राजविराज, १२ माघ । नेकपा माओवादी (केन्द्र) का पोलिट व्युरो सदस्य मातृका यादवले मधेशको मुद्दा समेटेर संविधान संशोधन गर्न वाम गठबन्धन तयार रहेको बताएका छन् ।
सप्तरीको राजविराजमा शुक्रवार प्रेस सेन्टर नेपाल, सप्तरीद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो कुरा बताएका हुन् । गठबन्धन हमेशा मधेशको मुद्दातर्फ गम्भिर रहेको भन्दै यसकालागि मधेशवादी दलले समेत सरकार गठनमा सहकार्य गर्नुपर्नेमा उनले जोड दिए ।
‘मधेशको मुद्दा संशोधनमार्फत सम्वोधन गर्न मधेशवादी दलको सहकार्य पनि जरुरी छ’ उनले भने–‘जुन सहकार्य सरकार गठनमा वाम गठबन्धनलसँग गर्नुपर्ने आवश्यक छ ।’ मधेशवादी दलहरुले बाम गठबन्धनसँग सहकार्य गरेको भए राष्ट्रिय सभामा समेत बढी सिट संख्या पाउने अवस्था समेत गुमाएको बताउँदै माओवादी नेता यादवले भने ‘मधेशवादी दलले बाम गठबन्धनसँग सहकार्य नगरेर ठूलो भूल गरेको छ ।’
मधेशवादी दल र वाम गठबन्धनको सहकार्य भएपछि सरकार गठनमा कुनै बाधा व्यवधान नरहने स्पष्ट गर्दै नेता यादवले त्यस लगत्तै मधेशको मुद्दा समेटेर संविधान संशोधन गर्न दुवै पार्टीका अध्यक्ष तयार रहेको बताए । उनले मधेशका जनताको समस्या समाधान गर्नका लागि समेत मधेशवादी दलका नेताहरुलाई वाम गठबन्धनसँग सहकार्य गर्न आग्रह गरे ।
नेकपा एमालेसँगको एकताको कुरा अन्तिम चरणमा पुगिसकेको जानकारी दिँदै उनले केही नीतिगत विषयमा टुङ्गो लाग्न नसकेका कारण ढिलाई भएको बताए । नेकपा माओवादीको स्पष्ट धारणका साथ प्रस्तुत भएको दावी गर्दै नेता यादवले एमालेभित्रको आन्तरिक बहसका कारण एकतामा केही समय लागेको बताए ।
प्रेस सेन्टरका जिल्ला अध्यक्ष गोपाल प्रसाद गुप्ताको अध्यक्षतामा आयोजित कार्यक्रममा पूर्व सांसद अशोक कुमार मण्डल, पार्टीका केन्द्रीय सदस्य महेश कुमार यादव, प्रदेश सभा सदस्य प्रमिला कुमारी यादव लगायतको उपस्थिति थियो । कार्यक्रम सञ्चलन प्रेस सेन्टरका दिनानाथ यादवले गरे ।