• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

अभिलेख

प्रदेश नम्वर–२ को प्रदेश सभा बैठक सम्पन्न

मैथिली र हिन्दीमा सांसदहरुको मन्तव्य, दोस्रो बैठक माघ २९ गते
सभामुखको चुनाव फागुन २ गते
प्रदेश नम्वर–२ को प्रदेश सभा बैठक सम्पन्न

राजविराज, २१ माघ । संघीय व्यवस्था अन्तर्गतको प्रदेश २ को प्रदेशसभाको पहिलो बैठक जनकपुर स्थित आइतवार सम्पन्न भएको छ ।
बैठकमा लोकतान्त्रिक आन्दोलनका शहिदहरुको तस्विर राखिए पनि मधेश आन्दोलनका शहिदहरुको तस्विर नराखिएकोले बैठक केहीबेर अवरुद्ध भएको थियो । राष्ट्रिय गान पश्चात बैठक शुरु हुनासाथ राष्ट्रिय जनता पार्टी नेपालका सांसद मनिष कुमार सुमनले आक्रोश व्यक्त गर्दै विरोध जनाएका थिए । यस्तै राजपाकै सांसद डा. डिम्पल कुमारी झाले मधेश आन्दोलनका शहिदहरुको तस्विर नराखिएसम्म बैठक सुचारु हुन नदिने अडान राखेका थिए । बैठक अवरुद्ध गर्न नपाईने भन्दै नेकपा एमालेका सांसदहरुले भने बैठक अवरुद्ध गर्न मिल्दैन भन्दै आपत्ति जनाएका थिए । यद्यपी सभामुख चयन नभईसकेको अवस्थामा बैठकको अध्यक्षता गरिरहेका ज्येष्ठ सांसद लगनलाल चौधरीले मधेशी शहिदहरुको तस्विर राख्ने व्यवस्था मिलाउन आदेश गरेपछि प्रदेश सभाको बैठक शुरु भएको थियो ।
बैठकमा संघीय समाजवादी फोरम नेपालका सांसद लालबाबू राउत, साबित्री देवी साह, राजपाका सांसद जितेन्द्र सोनल र स्वतन्त्र सांसद शेख अब्दुल कलामले हिन्दी भाषामा मन्तव्य व्यक्त गरेका छन् । यसैगरी नेकपा एमालेका सांसद सत्यनारायण मण्डल, नेपाली कांग्रेसका सांसद रामसरोज यादव, नेकपा माओवादी केन्द्रका सांसद भरत साह र नेकपा एमालेका सांसद शत्रुध्न महतोले मैथिली भाषामा मन्तव्य व्यक्त राखेको जनकपुरका पत्रकार घनश्याम मिश्रबाट जानकारी प्राप्त भएको छ ।
प्रदेश सभाको दोश्रो बैठक माघ २९ गते १ बजे बस्ने जनाईएको बैठकमा सहभागी प्रदेश सांसद शैलेन्द्र प्रसाद साहले जानकारी दिएका छन् । उनको अनुसार सभामुख र उप–सभामुखको चुनाव भने फाल्गुन २ गते हुनेछ । १३ सदस्यीय कार्यव्यवस्था समितिको अनुमोदन गर्दै बैठक सम्पन्न भएको उनले जानकारी दिएका छन् ।