राजविराज, २४ माघ । लुकिछिपी अवैध रुपमा गाउँ सभा गरेको भन्दै तिलाठी कोइलाडी गाउँपालिकाका जनप्रतिनिधी एवम् बुद्धिजिविहरुले गाउँपालिका कार्यालय अगाडि अनिश्चितकालिन रिले अनसनलाई निरन्तरता दिएका छन् ।
तिलाठी कोईलाडी–१ तिलाठी स्थित गाउँपालिकाको केन्द्र अगाडि उनीहरुले मङ्गलवारदेखि धर्ना बसेका हुन् । गाउँपालिकाको व्यवस्थित कार्यालय हुँदाहुँदै समेत अध्यक्ष सतिशकुमार सिंहले सदरमुकाम राजविराज स्थित आशिया पार्टी पैलेसमा पहिलो गाउँ सभा अबैध तरिकाले सम्पन्न गरेको भन्दै उक्त परिषद्का निर्णयहरु खारेज हुनुपर्ने उनीहरुले माग गरेको छन् ।
तिलाठी कोईलाडी गाउँपालिकाको नाम र केन्द्र सार्ने विवादित निर्णय समेत उक्त अबैध गाउँ परिषद्वाट गरिएको भन्दै धर्ना बसेका स्थानिय देवनारायण यादवले निर्णय नसच्याईएसम्म आफुहरुको आन्दोलन जारी रहने बताए । गाउँपालिका कार्यालयमा तालाबन्दी समेत गरिएको छ । गत पुस २१ गते साँझदेखि गाउँपालिका कार्यालयमा तालाबन्दी गरेका छन् ।
गाउँ परिषद्का निर्णयहरु खारेजी गर्नुका साथै गाउँपालिकाको नाम तथा केन्द्र परिवर्तन सम्बन्धी निर्णय परिवर्तन गर्नुपर्ने, चालु आर्थिक वर्ष ०७४÷०७५ को हालसम्म खर्चको विवरण बुझाउनु पर्ने, गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत सरोजकुमार झा उपर छानविन सहित कारवाही हुनुपर्ने लगायतका माग उनीहरुले अघि सारेका छन् । पहिलो दिनको अनशनमा देवनारायण यादव, ललितनारायण झा, नागेन्द्र झा, रविकान्त झा, भुवनेश्वर झा सहितका थिए । दोस्रो दिन सिमारक्षक तथा नेकपा एमालेका नेता देवनारायण यादवसहित वडाका जनप्रतिनिधी एवम् स्थानीय बुद्धिजिवीहरु सहभागी भएका छन् ।
यता गाउँपालिकाकी उपाध्यक्ष सुचिता यादव भने सुरुदेखि नै गाउँपालिका अध्यक्ष तथा प्रमुख प्रशासकीय अधिकृतको रबैया एकलौटीपूर्ण र हेपहा रहेको उनको आरोप छ । निर्णयको प्रतिलिपी तथा बैंक स्टेटमेन्टसम्म माग्दा आफुलाई नदिएको उनको गुनासो छ । एकलौटी रुपमै गाउँपालिका सञ्चालन गर्ने बहुमतीय दम्भ प्रदर्शनको मात्रै काम भइरहेको बताउँदै निर्णय फिर्ता हुनुपर्ने उनले माग गरेकी छिन् ।
गाउँपालिकामा शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार लगायतका क्षेत्रमा लगानी गर्न त्यसै बजेटको खाँचो रहेकोले तिलाठीमा पूर्वाधार हुँदाहुँदै समेत नयाँ केन्द्र स्थापनाको नाममा लाखौं बजेट खर्चिने नियतले यस्तो कार्य गरेको स्थानीयवासिन्दाको आरोप छ । गाँउपालिका रहेको स्थानमा २२ कठ्ठा सरकारी जग्गा, पर्याप्त भवन र भौतिक पूर्वाधारको सुविधा रहदाँ पनि अन्यत्र केन्द्र सारेर गाउँपालिकाको आर्थिक भार बढाउने कार्य भईरहेको अनशनमा सहभागी ललित नारायण झाले बताए ।
यसैबीच गाउँपालिकाका अध्यक्ष सतिश कुमार सिंहले सभाद्वारा गाउँपालिकाको नाम परिवर्तन र ठाउँ सार्ने निर्णय भएको बताएका छन् ।
राष्ट्रिय
तिलाठी कोइलाडि गाउँपालिका अगाडि अनिश्चितकालिन अनसन
निर्णय फिर्तासहित पाँच सूत्रीय माग