• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

मनोरञ्जन

दाइजो कुप्रथामा आधारित  चलचित्र भोर शुक्रवारदेखि प्रदर्शनमा

दाइजो कुप्रथामा आधारित  चलचित्र भोर शुक्रवारदेखि प्रदर्शनमा

राजविराज, १९ वैशाख । मधेश–मिथिला क्षेत्रमा व्याप्त दाईजो प्रथालाई मुख्य कथावस्तु बनाएर निर्माण गरिएको नेपाली–मैथिली मिश्रित फिल्म ‘भोर’ शुक्रवारदेखि प्रदर्शनमा आउने भएको छ ।
सामाजिक कुप्रथाको रुपमा रहेको दहेज प्रथाको विषयमा निक्कै अध्ययन अनुसन्धान पश्चात दुई वर्षको लामो प्रयास पश्चात उक्त चलचित्र निर्माण भई प्रदर्शनमा आउन लागेको हो । चर्चित कथाकार एवम् उपन्यासकार कृष्ण धारावासीद्वारा लिखित कथावस्तुले आम दर्शकको मन जित्नेमा निर्माण पक्ष विश्वस्त छन् । मधेश–मिथिला क्षेत्रमै छायांकन गरिएको उक्त चलचित्र ‘प्रिमियर शो’मै निक्कै चर्चा बटुल्न सफल भएको छ । भोरको ‘प्रिमियर शो’ हेरेर पूर्व प्रधानमन्त्री, मन्त्री, सांसद, संवैधानिक अङ्गका व्यक्तिहरु, साहित्यकार, पत्रकार, मानव अधिकारकर्मी, सामाजिक अभियन्ता, नागरिक समाजका अगुवा समेतले हालसम्म नेपालमा निर्माण भएका चलचित्रहरुमध्ये उत्कृष्ट रहेको प्रतिक्रिया जनाईसकेका छन् ।
यादव कुमार भट्टराईद्वारा निर्देशित पहिलो चलचित्र झोलाको सफलता पछि निक्कै मेहनत पछि आएको यो चलचित्रले आम नेपाली दर्शक मात्र नभई विदेशमा समेत लोकप्रिय एवम् उत्कृष्ट चलचित्रको रुपमा चिनाउन सफल हुने विश्वास गरिएको छ । एक दर्जन भन्दा बढी मैथिली एवम् भोजपुरी सिनेमामा मुख्य नायिकाको भुमिका निभाईसकेकी डोली सरकारले नेपाली चलचित्र भोरमा ईन्ट्री पाएकी छिन् । चलचित्रमा सरकारको जिवन्त अभिनय आम नेपाली दर्शकहरुको मन छुने अपेक्षा गरिएको छ ।
यस्तै भोर चलचित्रमा मिथिला क्षेत्रका चर्चित कलाकार रामनारायण ठाकुर, अनिता रानी मण्डल, राजेश सक्सेना, बि.एन.पटेल, प्रमेश झा, बटुक राज मिश्र, अनिता देव, पुजा कर्ण लगायत कलाकारहरुको मुख्य अभिनय रहेको छ । चलचित्रको कार्यकारी निर्माता देबेन्द्र प्रसाद सुवेदी तथा दिपक बज्राचार्यले छायांकनमा कौशलता देखाएका छन् । चलचित्रको मुख्य निर्मातामा राज तिमल्सिना र राम गोपाल थापा रहेका छन् । नेपाली सिनेमाकै इतिहासमा यति धेरै संख्यामा पहिलो पटक मधेश–मिथिला क्षेत्रका कलाकारहरुले अवसर पाएका हुन् ।