राजविराज, ४ माघ । सप्तरीको राजविराज नगरपालिका वडा नम्वर–४ कि रामपरी देवी शर्माका पतिसहित सन्तानहरु मानसिक समस्याबाट ग्रसित रहँदैआएका कारण उपचार गराउन र परिवार धान्न समस्या भएको छ ।
चरम गरिबीबाट गुज्रिदैआएकी उनको परिवारका चार जना सदस्यलाई मानसिक उपचारका साथै घरखर्च समेत जुटाउनुपर्ने बाध्यताले उनलाई थप समस्या भएको हो । रामपरीका ४५ वर्षिय पति गणेश, २२ वर्षिय मनोज र छोरीहरु १९ वर्षिया पुनम र १७ वर्षिया कोशिलालाई मानसिक रोग ‘सिजोफ्रेनिया’ भएको जनाईएको छ । वीरगञ्ज मेडिकल कलेजका नसा तथा मानसिक रोग विशेषज्ञ भरतकुमार गोइतले ६ वर्षअघि जाँच गर्दा उनीहरुलाई सिजोफ्रेनिया भएको यकिन गरिएको थियो ।
वंशाणुगतरूपमा सर्ने यो रोग अत्यन्त जटिल प्रकारको मानसिक रोग भएको तथा यो विश्वको कुल जनसंख्याको करिब एक प्रतिशतमा हुने गरेको डा. गोइतको भनाई छ । चारै जनाले डा. गोईतले सिफारिस गरेको औषधि नियमित सेवन गर्दैआएका थिए । यद्यपी औषधी सकिएपछि भारतको सिलिगुडि र त्यसपछि धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार हुँदै आएकोमा पछिल्लो समय औषधी किन्नेसम्मको खानेसम्मको पैसा नभएपछि आफुहरु थप समस्यामा परेको कोशिलाले बताईन् ।
ससुराले राजविराज हटियामा आरन चलाउँदैआएकोमा दुई वर्ष अघि मृत्यु भएपछि त्यसमै पति गणेशले काम गर्ने गरेको जानकारी दिँदै उनले भनिन् ‘मुड चलेको बेला काम गरेपछि सय दुई सय कमाउनु हुन्छ, कहिलेकाही त त्यो पनि हुँदैन ।’ छोराछोरी उमेरको हिसाबले ठूलो देखिए पनि अनअपेक्षित व्यवहारहरु देखाउँदा सम्हाल्नै गाह्रो हुने गरेको उनले बताईन् ।
परिवारका सदस्यहरु रोगी भएपछि रेखदेख गर्नमै भ्याई नभ्याई हुने गरेको रामपरीले दुःखेसो सुनाईन् । ‘ जेठो छोरा मनोज २२ वर्षको छ तर दिमागले काम गर्न छाडेका कारण घरबाट बाहिर निस्केर माग्दै हिड्छन्, लुगा लगाएको वा नलगाएको होस रहँदैन’ भावुक हुँदै उनले भनिन् ‘छोरी पूनम १९ वर्षकी छिन् तर होसमा रहँदै जतिबेला पनि घरबाट निस्किने गर्छिन्, १७ वर्षिया कोशिलाको पनि यस्तै हालत छ, पति गणेश समेत कुनै बेला पकाएको खाना समेत फालिदिन्छन् ।’ छोरा मनोज र छोरी कोशीलाको अवस्था अत्यधिक विग्रिंदै गएकाले आफु थप समस्यामा परेको उनले बताईन् ।
कान्छो छोरा विष्णु अन्य सन्तानहरुभन्दा अलि समान्य रहेकोले छोरालाई स्कूलमा पढाउँदैआएकोमा केही महिना स्कूल जान पनि छाडेको उनले बताईन् । ‘कक्षा ८ मा पढ्दै गरेका छोराले परिवारको बिँडो थाम्छ होला भनेर भनेर जेनतेन स्कूलको फी तिरेर पढाउँदैआएको थिएँ, तर अहिले विष्णु स्कूल जान पनि छाडिदिएको छ ।’ सम्पूर्ण परिवारको जिम्मेवारी टाउँकामा थपिएको बताउँदै घरमा खानेकुराको जोहो मात्र नभई निगरानी समेत गर्नुपर्ने बाध्यता रहेको रामपरीले दुःखेसो सुनाईन् ।
कैयौं घरमा चुलो बल्ने अवस्था नभएपछि छोराछोरीको भोको पेट भर्नकालागि काम चहार्दै हिंडेकोमा राजविराजको एक मारवाडीको घरमा काम थालेको उनले बताईन् । ‘सरसफाई सम्वन्धि काम गरेवापत दैनिक दुई सय रुपैयाँका दरले कमाउने गरेकी छु, कुनै दिन छोराछोरीलाई खोज्नकै लागि काम समेत छोड्नुपर्दा त्यो पनि हुँदैन’ परिवारको चिन्ताले गल्दै गएकी रामपरीले थपिन् ‘कुनै बेला त यस्तो लाग्छ आफैं मरिहालुँ तर जन्म दिएको सन्तानको मायाले जिउँदो लाश बनेर बाँच्नुपरेको छ ।’
परिवारका सदस्यहरुको उपचारका लागि आर्थिक श्रोत नहुँदा थप समस्यामा परेको उनले बताईन् । सहयोगकालागि याचना गर्दै उनले भनिन् ‘परिवारको हातमुख जोर्नै समस्या छ, उपचार गराउने सामथ्र्य छैन, कान्छो छोरा विष्णुलाई नजँचाए पनि अन्य सन्तान भन्दा अलि समान्य रहेकोले पठन–पाठनमा सहयोग गरिदिन बिन्ती गर्दछु ।’
शब्द तथा तस्विरः श्यामसुन्दर यादव/राजविराज