• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

मनोरञ्जन

मधेश सहित देशैभरि मधेशी पुत्र २ सिनेमा प्रदर्शनमा

मधेश सहित देशैभरि मधेशी पुत्र २ सिनेमा प्रदर्शनमा

राजविराज, ९ चैत । नेपाल र मधेशको राजनीति, युवाको अवस्था, निर्भिक पत्रकारिता सहितका विषयवस्तुलाई आधार बनाएर निर्माण गरिएको मधेशी पुत्र २ शुक्रवारदेखि मधेश सहित देशैभरी प्रदर्शनमा आएको छ ।
मधेशी पुत्रको सफलतापछि निर्माण गरिएको मधेशी पुत्र २ राजविराज, भैरहवा, बिरगञ्ज, कलैया, गौर, मलङ्गवा, बरहथवा, जनकपुर, महेन्द्रनगर, मिर्चैया, लहान, मोरङ्ग, राजधानी काठमाण्डौ सहित देशैभरिका सिनेमा हलहरुमा एकैसाथ प्रदर्शनमा आएको हो । वास्तविकतामा आधारित नेपाली र भोजुरी भाषाको उक्त सिनेमाले दर्शकहरुको मन जित्नमा सफल भएको दर्शकहरुको प्रतिक्रिया रहेको छ ।
केन्द्रीय चलचित्र जाँच समितिले दृष्यहरुमाथि आपत्ति जनाउँदै केही दृष्य तथा सम्वादहरु हटाउन निर्देशन दिंदै आएका थिए । मधेश आन्दोलनको विषयवस्तुलाई समावेश गरिएको चलचित्र रहेकै कारणले समितिले विभिन्न दृष्य, सम्वाद, प्रसङ्ग आदीलाई हटाउनुपर्ने भन्दै रोक लगाउँदैआएको थियो । त्यस विरुद्ध मधेशका जिल्लाहरुमा प्रदर्शन समेत भएको थियो । अनुरागी फिल्म्स प्रा.लि.को ब्यानरमा निर्मित फिल्ममा पात्रको नाम र नारालाई म्युट गरिए पनि सिनेमा दिन खोजेको सन्देश दर्शक सामु प्रष्ट भएको निर्माता उदीतनारायण साहले जानकारी दिए ।
नेपाली र भोजपुरी दुई भाषामा निर्माण गरिएकोे मधेशी पुत्र–२ मा निराजन मेहता, निशा घिमिरे, ध्रुब कोइराला, मनोज राउत, साहिल साह, सचेन्द्र सरदार, प्रविण लाभ, देव यादव, कमल मण्डल, पुष्पा पाण्डेय लगायतको मुख्य अभिनय रहेको छ । द्वन्द्व एन.बी. महर्जनको रहेको छ भने छायाङ्कन रवि कोइरालाले गरेका छन् ।
रोहित, प्रमोदको सङ्गीत तथा भागवत मण्डल, अन्जु यादव, पारसमणी सोनी लगायत गायक गायिकाहरुको स्वर रहेको छ । देशैभरिका हलहरुमा प्रदर्शनमा आएको मधेशी पुत्र २ दर्शकहरुको व्यापक भींड रहेको फिल्मको प्रोमोशनमा रहेका नायक निराजन मेहताले जानकारी दिएका छन् । उनका अनुसार मधेशी पुत्र ३ समेत चाँडै दर्शक सामु आउने आफुहरुको लक्ष्य रहेको छ ।