राजविराज, १४ माघ । सप्तरीको साबिक तिलाठी गाउँ विकास समिति हाल तिलाठी कोईलाडी गाउँपालिका वडा नम्वर १ का ३ सय ६० बाढी पीडित परिवारहरुलाई राहतका विभिन्न सामग्रीहरु वितरण गरिएको छ ।
नेपाल सरकार, चाइना एड, युएनडिपी र सबल नेपालको साझेदारीमा सञ्चालित बाढी पीडित सहयोग कार्यक्रम अन्तर्गत त्यहाँका बाढी पिडित
परिवारहरुलाई राहत स्वरुप विभिन्न सामग्रीहरु वितरण गरिएको हो । सबल नेपाल युएनडिपीका कार्यक्रम संयोजक देबेश कुमार चौधरीको अध्यक्षता तथा तिलाठी कोईलाडी गाउँपालिकाका प्रमुख सतिश कुमार सिंहको प्रमुख आतिथ्यमा आयोजित बाढी पीडित सहयोग कार्यक्रममा सशस्त्र प्रहरी सिमा सुरक्षा कार्यालय
सप्तरीका सशस्त्र प्रहरी निरीक्षक प्रभात गौतम, तिलाठी कोईलाडि गाउँपालिका वडा नम्वर १ का वडा अध्यक्ष दिनेश्वर मिश्र, युएनडिपीका जिल्ला संयोजक राहुल मण्डल, जुठीराम चौधरी, पत्रकार शुभ नारायण यादव सहितको उपस्थितिमा सो राहत वितरण गरिएको छ ।
बाढी पीडित परिवारलाई राहत स्वरुप सुपानेट झुल २ थान, चुलो १ थान, कम्बल २ थान, फिल्टर १ थान, ठुलो बाल्टिन १ थान, साबुन, ब्रस सहितका सामग्रीहरु वितरण गरेको सबल नेपालका उपाध्यक्ष भुपेश कुमार साहले जानकारी दिएका छन् ।