• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

राजविराजमा सुविधा सम्पन्न बसपार्क निर्माण हुने

राजविराजमा सुविधा सम्पन्न बसपार्क निर्माण हुने

राजविराज, २६ माघ । सहरी विकास मन्त्रालयका सचिव डा. दिपेन्द्रनाथ शर्माले वर्तमान समयमा देशलाई आर्थिक रुपान्तरणतिर अघि बढ्नुपर्ने बताएका छन् ।
सप्तरीको राजविराजमा शुक्रवार बसपार्कको शिलान्यास गर्दै उनले यस्तो कुरा बताएका हुन् । सचिव शर्माले विगतमा भएका विभिन्न आन्दोलन र द्वन्द्वका कारण भौतिक पूर्वाधारहरुमा लगानी भएपनि संतोषजनक उपलब्धी नदेखिएकोले अब मुलुकलाई आर्थिक रुपान्तरतिर अगाडि बढाउनुपर्ने बताए ।
सचिव डा.शर्माले भुकम्प तथा बाढीपछि पूर्नःनिमार्णका लागि मन्त्रालयसँग ५० अर्ब बजेट पुगेको स्थिति रहेकोले अहिले भारतसँग सिमा जोडिएका जिल्लाका सदरमुकामहरुमा भौतिक पूर्वाधार निर्माणका लागि २ देखि ३ अर्बको लगानी गरिरहेको जानकारी दिए । निर्माण कार्य सम्पन्न भएपछि राजविराजको कायापलट हुनेमा आफु आशावादी रहेको उनले बताए ।
तोकिएको समयसिमाभित्र निर्माण कार्य सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिँदै समयमा काम सम्पन्न भए बोनसको समेत व्यवस्था गरिने सचिव शर्माले जानकारी दिँदै भने ‘निर्माण कम्पनीहरुले जिम्मा लिएर पनि काम सम्पन्न नगर्ने प्रवृति छ, यसलाई निरुत्साहित गर्दै जानुपर्दछ, समयमा काम नगर्ने कम्पनीलाई कानून बमोजिम कडा कार्वाही हुन्छ ।’ विकास निर्माण सम्वन्धी काममा उचित वातावरण तयार गर्न राजनीतिक दल, पत्रकार, नागरिक समाज, पत्रकार समेतलाई उनले आग्रह गरेका छन् ।
राजविराज नगरपालिकाका मेयर शम्भु प्रसाद यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा महानिर्देशक शिवहरि शर्मा, प्रमुख जिल्ला अधिकारी भगिरथ पाण्डेय, उप–मेयर साधना झालगायतले मन्तव्य व्यक्त गरे ।
सम्झौता अन्तर्गत सेड, घण्टाघर, भित्रि सडक, सर्भिस सेन्टर, शौचालय, इन्धन ड्रेन, कम्पाउण्ड पर्खाल र टर्मिनल भवन निर्माण रहेको सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय सप्तरीका प्रमुख रमेशकुमार थिङ्गले जानकारी दिए । सघन सहरी विकास कार्यक्रम अन्तर्गत राजविराजमा कर बाहेक १६ करोड ३८ लाख ९६ हजार ५१९ रुपैयाँ १ पैसाको लागतमा बसपार्क निर्माण थालिएको छ । सिनर्जी बिल्डर्स प्रा.लि. काठमाण्डौले उक्त बसपार्कको निर्माण कार्य २०७७ माघ १८ गतेभित्र सम्पन्न गर्नुपर्ने लक्ष्य लिएको उनले जानकारी दिए ।
देशकै पहिलो टाउन प्लानिङ्ग सिटी राजविराजमा बस पार्क नभएका कारण अव्यवस्थित रुपमा दिवा तथा रात्री बसहरु सञ्चालन हुँदैआएको छ । उक्त कार्यक्रमको सञ्चालन वडा अध्यक्ष अरुण कुमार यादवले गरे ।