• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

मनोरञ्जन

मधेशी फिल्मलाई सेन्सरबोर्डले विभेद गरेको आरोप

मधेशी फिल्मलाई सेन्सरबोर्डले विभेद गरेको आरोप

राजविराज, १ साउन । मधेशबाट निर्माण हुने चलचित्रहरुलाई ‘सेन्सरबोर्ड’ले विभिन्न बहानामा अनावश्यक दुःख दिने गरेको एक कार्यक्रमका वक्ताहरुले आरोप लगाएका छन् ।
मधेशीपुत्र परिवारद्वारा सोमवार राजविराजमा आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा बोल्दै वक्ताहरुले यस्तो आरोप लगाएका हुन् । मधेशीपुत्र २ का निर्माता उदितनारायण साह ‘अरुण’ले देश र मधेशको वास्तविक घटनामा आधारित फिल्मलाई चलचित्र विकास बोर्डले अनावश्यक बखेडा झिकेर दुःख दिएको बताए । नेपाली भाषामा निर्माण भएका चलचित्रहरुमा मधेशीको पात्रलाई होच्याएर प्रस्तुत गर्ने तथा बोलीको लबज बिगारेर कमेडीको रुपमा देखाउँदा पनि बोर्डले कुनै अवरोध नगरेको तर मधेशबाट निर्माण हुने फिल्महरुलाई विभेद गर्ने गरेको उनले बताए ।
नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य अशोक कुमार मण्डल ‘अमर’ मधेशमा पनि राम्रा कलाकारहरु रहे पनि समुचित स्थान नदिएको बताए । मधेशबाट निर्माण हुने फिल्महरुमा राम्रो कथावस्तु, दक्ष कलाकारको चयन, गुणस्तरिय प्रविधीको प्रयोगमा विशेष ध्यान दिनुपर्ने सुझाव दिँदै आफुले सक्दो सहयोग गर्ने पूर्व सांसद समेत रहेका नेता मण्डलले प्रतिवद्धता व्यक्त गरे ।
गैरआवासीय मधेशी संघ कतारका वरिष्ठ उपाध्यक्ष जगतनारायण मण्डलले मधेश र मधेशीको नाममा आफुहरुले विगत एक दशकदेखि विभिन्न सहयोग गर्दैआएको बताए । अन्य क्षेत्रहरु जस्तै कलाकारिताको समेत विकास गर्न आगामी दिनमा समेत सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रममा राजविराज नगरपालिकाका मेयर शम्भु प्रसाद यादव, मधेशीपुत्रका निर्देशक एवम् नायक निराजन मेहता, साहित्यकार करुणा झा, नेपाल पत्रकार महासंघ सप्तरीका उपाध्यक्ष श्यामसुन्दर यादव, गायिका अन्जु यादव, कलाकारहरु आलम, अर्जुन मेहता, रमिला साह, विजय पंडित लगायतको विशेष उपस्थिति थियो ।