आयुष श्रेष्ठ
राजबिराज, १० पुष । खेतमा खुल्ला रुपमा शौच गर्ने बानी, बाउ–बाजेले पनि शौचालय भनेको के हो देखेको थिएन क्यारे, मलाई नि उहाँहरुले त्यस बारे केही भन्नु भएको थिएन । भन्दै बिष्णुपुर गाउँपालिका (साबिकको गा.वि.स. सिमराहा सिंगियौन(९) निवासी रामाधिन सदाले बृतान्त सुनाए । कुल १८ जनाको परिवार रहेको सदाले सुनाएको बृतान्तः
कुनै समय मेरो बस्तीमा पनी एउटा शौचालय थिएन । म प्राय कार्य गर्न महिना २ महिनामा भारत तिर जाने गर्छु । म भारत जाँदा मुम्बई वा दिल्ली शहर जाने गर्छु । भारतको राजधानी तथा विकसित शहर भएको कारणले गर्दा र मैले कार्य गर्ने कम्पनी बजार क्षेत्रमा भएकोले खुल्ला दिसा पिसाव गर्न निक्कै कठिन हुने गथ्र्यो । त्यहाँ टायल्स जडित शौचालयहरु रहेका हुन्थ्यो । पहिलो पटक भारत जाँदा त शौचालयमा दिसा पिसाब गर्न आफुलाई निकै अप्ठ्यारो महसुस भएको थियो । तथापि शौचालयमा दिसा पिसाव गर्दै जाँदा सजिलो महसुस हुँदै गयो ।
मलाई लाग्छ सायद त्यो समुदायमा सबैले शौचालयको प्रयोग गरेर मैले पनि गर्न पाएँ र गरे पनि । त्यस्तै म आफनो घर फर्केर आउँदा समुदायमा कसैको शौचालय हुदैन थियो । म पनि बाहिर नै दिसा पिसाव गर्न मन पराउँथे । हाल केही महिनादेखि ओडिएफ भन्ने शब्द सुने । सोध्दा थाहा पाए गाउँहरु खुल्ला दिसामुक्त हुदैछ । अब बाहिर दिसा–पिसाव गर्न दिदैन । सरकारले नै नीति बनाएको छ । समुदायमा त्यो थाहा पाएर समुदायका ब्यक्तिहरुले भन्ने गर्थे सरकारले नै चर्पी आएर बनाई दिन्छ हाम्रो गाउँमा पनि आउँछ बनाई दिई हाल्छ नी । बनाएदिए पछि दिसापिसाव गरौला । बनाए दिए पनि हाम्रो त खुल्लामा शौचालय गर्ने बानी रहेको छ शौचालयको प्रयोग कसरी गर्ने होला । केही भएन भने केटाकेटीलाई दिसा पिसाब गर्न लाउँछु । कसैले भण्डार कोठा बनाउँछु जस्ता अनेक थरिका कुरा गर्ने गर्थे । मेरो पनि बुझाई उनीहरु भन्दा केही फरक थिएन ।
केही दिनपछि हाम्रो गाउँमा पनि खुल्ला दिसामुक्त क्षेत्रको कार्यक्रम आएको थाहा पाए । र सबल नेपालले कार्यक्रम सञ्चालन गरेको रहेछ । सोही कार्यक्रम अन्र्तगतका कर्मचारी लक्ष्मी चौधरी कर्मचारीको रुपमा हाम्रो समुदायमा आइन् र चर्पी बनाउन आग्रह समेत गरिन् । ‘हामीले पनि हुन्छ नी त बनाई देउ भने उनले ठाढो बोलीमा खानलाई सरकारले पैसा दिन्छ र ? तिमीहरुलाई हग्नलाई पैसा दिनुपर्ने । भन्ने शब्द बोले यो सुनेर हामीलाई त्यसबेला साह्रै रिस उठ्यो । हामीले तुरुन्त उनको प्रतिवाद पनि गरे । तर उनले सरकारले नै हाल नीति लिई कुनै सहयोग नदिई सवैले आफनो चर्पी आफै बनाउने निर्णय गरेको जानकारी गराए । त्यो सुनेर हाम्रो चित्त पनि बुझ्यो । तथापी हामीलाई चर्पी बनाउन शोच चाहि बदलिन सकेन उनले ।
