Top_Header_Right_Add

संघीयतामा संरचनागत विभेद छः फोरम अध्यक्ष यादव

संघीयतामा संरचनागत विभेद छः फोरम अध्यक्ष यादव

राजविराज, २२ माघ । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान संघीयतामा संरचनागत विभेद रहेको बताएका छन् ।
सप्तरीको रुपनी गाउँपालिकाको प्रथम निती तथा कार्यक्रमको सार्वजनिकीकरण समारोहमा बोल्दै प्रमुख अतिथि यादवले यस्तो कुरा बताएका हुन् । हालको संघीय संरचनामा प्रदेश नम्वर २ अन्य प्रदेशको तुलनामा पछाडि रहेको बताउँदै उनले भने ‘वर्तमान संघीयतामा संरचनागत विभेद छ, यसबभन्दा बढी चरम गरिबी, बेरोजगार र अभावग्रस्त जिवन यसै प्रदेशमा छ, यद्यपी आफुभित्र सम्भावनालाई पहिचान गर्दै विकास र समृद्धितर्फ अगाडि बढ्नु आवश्यक छ ।’
एक आपसमा जातीय विद्वेश र घृणाले गर्दा मधेशको विकास नहुने भएकोले जातीय सहिष्णुता र सद्भावमा बदलिनुपर्ने उनले बताए । मधेशका महिलाहरु अझैं पछाडि रहेको बताउँदै अध्यक्ष यादवले भने ‘मधेशका महिलाहरु अझैं घुँघट र चौखटमा भएको छ, त्यसैले बाहिर ल्याउनु जरुरी छ ।’ 
मधेशका अधिकांश युवाहरु विदेश पलायन भएको तथा गाउँसमाजमा बाँकी रहेका युवाहरु कुलतमा फँसेकोप्रति उनले चिन्ता व्यक्त गरे । ‘गाउँ समाजका युवाहरु रक्सीको कुलतमा फँसेर समाज नै बर्वाद भईरहेको छ, रक्सी सेवनले गर्दा उनीहरु मानसिक र शारिरीक रुपमा विकृत बन्दै गईरहेका छन्’ अध्यक्ष यादवले भने ‘युवाहरु नैतिकवान र आदर्शवान नभएसम्म समाजको विकास असम्भव छ ।’
विकास र समृद्धिको मूल आधार शिक्षा भए पनि मधेशको शिक्षा निती समेत ध्वस्त भईसकेको बताउँदै गुणस्तरीय शिक्षामा जोड दिनुपर्ने उनले आवश्यकता औंल्याए । नियमानुसार पठनपाठन नगर्ने विद्यालय र शिक्षकलाई कार्वाही हुनुपर्नेमा जोड दिँदै समृद्ध समाज बनाउन गुणस्तरीय शिक्षा जरुरी रहेको अध्यक्ष यादवले बताए ।
सप्तरी जिल्ला ऐतिहासिक एवम् राजनीतिक चेतना भएको जिल्ला भए पनि विकासको दृष्टिकोण पछाडि रहेकोप्रति चिन्ता व्यक्त गर्दै कागजी बजेट मिलान गर्ने गलत प्रवृतिलाई निरुत्साहित गर्नुपर्नेमा उनले जोड दिए । रुपनी गाउँपालिकामा औद्योगिक क्षेत्र, दिनाभद्री लगायतका पर्यटकीय क्षेत्रको विकासका साथै कृषि र व्यवसायमा ध्यान केन्द्रित गरिए रुपनी गाउँपालिकाको विकास हुने अध्यक्ष यादवले विश्वास व्यक्त गरे ।
गाउँपालिकाका अध्यक्ष हरेराम यादवले आर्थिक वर्ष २०७४÷०७५ को १३ करोड १५ लाख ५३ हजार रुपैयाँको अनुमानित आय–व्यय प्रस्तुत गरेका छन् । उनले शिक्षा, स्वास्थ्य, कृषि, सडक, लक्षित वर्ग, महिला, युवा, दलित, ज्येष्ठ नागरिक, सशक्तिकरण लगायतका क्षेत्रमा बजेट बिनियोजन गरेका छन् ।
कार्यक्रममा सप्तरी क्षेत्र नम्वर–३ का सांसद चन्द्रकान्त चौधरी, जिल्ला समन्वय समितिका संयोजक प्रभाकर यादव, राष्ट्रिय जनता पार्टी नेपालका केन्द्रीय सदस्य दिनेश कुमार यादव, फोरमका जिल्ला अध्यक्ष दिनेश कुमार यादव, नेकपा माओवादी केन्द्रका व्यवस्था समिति सदस्य भगवती प्रसाद यादव, नेपाल पत्रकार महासंघ सप्तरीका उपाध्यक्ष श्यामसुन्दर यादव, जनता माध्यमिक विद्यालय बसबिट्टीका प्रधानाध्यापक श्यामप्रसाद यादव, कन्छु नर प्रताप माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गानन्द ठाकुर, नेकपा माओवादीका रामभजु यादव, नेकपा एमालेका गणु साह लगायतले मन्तव्य व्यक्त गरे । कार्यक्रममा स्वागत मन्तव्य गाउँपालिकाका उपाध्यक्ष बेचनी सरदारले गरिन् ।

Classified Saptari Buy and Sell in Saptari

About The Author

लेखक यादव पत्रकारिताका साथै भाषा, साहित्य, कला, संस्कृति, पर्यटन, ऐतिहासिक एवम् पुरातात्विक क्षेत्रमा कलम चलाउँछन् (सं) ।

News Portal Web design in Saptari Offer