राजविराज, २० चैत । सप्तरी जिल्लाका गरिब एवम् विपन्न परिवारको घरमा अझैं शौचालय निर्माण हुन नसकेको अवस्था विद्यमान छ नै । जिल्लाका कतिपय स्थानीय तहका जनप्रतिनिधीहरुकै घरमा शौचालय नबनेको तथा प्रयोगमा नरहेको अवस्था छ । तर कागजी रुपमा हतार हतारमा जिल्लाका नगरपालिका तथा गाउँपालिकाहरुलाई खुला दिसामुक्त घोषणा गर्न लाखौं रुपैयाँ अतिथि सत्कार, नाचगान, सम्मानका लागि खादा, सम्मानपत्र, मायाको चिनो, दोसल्ला, फुल माला तथा डिजेमा खर्चिएको छ । जिल्लामा अर्बौं रुपैयाँ दातृ निकायबाट प्राप्त सहयोग रकम खर्चिए पनि वास्तविक अवस्था भने कहालीलाग्दो छ ।
राजविराज नगरपालिका एक साता अघि मात्र खुला दिसामुक्त घोषणा भएको छ तर राजविराज नगरपालिकाको विभिन्न वडाहरुमा अझैं शौचालय बन्न नसकेका कारण खुला शौच हुँदैआएको छ । यहाँसम्म कि नगरपालिकाका जनप्रतिनिधीहरुको घरमा समेत शौचालय निर्माण नभएका कारण खुला शौच गर्दैआएको सञ्चारकर्मीहरुको एक टोलीले स्वतन्त्र रुपमा गरेको अनुगमनबाट यस्तो रहस्य खुलेको छ ।
राजविराज वडा नम्वर १३ का अध्यक्ष राजेन्द्रप्रसाद यादवको सिङ्गो परिवार अहिले पनि खुला अ आकाश मुनि नै शौच गर्दैआएका छन् । विभिन्न समस्याका कारण समयमा शौचालय निर्माण गर्न नसकेका कारण केही दिनका लागि खुला शौच गर्नु परेको यादवले स्वीकार गरे । वडा अध्यक्ष मात्र होईन, वडा नम्वर १३ का करिव २५ प्रतिशत घरधुरीमा अहिले पनि शौचालय छैन । बाँकी ७५ प्रतिशत मध्ये २५ प्रतिशतको घरमा शौचालय निर्माणाधिन अवस्थामै छन् भने केहीले सामग्री जोडजाम गर्नमै लागेका छन् ।
वडा सदस्य कृष्णदेव यादवका अनुसार शौचालय तयार नभई घोषणा सभा नगरौं भनेर पटक–पटक कुरा राखे पनि सुनुवाई नगरी नगरपालिकालाई खुलादिसामुक्त घोषणा गरिएको छ । साबिक विषहरीया गाविसको वडा नम्व ६ र ७ का करिब २५ प्रतिशत घरमा अहिले पनि शौचालय निर्माण हुन सकेको छैन ।
यस्तै वडा नम्वर १२ मा वडा कार्यालय नजिकै रहेको डोम बस्तीका वासिन्दाहरु समेत खुला शौच गर्न बाध्य छन् । बस्तीका करिव एक दर्जन परिवारको वसोवास रहेको टोलमा कच्ची शौचालय निर्माणका लागि काम सुरु गरे पनि आर्थिक अभावका कारण काम पुरा हुन नसकेर अलपत्र अवस्थामा रहेको स्थानीय जगदिश मरिकले दुःखेसो सुनाए ।
पेट पाल्नै समस्या रहेको अवस्थामा शौचालय कसरी निर्माण गर्ने ? भनी प्रश्न गर्दै उनले भने ‘खुला दिसामुक्त घोषणा गर्ने कार्यक्रमको नाममा अनावश्यक तामझाममा खर्चिने रकमको केही अंश मात्रै सहयोग गरिदिएको भए हामी जस्ता निमुखाहरुको कल्याण हुने थियो ।’
सिंगियौन स्थित मुसहरी बस्तीका रुनाई सदाले भान्सा कोठामै शौचालय निर्माण थालेका छन् भने अन्य त्यहाँका करिब ६० घर मुसहर परिवारलाई शौचालय कहाँ बनाउने भन्ने चिन्ताले सताएको छ । केहीले आफ्नो झुप्रोसँगै बाहिर शौचालय बनाए पनि त्यसको स्थायी निकास हुन सकेको छैन ।
यता निर्माणलाई मात्र प्राथमिक्तामा राखिएका कारण वडा नं. १ मा कतिपय शौचालय प्रयोग विहिन छन् भने केही घरमा शौचालय प्रयोगै गर्न नसक्ने अवस्था छ । यसैगरी सोही वडामा ३० जना बालबालिका अध्ययनरत रामटोलको मुन्ना वालविकास केन्द्रमा अहिले पनि शौचालय निर्माण हुन सकेको छैन । २०६३ सालमा स्थापना भएको उक्त बाल विकास केन्द्रका बालबालिकाहरु सडक छेउ तथा खेतमै दिसा पिसाब गर्न बाध्य रहेको शिक्षिका रञ्जना दासले बताईन् । दलित बालबालिका पढ्ने वालविकास केन्द्रलाई वेवास्ता गरिएको भन्दै खुला शौच गर्नुपर्ने बालबालिकाको बाध्यता रहेको वडा सदस्य नन्दु रामले प्रतिक्रिया दिए ।
शौचालय नै निर्माण नभईसकेको तथा प्रयोग विहिन रहेको अवस्थामा जिल्लाका स्थानीय तहहरु कागजी रुपमा खुला दिसामुक्त घोषणा भईसकेको छ । तर अनुगमनको जिम्मा पाएको क्षेत्रीय अनुगमन समितिले समेत जिल्ला खुला दिसामुक्त घोषणा गर्न योग्य रहेको भनी प्रतिवेदन दिएको छ । अनुगमनकर्ताहरुले कसरी र कुन चश्मा लगाएर अनुगन गरेको हो ? वा कागजी अनुगमन मात्रै भएको हो ? भनी नागरिक समाजका अगुवाहरुको प्रश्न छ ।
हतार हतारमा कागजी प्रक्रिया पुर्याएर चैत २१ गते सप्तरी जिल्ला नै खुला दिसामुक्त घोषणा हुन लागेको छ । व्यापक तामझामको तयारी समेत भईरहेको तथा उक्त घोषणाको साक्षीको रुपमा औपचारिकता प्रदान गर्न प्रदेश नम्वर २ का भौतिक पूर्वाधार मन्त्री जितेन्द्र सोनल सहितका प्रादेशिक मन्त्रीहरु आउने निश्चित भएको जनाईएको छ ।
भिडियो हेर्नुहोस्