राजविराज । शीतलहरबाट जोगाउन दलित तथा विपन्न परिवारलाई लक्षित गरी सप्तरीका एक क्लवले शुक्रवार समेत कम्वल वितरण कार्यलाई निरन्तरता दिएका छन् ।
पुस महिनाको दोश्रो साताबाट सुरु भएको शीतलहरका कारण कष्टकर जीवन विताउँदै आएका जिल्लाको राजविराज नगरपालिका–९ मलेठका ११ वटा डोम परिवारलाई धर्मी हल्फा महिला विकास क्लव लालापट्टि नामक संस्थाले कम्वल वितरण गरेको हो । क्लवका अध्यक्ष ईन्जिनियर सुर्यनारायण यादव, जिल्ला शिक्षा कार्यालय सप्तरीका परीक्षाका प्रमुख विरेन्द्र चौधरी, वडाध्यक्ष शम्भु यादव, समावेशी अपाङ्गता संघका सतिशचन्द्र झा लगायतले संयुक्त रुपमा डोम परिवारलाई राहत वितरण गरेका छन् ।
जाडोले कठ्याङ्ग्रिदो जीवनयापन गर्दै आएका ती डोम परिवारले कम्बल पाएपछि खुशी भएका छन् । संस्थाले यसअघि पनि जिल्लाको विभिन्न स्थानका दलित तथा विपन्न परिवारहरुलाई कम्बल वितरण गरिसकेको छ ।