राजविराज, १९ माघ । माओवादी केन्द्रको भ्रातृ सङ्गठन योङ कम्युनिस्ट लिग (वाइसिएल) सप्तरीको शुक्रवार सम्पन्न बैठकद्वारा भारतीय सीमा क्षेत्रमा बढ्दो भूमि अतिक्रमण विरुद्ध खबरदारी कार्यक्रम आयोजना गर्ने निर्णय गरिएको छ ।
राजविराजमा सम्पन्न बैठकले सीमाक्षेत्रको स्थलगत अनुगमन तथा आवश्यक कागजातको अध्ययन गरी भूमि अतिक्रमण विरुद्ध खबरदारी गर्ने निर्णय गरेको हो । देशका विभिन्न क्षेत्रमा सीमा अतिक्रमण सम्वन्धि समाचारहरु आउन वाइसिएलले खबरदारी कार्यक्रम सञ्चालन गर्ने जिल्ला संयोजक विनोद कुमार यादवले जानकारी दिएका छन् ।
उनका अनुसार गैरकानुनी रुपमा चुरे पहाड तथा नदीनाला उत्खनन् बढेकोले प्राकृतिक सम्पदाको दोहन रोक्न संघर्ष गर्ने निर्णय गरेको छ । जिल्लामा बढ्दै गएको भ्रष्टाचार, अनियमितता, घुसखोरी, कालोबजारीको अवस्था अध्ययन गरी त्यस विरुद्ध सङ्गठित रुपमा प्रहार गर्ने तथा संलग्न व्यक्तिहरुको पर्दाफास गर्ने निर्णय भएको जनाईएको छ । उक्त बैठकले २३औं जनयुद्ध दिवसलाई भव्य रुपमा मनाउने समेत निर्णय गरेको छ ।
बैठकमा माओवादी केन्द्रका स्थायी समिति सदस्य एवम् पूर्वमन्त्री उमेश कुमार यादव, वाइसिएलका केन्द्रीय सदस्य एजेट न्यासुर (लामा), वाइसिएल नेपाल २ नम्बर प्रदेश कार्यालय सदस्य तथा सप्तरी इन्चार्ज शिवकुमार रामको समेत उपस्थिति रहेको थियो ।