• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
चासो कृषिमा आत्मनिर्भरताको

प्रदेश २ का भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्री शैलेन्द्रप्रसाद साहले शुक्रबार राजविराजमा आयोजित एक कार्यक्रममा यस प्रदेशलाई आत्मनिर्भर बनाउने उद्घोष गरेका छन् । उनले यस प्रदेशलाई कृषि,सहकारी,उद्योग,पर्यटनलगायतका क्षेत्रमा आत्मनिर्भर बनाउने गरि योजना ल्याउने समेत बताएका हुन् । हुन पनि हो,देशकै कृषि क्षेत्रमा प्रदेश नं. २ को स्थान अग्रणी रहेको छ ।

यहाँँ खेतिपाति तथा पशुपालनको व्यापक सम्भावना रहेपनि सरकारले विगतमा यसको समूचित विकासकालागि ध्यान नदिएका कारणले सम्भाव्यता रहेर पनि यो क्षेत्र पिछडिएकै अवस्थामा रहन पुगेको विषय घाम जत्तिकै छर्लंगै छ । यहाँ उर्बर जमिन त छ,तर सिँचाईको समूचित व्यवस्था नभएका कारण होस् वा किसानको उत्पादनको सुपथ मूल्यको अभावका कारणले कृषकमा उत्साह घटेर गएको अवस्था छ । यसका साथै उन्नत जातको वीऊ,रसायनिक मल,आवश्यक प्राबिधिक सरसल्लाहको अभाबका कारणले किसानमा उत्साहको साटो हतोत्साह बढेर गएको छ । यहाँ उत्पादन हुने बाँसबाट बाँसमा आधारित उद्योग स्थापना गर्न नसकिने होईन ।

यसै गरी सप्तरी एक ताका माछा उत्पादनमा पनि अग्रणी थियो । सरकारी स्तरबाट माछा पालनकालागि फिस मिसन समेत सञ्चालन गरिएको थियो । तर,दुर्भाग्य नै भन्नु पर्दछ कि यति बेला भारतबाट आयातित माछा यहाँका उपभोक्ताले खानु पर्ने अवस्था छ । कुनै समय सप्तरीमा उत्पादित धान विदेश निर्यात हुने गर्दथ्यो । तर,अहिले यहाँ भारतबाट आयात गरिएको चामल उपभोग गर्नु पर्ने अवस्था छ । कृषिमा सुधार ल्याउन सक्दा यो जिल्ला खाद्यान्नमा आत्मनिर्भर मात्र हुने होईन,कृषि उत्पादनमा आधारित उद्योग पनि स्थापना गर्न सकिने निश्चित छ ।

यहाँ औद्योगिक क्षेत्र पनि नरहेको होईन ,तर यहाँका उद्योगहरु प्रायः रुग्ण अवस्थामै छन् । मन्त्री साहले कृषिमा परिवर्तन ल्याउने जसरी उद्घोष गरेका छन्,यदि यसले मूर्त रुप लिन सक्यो भने सप्तरी मात्र होईन प्रदेश २ का युवाकालागि पनि स्वदेशमै रोजगारीका अबसर पनि श्रृजना हुने अपेक्षा लिन सकिन्छ । हामी कहाँ सम्भाव्यताको प्रचुरता नै छ । आवश्यकता छ त केवल त्यसको समूचित परिचालनको ।