• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

करोडौंको प्रहरी अस्पताल सञ्चालनमा आउन सकेन

करोडौंको प्रहरी अस्पताल सञ्चालनमा आउन सकेन

राजविराज, ११ जेठ । पूर्व क्षेत्रीय प्रहरी अस्पताल (ठाकोदेवी–जोगेन्द्र भगत)का लागि एक अर्ब रुपैयाँको बराबरको सम्पत्ति निःशुल्क हस्तान्तरण गर्दा पनि प्रहरीको बेवास्ताले अस्पताल सञ्चालनमा आउन नसकेकोमा दाता पक्षले चिन्ता व्यक्त गरेका छन् ।
सप्तरीको रुपनी स्थित अस्पतालमा शुक्रवार आयोजित पत्रकार सम्मेलनमा दाता जोगेन्द्र भगतले यस्तो चिन्ता व्यक्त गरेका हुन् । दुई वर्ष अघि रुपनी बजारमै अस्पतालका लागि भवनसहितको जग्गा उपलब्ध गराउँदा पनि प्रहरीको लापरवाहीले अहिलेसम्म पनि अस्पताल सञ्चालनमा आउन नसकेकोको उनले गुनासो गरे ।
पूर्व–पश्चिम लोकमार्गमा बढ्दो सडक दुर्घटना र जिल्लामा रहेको विपन्नहरुले सहुलियत रुपमा स्वास्थ्य सेवा प्राप्त गर्ने मनसायले प्रहरी अस्पताल सञ्चालनका लागि २०७३ सालमै २ विघा ५ कठ्ठा जग्गासहितको भवन दान गरे पनि अहिलेसम्म स्वास्थ्य सेवा सुचारु नभएकोमा दाता भगतले गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयलाई गम्भीर बन्न आग्रह गरेका छन् । पत्रकार सम्मेलनमा रुपनी गाउँपालिकाका अध्यक्ष हरेराम यादवले जनताहरुलाई भईरहेको असुविधालाई ध्यानमा राखि आफुले पटक पटक प्रयास गरे पनि अस्पताल सञ्चालनमा ढिलासुस्ती भईरहेको बताए ।
उद्घाटन भएको लामो समयसम्म अस्पतालबाट सेवा सञ्चालन नभएको विषयमा चासो ट्रान्सफर्मर जडान हुन नसकेर सेवा सञ्चालन नभएको जानकारी पाउँदा आफुले पहल गरेको गाउँपालिका प्रमुख यादवले बताए । उनले भने ‘अस्पतालले ट्रान्सफर्मर जडानमा २ लाख ५० हजार अभाव देखाएपछि गाउँपालिकाबाट उक्त रकम उपलब्ध गराउँदा पनि हालसम्म सेवा सञ्चालनमा ढिलासुस्ती हुँदैआएको छ ।’
हाल समेत अस्पतालले रकम अभाव रहेको भन्दैआएकोले केन्द्रबाट यो अस्पताललाई प्रशासनिक एवम् व्यवस्थापन खर्च समेत उपलब्ध नगराउनु दुर्भाग्यपूर्ण भएको उनले बताए । गाउँपालिकाले अस्पतालमा सेवा सुचारु नभएकोप्रति गम्भीरता प्रकट गर्दै अध्यक्ष यादवले भने ‘समस्या समाधान हुँदैन भने कि त खाली गरिदिनुप¥यो, ठाउँ ओगटेर हुँदैन ।’
हाल अस्पतालमा विभिन्न उपकरणसहित २ डाक्टर, स्टाफ नर्स र अनमी गरी २ जना लगायत १३ जनाको चिकित्सक टोली कार्यरत छन् । यसैगरी, प्रशासनतर्फ १४ जना कर्मचारी रहेको अस्पतालले जनाएको छ । यद्यपी उपचार सेवा भने हालसम्म सञ्चालनमा आउन सकेको छैन ।