राजविराज, ९ चैत । शम्भुनाथ सिनेमा प्रा.लि.द्वारा निर्माण हुन लागेको मैथिली कथानक फिल्म ‘हाफ डायरेक्टर बजेट कम’को गीती भिडियो शुक्रवार एक कार्यक्रमका बीच सार्वजनिक गरिएको छ ।
नेपाल पत्रकार महासंघ शाखा सप्तरीको सभाकक्षमा आयोजित कार्यक्रमका बिच सप्तरी ईट्टा भट्टा व्यवसायी संघका अध्यक्ष भीमराज यादवले गीतको भिडियो सार्वजनिक गरेका हुन् । भिडियो सार्वजनिक गर्दै उनले आफु कलाप्रेमी भएको बताउँदै मैथिली भाषामा मधेश आन्दोलनमा आधारित फिल्म निर्माण भए आफुले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । आफ्नै गाउँठाउँका कलाकारहरुले मैथिली कला क्षेत्रमा राम्रो गरिरहेको भन्दै प्रशंसा गर्दै उनले भने ‘मैले ५० पैसा तिरेर ब्ल्याक एण्ड ह्वाइटमा सिनेमा छु तर अहिले प्रविधिले निक्कै फड्को मारिसकेकोले गुणस्तरियता आवश्यक छ ।’
नेपाल पत्रकार महासंघ सप्तरीका उपाध्यक्ष श्यामसुन्दर यादवले मैथिली कला क्षेत्रमा युवाहरुको उत्साह राम्रो रहेको भन्दै हाल निर्माण भईरहेको फिल्म तथा म्युजिक भिडियोहरुमा थप मौलिकता ल्याउनुपर्नेमा जोड दिए । एक पछि अर्को गरी नयाँ मैथिली गीत सङ्गीत आईरहने क्रमले तिब्रता पाउँदै गएपछि अश्लील वा द्वैअर्थी गीतहरु विस्थापित भई मैथिलीले पक्कड बनाउँदै गएको भन्दै कलाकारहरुको उनले प्रशंसा गरे । मैथिली कला क्षेत्र तथा कलाकारलाई थप प्रोत्साहन गर्नुपर्नेमा मैथिली साहित्य परिषद राजविराजका सचिव समेत रहेका यादवले भने ‘केही समययता भोजपुरीका गीतहरुको प्यारोडी तथा द्वैअर्थी शब्दको प्रयोग भईरहेको पाईएकोले त्यसलाई न्युनिकरण हुनुपर्छ ।’
शम्भुनाथ सिनेमा प्रा.लि.का अध्यक्ष सबुरलाल सरदारको अध्यक्षतामा आयोजित कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य अवधेश कुमार झा, सप्तरीका कोषाध्यक्ष शुभचन्द्र यादव, महासंघका सल्लाहकार श्रवण कुमार देव, महासंघका सह–सचिव चन्दन यादव, पत्रकार ललिता साह, निर्देशक राजु राजदेव चौधरी, निर्माता कृष्णदेव पंडित, गीतकार रबेन्द्र मडर रवि, नृत्य निर्देशक दर्पी सरदार लगायतले मन्तव्य व्यक्त गरे ।
सार्वजनिक गरिएको फिल्मको गीतमा निरज चौधरी र क्षेत्रीले मोडलिंग गरेका छन् । स्वर सन्नु कुमार मण्डल, शब्द अंगित मिश्रा, सङ्गीत शैलेन्द्र विश्वकर्मा, डान्स दर्पी सरदार, कथा डिपी शास्त्री, क्यामरा सुमन निरौला तथा सम्पादन शिव थारुले गरेका छन् । कार्यक्रम सञ्चालन मैथिली साहित्य परिषद्का सह–सचिव रामअधिन साह सन्तोषीले गरे ।