राजविराज, ११ फागुन । नेपाल भारतको सिमानामा भण्डारण गरी नेपालबाट भारततर्फ साइकलमा स्याउ लैजाने अवस्थामा शुक्रवार विहान चार जना भारतीय नागरिक पक्राउ परेका छन् । उनीहरुको साथबाट १ सय ५८ किलो स्याउसहित ५ थान साइकल समेत बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले तिलाठी कोईलाडी गाउँपालिका–१ बाट भारतको सुपौल जिल्ला कुनौली थाना वडा नं. ५ बस्ने १७ वर्षीय निर्मल कुमार कारक, १७ वर्षिय रितेश कुमार महतो, १९ वर्षीय मनिष कुमार महतो, २६ वर्षीय राजिव महतोलाई पक्राउ गरेको एसपी मुकेशकुमार सिंहले जानकारी दिएका छन् ।
उनका अनुसार तिलाठी कोईलाडी गाउँपालिका वडा नं. १ बस्ने बिनोद रायको घरमा भण्डारन गरी राखेको ७८ कार्टुन स्याउ समेत बरामद गरेको छ । स्याउसहित पक्राउ परेका चारैजनालाई आवश्यक कारवाहीका लागि राजविराज भन्सार कार्यालय तिलाठीको जिम्मा लगाएको एसपी सिंहले बताए ।