काठमाडौं, १० माघ । संघीय समाजवादी फोरम नेपालले राष्ट्रिय सभा सदस्यको निर्वाचनको लागि आफ्ना उम्मेदवारको मनोनयन दर्ता गराएको छ ।
आगामी माघ २४ गते हुने निर्वाचनकालागि जिल्ला निर्वाचन कार्यालय धनुषामा रहेको प्रदेश नम्बर २को मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बुधबार मनोनयन दर्ता भएको हो । फोरम नेपालको तर्फबाट सर्लाहीका रामप्रित पासवान र सप्तरीका प्रमिला यादवले राष्ट्रिय सभा सदस्यको पदमा मनोनयन दर्ता गराएका छन् । पासवान र यादव फोरम नेपाल, राजपा र नेपाली कांग्रेसको साझा उम्मेदबार हुन् ।
फोरम नेपाल, राजपा र कांग्रेसले संयुक्त गठबन्धन बनाएर प्रदेश नं. २ को निर्वाचनमा होमिएका छन् । त्रिदलीय सहमतिअनुसार यी तीनवटै दलले दुई दुई सीट पाएका छन् । फोरम नेपालको भागमादलित र महिलाको कोटा परेको थियो, जसअनुसार पार्टीको पदाधिकारी बैठकले मंगलबार दलितकोटाबाट पासवान र महिला कोटाबाट यादवलाई उम्मेदबार चयन गरेको छ ।