• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

मनोरञ्जन

दर्शक भन्छन् ‘भोरमा मधेशको जीवन्त चित्रण’

दर्शक भन्छन् ‘भोरमा मधेशको जीवन्त चित्रण’

राजविराज, २० वैशाख । मधेश–मिथिलाको भयावह समस्याको रुपमा रहेको दाईजो प्रथालाई मुख्य कथावस्तु बनाएर निर्माण गरिएको नेपाली–मैथिली मिश्रित फिल्म ‘भोर’को विशिष्ठ व्यक्तिहरुले प्रसंशा गरेका छन् ।
सामाजिक कुप्रथाको एवम् विकृति विसङ्गतीको रुपमा मौलाउँदै गएको दाइजो एवम् महिला हिंसाको कथावस्तुमा निर्माण गरिएको फिल्म भोरले मधेशमा नयाँ विहानी ल्याउनमा मद्दत गर्ने दर्शकहरुले विश्वास व्यक्त गरेका हुन् । फिल्मको ‘बेस शो’मा सहभागी महिला बालबालिका तथा ज्येष्ठ नागरिक समितिका पूर्व सभापति रञ्जु ठाकुरले दाइजो कुप्रथाका कारण मधेशी महिलाहरुमाथि चरम यातना मात्र नभई मृत्यु समेत वरण गर्नुपरेको चर्चा गर्दै दाइजो लेनदेनमा संलग्नलाई कडा कार्वाही हुनुपर्नेमा जोड दिईन् । निक्कै रुचीका साथ फिल्म हेरेकी उनले भनिन् ‘मधेशको ठूलो महामारी हो दाइजो, लेनदेनमा संलग्नहरुलाई कठघरामा उभ्याईनुपर्दछ ।’
नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय उपाध्यक्ष वरिष्ठ पत्रकार शिवहरी प्रसाद भट्टराईले मधेशको पृष्ठभूमीमा मधेशकै कथावस्तु तथा कलाकारहरु समेत मधेशकै राखिनुले फिल्मलाई अझ मजबुत बनाएको प्रतिक्रिया दिए । प्रेस काउन्सिल नेपालका पूर्व सदस्य एवम् कृष्णा दैनिकका सम्पादक मुरली प्रसाद यादवले नेपाली सिनेमाले मधेशी अनुहारलाई ठाउँ दिनु तथा मधेशको जल्दोबल्दो विषयलाई उठाउनु सकारात्मक रहेको बताए ।
दहेजमुक्त मिथिला अभियानकी अभियन्ता करुणा झाले भोरले मधेश मिथिलामा व्याप्त वर्षौंदेखि जकडिएको दाइजो कुप्रथालाई कलाकारहरुले जीवन्त अभिनय गरेर दर्शकहरुको मन जित्न सफल भएको बताईन् । राजविराज नगरपालिकाकी उप–मेयर साधना झाले भोरले समाजिक रुपान्तरणका साथै महिलाहरुलाई अगाडि बढ्न प्रोत्साहित गरेको प्रतिक्रिया दिईन् ।
यस्तै नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य अवधेश कुमार झा, महासंघका जिल्ला अध्यक्ष जितेन्द्र खड्गा, उपाध्यक्ष श्यामसुन्दर यादव, पूर्व अध्यक्ष धीरेन्द्र प्रसाद साह, प्रेस स्वतन्त्रता सेनानी बैद्यनाथ झा, मैथिली साहित्य परिषद्का पूर्व अध्यक्ष शुभचन्द्र झा, सगरमाथा साहित्य परिषद्का अध्यक्ष मनोहर कुमार पोखरेल, नेपाली कांग्रेसका जिल्ला सचिव रामकुमार यादव, समाजसेवी हितनारायण लाल दास लगायतले फिल्मको प्रशंसा गरेका छन् । सिनेमा हेरेर बाहिरिने क्रममा युवतीहरुले आफुहरु दाइजो विरुद्धको अभियानमा सक्रियताका साथ लाग्ने प्रतिवद्धता व्यक्त गरेकी छिन् ।
चर्चित कथाकार एवम् उपन्यासकार कृष्ण धारावासीद्वारा लिखित कथावस्तुले आम दर्शकको मन जित्नेमा निर्माण पक्षको विश्वास छ । यादव कुमार भट्टराईद्वारा निर्देशित पहिलो चलचित्र झोलाको सफलता पछि निक्कै मेहनत पछि आएको यो चलचित्रले आम नेपाली दर्शक मात्र नभई विदेशमा समेत लोकप्रिय एवम् उत्कृष्ट चलचित्रको रुपमा चिनाउन सफल हुने विश्वास गरिएको छ । एक दर्जन भन्दा बढी मैथिली एवम् भोजपुरी सिनेमामा मुख्य नायिकाको भुमिका निभाईसकेकी डोली सरकारले नेपाली चलचित्र भोरमा ईन्ट्री पाएकी छिन् । चलचित्रमा सरकारको जिवन्त अभिनय आम नेपाली दर्शकहरुको मन छुने सप्तरी जिल्लावासीको विश्वास छ । डोलीको जिवन्त अभिनयप्रति उनको गृहजिल्लाका दर्शकहरुले सराहना गरेका छन् ।
शुक्रवार अर्थात वैशाख २१ गतेदेखि प्रदर्शनमा आउन लागेको भोर चलचित्रमा मिथिला क्षेत्रका चर्चित कलाकार रामनारायण ठाकुर, अनिता रानी मण्डल, राजेश सक्सेना, बि.एन.पटेल, प्रमेश झा, बटुक राज मिश्र, अनिता देव, पुजा कर्ण लगायत कलाकारहरुको मुख्य अभिनय रहेको छ । चलचित्रको कार्यकारी निर्माता देबेन्द्र प्रसाद सुवेदी तथा दिपक बज्राचार्यले छायांकनमा कौशलता देखाएका छन् । चलचित्रको मुख्य निर्मातामा राज तिमिल्सिना र राम गोपाल थापा रहेका छन् । नेपाली सिनेमाकै इतिहासमा यति धेरै संख्यामा पहिलो पटक मधेश–मिथिला क्षेत्रका कलाकारहरुले अवसर पाएका हुन् ।