• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

स्वास्थ्य सेवा सुधारको माग गर्दै जनस्वास्थ्य प्रमुखलाई ज्ञापन–पत्र

स्वास्थ्य सेवा सुधारको माग गर्दै जनस्वास्थ्य प्रमुखलाई ज्ञापन–पत्र

राजविराज, २५ माघ । स्वास्थ्य सेवा सहित विभिन्न विभिन्न पाँच सूत्रीय माग राख्दै जिल्ला स्थित विभिन्न संघ–संस्थाद्वारा जनस्वास्थ्य कार्यालयमा विहीबार ज्ञापनपत्र बुझाईएको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीका प्रमुख ज्ञानबहादुर बस्नेतलाई स्वास्थ्य अधिकार तथा सूर्तीजन्य नियन्त्रण जिल्ला सञ्जाल सप्तरीका संयोजक पार्थो सरकारको नेतृत्वमा ज्ञापनपत्र बुझाईएको हो । गर्भवती तथा सुत्केरी महिलाहरूले पाउनुपर्ने निःशुल्क स्वास्थ्य सेवा सुविधा पाउन नसकेकोले आवश्यक व्यवस्था गर्नुपर्ने, आमा सुरक्षा कार्यक्रम अन्तर्गत गर्भावस्थामा तोकिएको मितिमा चार पटक गर्भ जाँच गराए वापत पाउनुपर्ने चार सय रुपैयाँ तथा सुत्केरी गराउन सरकारी स्वास्थ्य संस्थामा गए वापत पाउनुपर्ने यातायात खर्च कुनै अवरोध बिना समयमा पाउनुपर्ने माग गरिएको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालयले अनुगमन सशक्त बनाउनुपर्ने, राजविराज नगरपालिका क्षेत्रमा प्रभावकारी रुपमा लामखुट्टे नियन्त्रण, गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालबाट पाउने निःशुल्क औषधी वितरण प्रभावकारी नभएको र सप्तरी जिल्लाको अधिकांश स्वास्थ्य चौकीहरुमा बडा पत्र नरहेको भन्दै नियमित सुधार हुनुपर्ने ज्ञापन पत्रमा उल्लेख छ ।
ज्ञापन पत्रमा वि. पी. विचार समाजका अध्यक्ष रामकुमार यादव, एकल महिला समूहकी अध्यक्ष अनिता देवकोटा, ग्रिन नेपालका अध्यक्ष खेलानन्द कुमार दास, शिक्षा यूनेस्को केन्द्रका अध्यक्ष रमेश प्रसाद शाह, जिल्ला मतदाता अधिकार मञ्चका सचिव सिता प्रसाद यादव र माँ लक्ष्मी महिला हरुवा चरुवा बचत तथा ऋण समुह तिलाठी कोईलाडी गाउपालिका–४ कि अध्यक्ष सुनिता देवी साहको हस्ताक्षर रहेको छ । ज्ञापन पत्र बुझाउन उनीहरुले संयुक्त रुपमा जिल्ला जनस्वास्थ्य कार्यालय पुगेका थिए ।