बोधराज सुवेदी
माघ १२ गते महुली । सप्तरीको महुलीमा शुक्रवार एक दिने ईलाका स्तरिय सामुदायिक वन योजना तर्जुमा गोष्ठी सम्पन्न भएको छ ।
सामुदायिक वनको नियमन तथा सुदृढिकरण गर्ने उदेश्यले ईलाका वन कार्यालय महुलीको पहलमा जिल्ला वन कार्यालय सप्तरीले सो गोष्ठीको आयोजना गरेको हो । कार्यक्रममा जिल्ला वन अधिकृत धिरेन्द्र प्रसाद सिंहले सामुदायिक वन सञ्चालन तथा संरक्षण सम्बन्धि उपभोत्ताहरुले अपनाउनु पर्ने आचारसंहिताको वारेमा नेपाल सरकारको नीतिगत ब्यवस्थाको विवेचना गरे । गोष्ठीका प्रमुख अतिथि सिंहले वनको संरक्षण हुन सकेमा मात्र मानव जीवनको अस्तित्व जोगिने बताए ।
वन पैदावारले वातावरण संरक्षण गर्नुको साथै यसले चुरेको माटोलाई जोगाएर राखेको हुँदा मानव वस्ती सम्भव भएको उनले तर्क गरे । उनले भने ‘वनमा डढेलो नियन्त्रण गर्न अग्नीरेखा बनाउने, पानी पोखरी बनाउने, विरुवाको संरक्षण गर्ने तथा माटो बग्नवाट जोगाउने गरेमा चुरेको संरक्षण गर्न सकिन्छ ।’ फरक प्रसङ्गमा उनले आफुले वनलाई छोरा छोरी भन्दापनि वढी माया गर्ने भएकोले वन विनासमा लाग्ने जो कोहीलाई पनि सोझै जेल पठाउने प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रममा सामुदायिक वनले आ.व. ०७४।७५ मा गर्ने वार्षिक कार्यक्रम, लेखा परीक्षण, कार्ययोजना नविकरण, वन संरक्षणकोलागि गस्ती परिचालन, अनुगमन, डढेलो नियन्त्रण लगायतका विषयमा छलफल भएको ईलाका वन कार्यालय महुलीका प्रमुख कृष्ण प्रसाद शिवाकोटीले जानकारी दिए । स्थानिय मझौ सामुदायिक वनका अध्यक्ष महेश्वर प्रसाद कोइरालाको अध्यक्षतामा भएको सो कार्यक्रममा मोहनपुर सामुदायिक वन का अध्यक्ष प्रदिप आचार्य,वावाजीसदा सामुदायिक वनका अध्यक्ष पञ्चु सदा तिरहुत गोरवराइन सामुदायिक वनका सदस्य दुर्गानन्द चौधरी लगायतले सहजिकरण गरेका थिए । कार्यक्रममा महुली ईलाका अन्तरगत पर्ने विभिन्न २६ वटा सामुदायिक वन उपभोत्ता समुहका अध्यक्ष,सचिव तथा सदस्यहरु लगायत ३६ जनाको सहभागिता रहेको आयोजकले जनाएको छ ।