• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

मनोरञ्जन

मैथिली सिनेमाका निर्देशक धर्मात्माको निधन

मैथिली कलाक्षेत्रमा अपूरणीय क्षति
मैथिली सिनेमाका निर्देशक धर्मात्माको निधन

राजविराज, २९ साउन । सप्तरीको छिन्नमस्ता गाउँपालिका वडा नम्वर–७ मोहनपुर निवासी चर्चित फिल्म निर्देशक धर्मेन्द्र यादव ‘धर्मात्मा’को मङ्गलवार विहान उपचारको क्रममा निधन भएको छ ।
विगत केही महिनादेखि विरामी भई उपचारार्थ रहँदैआएका उनको काठमाण्डौ स्थित सिभिल अस्पतालमा उपचारको क्रममा २७ वर्षको अल्पायुमा निधन भएको हो । उनी मधुमेह, ब्लड प्रेसर सहित विभिन्न रोगबाट ग्रसित भई विरामी रहँदैआएका थिए ।
विगत एक दशकदेखि मैथिली कला क्षेत्रमा सक्रिय रहँदैआएका उनले एक दर्जन भन्दा बढी मैथिली फिल्महरुको निर्देशन एवम् अभिनय गरिसकेका छन् । छोटो समयमै मैथिली कलाक्षेत्रमा पहिचान बनाउन सफल धर्मात्माले धर्मेन्द्र धर्मात्मा फिल्म प्रोडक्सन प्रा.लि.को व्यानरमा राधा सङ्ग मोहन, जान सन, हिरो तोहर दिवाना, प्रेमरोग जस्ता फिल्महरुको निर्माण गरेका छन् । पछिःल्लो समय ‘कलंक’ नामक मैथिली फिल्म छायांकनमा व्यस्त रहेका उनी अचानक गम्भीर रुपमा विरामी परेका थिए ।
यस अतिरिक्त मैथिली कलाक्षेत्रको विकासका साथै कलाकारलाई व्यवसायिकतातर्फ उन्मुख गराउने अभियानमा जुटेका धर्मात्माले ‘मैथिली खुशी’ युट्युब च्यानल मार्फत मैथिली हास्यव्यंग्यमा विभिन्न विषयवस्तुलाई आधार बनाएर सर्वाधिक करिब दुई सय भन्दा कमेडी श्रृंखला निर्माण गरिसकेका छन् । मैथिलीमा सर्वाधिक लोकप्रिय रहेको उनको च्यानलमा सम्भवतः हालसम्मकै सर्वाधिक ३ लाख ५४ हजार ७ सय १४ सब्सक्राइबर रहेको छ भने मैथिलीमा सर्वाधिक हेरिने च्यानलको रुपमा समेत स्थापित छन् । उनका च्यानलमा रामलाल, फूलमतीया र जनकपुरवाली पात्रको नाम मैथिलीभाषी दर्शकहरु बिच निक्कै चर्चित छन् ।
काठमाण्डौमा सघन उपचारका क्रममा मृत्यु भएका धर्मात्माको शव मङ्गलवार रातीसम्म सप्तरी आईपुग्ने जानकारी उनका सहकर्मी समेत रहेका चर्चित कलाकार भूपेन्द्र कुमार मण्डलले जानकारी दिएका छन् । मानसरोवर यादव एवम् मिना देवी यादवका सुपुत्र धर्मात्माका पत्नी रेखा यादव, ६ वर्षका छोरा शंकर र डेढ वर्षको छोरी रहेको छ । समान्य परिवारमा जन्मिएका उनी सानैदेखि कलाक्षेत्रतर्फ आकर्शित हुँदै मैथिली कलाक्षेत्रमा समर्पित भएका थिए ।
उनको निधनमा सिङ्गो मिथिला क्षेत्रका कलाकर्मीहरु स्तब्ध भएका छन् । मैथिली साहित्य परिषद्का सचिव श्यामसुन्दर यादवले तत्कालै समाजिक सञ्जालमार्फत गहिरो शोक व्यक्त गरेका छन् । उनको निधनले सिङ्गो मैथिली कलाक्षेत्रमा अपुरणीय क्षति भएको भन्दै दिवङ्गत आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना व्यक्त गरेका छन् ।