• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

राजविराजमा मनाईयो १६ औ गजेन्द्र पुण्यतिथि

सप्तरी सेवा आश्रमको संरक्षणमा जोड
राजविराजमा मनाईयो १६ औ गजेन्द्र पुण्यतिथि

राजबिराज १० माघ । मधेशका प्रणेता तथा मधेशका मसिहा स्व गजेन्द्र नारायण सिंहको १६ औ पुण्यतिथि बुधवार राजविराजमा विभिन्न कार्यक्रम आयोजना गरी मनाईयो ।
राष्ट्रिय जनता पार्टी नेपाल सप्तरीद्वारा आयोजित विचार गोष्ठीमा बोल्दै राजपा नेपालका वरिष्ठ उपाध्यक्ष मृगेन्द्र कुमार सिंह यादवले मधेशको पहिचान समावेशिता, संघीयता नागरिकता, आरक्षण, समतामुलक समाज निर्माणको अधिकार सहित मधेशीलाई हरेक क्षेत्रमा आधा अर्थात ‘सौ मे पचास’ पाउनुपर्ने मागका लागि आजिवन संघर्ष गरेको चर्चा गरे । गजेन्द्र बाबुका निकटतम् बरिष्ठ पत्रकार बिष्णुकुमार मण्डलले गजेन्द्र बाबुले संघीयता नै वास्तविक लोकतन्त्रको भएकोले संघीयताकै माध्यमबाट आफनो गाउँ–ठाँउको विकास र नेतृत्व दुबैमा मधेशीले समान अधिकार पाउनुपर्ने उद्देश्यकासाथ संघर्ष गरेको बताए । नेता सिंहले सम्पूर्ण जीवन मधेश र मधेशीकै लागि समर्पित गरेको चर्चा गर्दै मण्डलले कर्मथलोका नाममा एक मात्र सप्तरी सेवा आश्रम समेत हाल अस्तित्व विहिनको अवस्थामा पुगेको भन्दै नेतृत्ववर्ग गम्भीर बन्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा राजपाका उपाध्यक्ष रामनारायण यादव, केन्द्रीय सह–महासचिव गजेन्द्र मण्डल, केन्द्रीय सदस्य विशेश्वर रजक, दिनेश यादव, नेपाल मधेशी निजामति कर्मचारी मञ्च सप्तरी तथा निजामति कर्मचारीहरुकाे अाधिकारिक ट्रेड युनियन सप्तरीका अध्यक्ष अजय कुमार झा, संघीय समाजवादी फोरम सप्तरी सचिव केदार यादव, विद्यार्थी मञ्च केन्द्रीय अध्यक्ष किशोर कुमार यादव, शम्भु यादव, प्रेस मञ्चका केन्द्रीय सचिव चन्दनकुमार यादव, राजविराज नगर कमिटिका अध्यक्ष अमरकान्त झा, उपाध्यक्ष प्रमोद यादव, शिक्षक कैलाश कुमार यादव, युवा नेता निरज झा, लगायतले सिंहको योगदान र संघर्षबारे चर्चा गरे ।
राजपा नेपाल सप्तरीका कार्यवाहक संयोजक अमरनाथ मण्डलको अध्यक्षतामा आयोजित कार्यक्रमको सञ्चालान जिल्ला सचिव हरेराम यादवले गरे ।
यसैगरी बुधवारै बिहान स्व. गजेन्द्र नारायण सिंहको समाधीस्थल तथा गजेन्द्र चौकको शालिकमा मधेशवादीदलका नेता तथा कार्यकर्ताहरूले फूलमाला लगाउँदै श्रद्वा सुमन अर्पण गरेका छन् ।