदेखि वागमती सरसफाइ महाभियानसँगै सुुरू गरिएको सरसफाइ अभियान देशका विभिन्न स्थानमा जारी छ । सरसफाइ अभियान जारी राख्ने हो भने असम्भव केही रहेनछ भन्ने दृष्टान्त वागमती महाभियानले पुष्टि गरिसकेको छ । प्राकृतिक, ऐतिहासिक एवम् धार्मिक महत्व रहिआएको वागमती नदी प्रदूषित हुँदा त्यसले नेपालीमात्रै होइन, धार्मिक पर्यटनमा समेत पटाक्षेप गरेको थियो । विदेशी पर्यटकले खिसिट्युरी गरेर कैयौँ रिपोर्टहरु सार्वजनिक गरे, जसले राष्ट्रकै लागि लज्जा बन्न पुग्यो । हाम्रो सभ्यता र धर्मसंस्कृतिसँग जोडिएको वागमती नदीमा अहिले मज्जासँग पौडी खेल्न, जल विहार गर्न र पर्यटकलाई आकर्षण गर्न सकिने भएको छ । वागमतीको मुहान सुन्दरीजलदेखि चलाइएको अभियानले २४०औँ हप्ता पार गर्दा गोकर्णेश्वर महादेव मन्दिर परिसरसम्म आइपुगेको छ ।
नेपालका अन्य नदीखोला पनि दूषित बनिरहेका छन् । चितवनमा पनि युवाहरूको समूह ‘वे ग्रुप’ले नारायणी नदी सरसफाइ गर्ने अभियान चलाउँदै आएको छ । ‘वे ग्रुप’कै अभियानबाट प्रभावित भएर चितवनका स्थानीय निकायदेखि विभिन्न संघसंस्था सरसफाइ अभियानमा लागेका देखिन्छन् । सकारात्मक अभियानको सुरूवात जो जसले गरे पनि असल कामप्रति सबैको समर्थन रहन्छ । अहिले फोहोर व्यवस्थापन गर्नुपर्छ भन्ने सोच बढे पनि सहरबजारमा फोहोर थुप्रिने प्रवृत्तिचाहिँ हटिसकेको छैन ।
राजविराजमा सप्तरी युथले साप्ताहिक सरसफाइ कार्यक्रम सञ्चालन गर्दै आएको छ । यस्तो सरसफाइ कार्यक्रमले सय सप्ताहलाई पार गरिसकेको छ । ग्रिन नेपालले सखडा छिन्नमस्ता मंदिरमा २१ हप्तासम्म सरसफाइ कार्यक्रम ग¥यो । निरन्तर सञ्चालन गरिने यस्ता कार्यक्रमले अन्य संस्था र समूहहरूलाई पनि प्रेरित गर्नेछ । स्थानीय तहमा ‘डम्पिङ्ग साइट’को अभावका कारण फोहोर व्यवस्थापन हुन सकिरहेको छैन । डम्पिङ्ग किन आवश्यक छ ? भनी राख्नु आवश्यक छैन । तर सबै फोहोर डम्पिङ्ग साइटमै लगेर हुत्याउनुपर्छ भन्ने हुँदैन । आफूले विर्सजन गरेका फोहोरको व्यवस्थापन गर्ने पहिलो दायित्व आफ्नै हो भन्ने कुरा मनन गर्न नसक्दा समस्या उत्पन्न भइरहेको छ । आफ्नै घर, पसल अगाडिको फोहोर कुहिएर दुर्गन्ध फैलिँदा पनि नगरपालिकाको ट्याक्टर कुर्ने प्रवृत्तिले फोहोर हाम्रो पहिचान बनेको छ । मास मिडिया र सोसल मिडियामा हिजो आज त्यस्ता व्यक्तिहरूको भूमिका पनि देखिन थालेको छ, जसले आफ्नो घरपरिवारमा सफाइ मात्र गर्दैनन्, फोहोरहरू विभाजन गरेर व्यवस्थापन गर्ने र कम्पोष्ट बनाएर आफ्नै घरबारीमा प्रयोग गरेका छन् । यसैगरी मास मिडिया र सोशल मिडियामा त्यस्ता व्यक्तिको पनि दर्शन हुन थालेको छ, जसले आफ्नो घरपरिवारमा मात्र होइन, समुदायमा पनि सरसफाइ गरी रहेका छन् । त्यस्तो व्यक्तिको दर्शनले घर–परिवार, सार्वजनिक स्थल र समुदायको स्वच्छतामा ठूलो गुण लगाउँदैछ । सरसफाइ र स्वच्छताको युग बदलिँदैछ । नया युगलाई सबैले स्वागत गर्नुपर्छ ।
लेखक निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड यूनियन सप्तरीका अध्यक्ष हुनुहुन्छ ।

Classified Saptari Buy and Sell in Saptari

About The Author

लेखक यादव पत्रकारिताका साथै भाषा, साहित्य, कला, संस्कृति, पर्यटन, ऐतिहासिक एवम् पुरातात्विक क्षेत्रमा कलम चलाउँछन् (सं) ।

News Portal Web design in Saptari Offer