राजविराज, १३ असोज । सप्तरी जिल्लामा बालविवाह र दाइजोका कारण बढ्दो महिला हिंसा सम्वन्धी घटना हुने गरेको राजविराजमा आयोजित एक कार्यक्रमका सरोकारवालाहरुले ठहर गरेका छन् ।
युके एड र सर्च फर कमन ग्राउण्डको सहयोग एवम् नेपाल पत्रकार महासंघ शाखा सप्तरीको समन्वयमा शुक्रवार आयोजित ‘बालविवाह तथा दाइजोको बहानामा हुने महिला हिंसा’ विषयक सम्वाद कार्यक्रममा सरोकारवालाहरुले यस्तो ठहर गरेका हुन् । सप्तरी जिल्लालाई वौद्धिक जिल्लाको रुपमा चिनिए पनि बालविवाह र दाइजोका कारण महिला हिंसाका घटना चिन्ताको विषय भएको भन्दै सरोकारवालाहरुले न्यूनिकरणकालागि सबै पक्ष जिम्मेवार भएर प्रस्तुत हुनुपर्नेमा जोड दिए ।
राजविराज नगरपालिकाकी उपमेयर एवम् न्यायिक समितिकी प्रमुख साधना झाले बालविवाह र दाइजो समाजिक कलंकको रुपमा रहेकोले कानून विपरित जाने जो कोहीलाई कार्वाही गर्नुपर्नेमा जोड दिए । यस्ता कुप्रथालाई अन्त्य गर्न समाजका शिक्षित वर्गले गम्भीरतापूर्वक लिएर सशक्त रुपमा अगाडि बढ्नुपर्नेमा उनले जोड दिए ।
कार्यक्रममा जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत प्रयास भट्टराईले बालविवाह र दाइजोका कारण समाजिक संरचनामा समेत गम्भीर असर परिरहेको भन्दै यसलाई न्युनिकरण गर्न जनस्तरमा सचेतना जगाउनुपर्नेमा जोड दिए । जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक भावेश रिमालले जिल्लामा बालविवाह अत्यधिक हुने गरेको तथा दाइजोकै कारण महिलामाथि हिंसा हुने गरेको बताउँदै कानूनी प्रावधानबारे जनस्तरमा समेत सचेतना जगाउनुपर्नेमा जोड दिए । आफुहरु कानूनको रक्षक भएको बताउँदै जुनसुकैै घटनाहरु भएमा प्रहरीलाई खबर गर्न उनले आग्रह गरे ।
ईन्सेक सप्तरीका प्रतिनीधि मनोहर कुमार पोखरेलले बालविवाह र दाइजो एक अर्का बिच अन्तर सम्वन्ध रहेको भन्दै यसको असर शिक्षित परिवारमा अत्यधिक रहेको बताए । बालविवाहका कारण सम्बन्ध विच्छेदका साथै पारिवारिक कलह बढेको बताउँदै उनले भने ‘बालविवाह, दाइजो लगायतका कुरितीहरु अन्त्य गर्ने जिम्मेवारी पाएका व्यक्तिहरु स्वयं पनि यस्ता गतिविधिमा संलग्न छन्, त्यसैले यस्तो कुरितीहरु समाजिक कलंकको रुपमा मौलाउँदै गएको छ ।
सेतु सामुदायिक विकास तथा मानव अधिकार मञ्चकी आभासेतु सिंहले मोबाइल ईन्टरनेटले गर्दा समाजमा विकृति निम्त्याउने गरेकोले यसतर्फ अभिभावक सचेत हुनुपर्नेमा जोड दिईन् । कार्यक्रममा नेपाल पत्रकार महासंघ सप्तरीका सल्लाहकार एवम् सप्तरी युथ नेपालका अध्यक्ष श्रवण देव, एकद्वार संकट व्यवस्थापन केन्द्रकी प्रमुख मनिषा सिम्खडा, नेपाल पत्रकार महासंघ सप्तरीका उपाध्यक्षद्वय श्यामसुन्दर यादव, सुधा देव, सचिव जितेन्द्र कुमार झा, कोषाध्यक्ष शुभचन्द्र झा, वैतनिक वकिल मिस्टर चौधरी, सरकारी वकिल कार्यालय, वैतनिक कानून व्यवसायी, बालक्लवका प्रतिनीधि समेतको सहभागिता रहेको थियो ।
सोही कार्यक्रममा बालविवाह, दाइजो एवम् महिला हिंसा सम्वन्धी स्टिकर समेत राजविराज नगरपालिकाकी उपमेयर साधना झाले सार्वजनिक गरेकी छिन् ।