राजविराज, ११ माघ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले अब बाम गठबन्धनले सरकार बनाउने नेपाली काँग्रेस विपक्षमा बस्ने बताएका छन् ।
सप्तरीको राजविराजमा विहिवार छिन्नमस्ता डेरी उद्योगको उद्घाटन गर्दै नेता कोईरालाले यस्तो कुरा बताएका हुन् । ‘पाँच–छ महिनाको सरकारबाट जनता आजित भईसकेको छ’ उनले भने ‘जनतालाई स्थिर सरकारको चाहना छ ।’ प्रदेश र प्रतिनिधिसभा निर्वाचन हुनु अघि नेकपा एमाले र माओवादी (केन्द्र) को बाम गठबन्धनले जनतालाई स्थिरताको सरकार दिने विश्वास गराएकोले वाम गठबन्धनलाई नै सरकार बनाउनुपर्ने बताए ।
‘स्थिरताको सरकार दिन्छु भनेर एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालले जनतालाई विश्वास दिलाएको छ’ उनले भने ‘विश्वासमै परेर जनताले वाम गठबन्धनलाई विजयी गराएको छ ।’ नेता कोइरालाले जनताको विश्वास र चाहनालाई परिपूर्ति गर्नकालागि बाम गठबन्धनले नै अबको सरकार बनाएर जनताको समस्याबाट जुझ्नुपर्ने बताए । ‘जनमत नै हो–वामको सरकार’ उनले थपे–‘त्यसैले काँग्रसलाई विपक्षमै बस्नुपर्छ ।’
उनले विपक्षमा रहेपनि काँग्रेस देश विकास र मधेशको समस्या समाधानका लागि अग्रसर रहने बताए । अर्को प्रसङ्गमा बोल्दै नेता कोईरालाले भने ‘विश्वको जुन सुकै देशमा राजनितिक पार्टीभित्र गुट उप–गुट छन्, काँग्रेसभित्र पनि गुट उप–उप नभएको होईन’ उनले थपे–‘तर, ती गुट उप–गुटको विभिन्न विषयमा आएको निचोडहरु नै गलत थियो ।’
उनले गलत निचोडकै कारण काँगे्रसलाई स्थानिय तहदेखि प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा पराजय व्यहोर्नु परेको बताए । विगतका कमीकमजोरीलाई सच्याउँदै नेपाली कांग्रेस अगाडि बढ्नुपर्नेमा जोड दिँदै उनले भने ‘नेपाली कांग्रेसभित्रको आन्तरिक समस्याका कारण पार्टीले पराजय व्यहोर्नु परेको छ, अब यसलाई सच्याएर अगाडि बढ्नुपर्छ ।’