दिन बित्दै गयो हामी पजि खुल्ला रुपमा शौचालय गर्दै गयौैं । एकदिन मेरो छोरा विद्यालयबाट घर आयो र भन्छ बुवा हाम्रो घरमा पनि शौचालय बनाउनु पर्यो । मैले किन चाहियो शौचालय ? यति खुल्ला ठाउँ छदै छ किन चाहियो भनेर प्र्रश्न गरे । उसले भन्यो बुवा खुल्ला ठाउँमा हामीले दिसा गर्दा हामीले हाम्रो दिसा आफै खाने गर्छौ । उसले यसो भन्ना साथ मैले रिसाएर उसलाई भने बढी जान्न लागिस पढ्न लागेर, जे पाए तै कसरी खान्छ आफनो दिसा आफै ? अनि उसले भन्छ बुवा हामीले खुल्ला ठाउँमा दिसा गरे भने त्यहाँ झिंगा लाग्छ नै, किन भने झिंगालाई मन पर्ने खाना भनेकै दिसा हो । तसर्थ खुल्ला ठाउँको दिसा खान झिंगा गएको बेला उसको खुटामा दिसा लाग्ने गर्छ र हामीले झिंगा सानो भएकोले उनको खुटामा लागेको दिसा देख्न पाउदैनौ तसर्थ झिंगा खानामा बस्यो भने खानामा लागेको दिसा पनि हामीले नदेखि अन्जानमा दिसा खाने गर्दर्छौ । यसो भनेपछि मलाई वास्तवमा दिसा खाको अनुभुति भयो । अनि मैले उसलाई भने हुन्छ बावु अव हामी पनि शौचालय बनाउने केही दिन पछि पैसा भएपछि ।
केही दिनपछि फेरी मेरो छोराले बुवा अव चर्पी बनाउनै पर्छ । चर्पी मान्छेलाई नभई नहुने कुरा रैछ बनाउनुस न बुवा, भने अनि मैले हुन्छ बावु अव बनाउने भन्दै गफ टाले । फेरी छोराले भन्छ बुवा अब बाहिर दिसा–पिसाव गर्नु हुदैन । हाम्रो स्कुलको बालक्लबमा म पनि छु । हाम्रो बालक्लबले नै निर्णय गरेको छ । बाहिर दिसा पिसाव गर्ने ब्यक्तिलाई सिटी बजाएर लाज लगाउने । हामीले बनाइनौ भने मेरो त बेईज्जतै हुन्छ बुवा । यो सुनेर मैले हैन अव त बनाउनै पर्छ भनी ठाने र आफै चर्पी बनाउन पनि शुरु गरे चर्पी किन यता उताको बनाउने पक्की नै बनाउने निर्णय गरे र बनाउन शुरु परि गरे । चर्पीमा छाना लगाउन मात्र बाँकी थियो २८ गते बिहान ४ बजे तिर घर भरि एकासी पानी आयो । पानी आएपछि हामी सवैजना तर्सिए पानी कमरसम्म आईसकेको थियो । हामी जसो तसो खाटमा उभिएर आफुलाई जोगाए भने छोरालाई चाहि मैले बोकेको थिए । पानी रुक्ने कुनै छाटकाट नै देखिन । दिउँसो तिर पानी रुकेपछि बाहिर एकछिन के गाको मैले सोच बदलेर बनाएको शौचालय झवाम्मै झर्यो । घर फुसको भए पनि शौचालय पक्कीको बनाएको थिएँ । एक पटक बनाएपछि बर्षौ ढुक्क हुन्छ भनि बनाएको शौचालय भत्किएपछि मेरो मन र मेरो शोच भत्किएको छैन । मैले चर्पी बनाउन आँट गरेको छु, म बनाउँछु नै । मेरो कारणले मेरो छोराको बदनामी हुनु ठिक होईन । चर्पी सवैलाई आवश्यक कुरा हो । मेरो बस्तीमा पनी सवैले अहिले चर्पी बनाइ सकेको छ । चर्पी नभएको कारणले बाढीमा समेत मलाई चर्पी गर्न गाह्रो भएको थियो । चारैतिर पानी भएकोले जता दिसा पिसाव गरे पनि आफनै घरमा बगी आउने भएको तथा साँप किराको समेत डर भएकोले चर्पीको आवश्यक्ता मलाई अझ महसुस भएकोले चर्पी बनाउन कमर कसेको छु र केही दिनमै आकर्षक चर्पी म बनाउँछु आएर सरहरु हेर्नु होला भने ।
निज रामाधिन सदाले आफनो चर्पी समेत बनाई सकेको र सिमरा सिंगियौनबासीले समेत एक घर एक चर्पी बनाई जिल्ला सरसफाइ तथा स्वच्छता समन्वय समितिले समेत खुल्ला दिसा मुक्त क्षेत्र घोषणाकोलागि हरियो झण्डा दिई सकेको छ ।