• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

पत्रकारहरुको समस्या बुझ्दै महासंघको केन्द्रीय टोली

पत्रकारहरुको समस्या बुझ्दै महासंघको केन्द्रीय टोली

राजविराज, १४ मंसिर । आगामी मंसिर २१ गते हुन लागेको प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनको सन्दर्भमा नेपाल पत्रकार महासंघका केन्द्रीय पदाधिकारीहरुको एक टोलीले सप्तरीका पत्रकारहरुसँग अन्तरक्रिया गरेका छन् ।
महासंघ शाखा सप्तरीको सभाकक्षमा विहीवार आयोजित कार्यक्रममा सप्तरीका पत्रकारहरुले निर्वाचन सम्वन्धी सूचना संकलन, मतदान हुने दिन तथा मतदान पश्चात समाचार संकलनका क्रममा खेप्नुपरेको समस्याबारे टोलीलाई जानकारी गराएका छन् । सूचनामा सहज पहुँच, शान्तिपूर्ण वातावरणमा समाचार संकलन, दक्षता अभिवृद्धि, सुरक्षा चुनौती, पारिश्रमिक समस्या लगायतका विषयमा समेत पत्रकारहरुले महासंघको केन्द्रीय टोलीलाई अवगत गराएका छन् ।
महासंघका जिल्ला अध्यक्ष जितेन्द्र खड्गाको अध्यक्षतामा आयोजित कार्यक्रममा वरिष्ठ पत्रकार शिवहरि प्रसाद भट्टराई, प्रेस स्वतन्त्रता सेनानी बैद्यनाथ झा, नेपाल पत्रकार महासंघ सप्तरीका पूर्व अध्यक्षहरु व्यासशंकर उपाध्याय, धीरेन्द्र प्रसाद साह, महासंघका उपाध्यक्षहरु श्यामसुन्दर यादव, सुधा देव, पत्रकार हेमशंकर सिंह, माला कर्ण समेतले मन्तव्य व्यक्त गरे ।  कार्यक्रम सञ्चालन सचिव जितेन्द्र कुमार झाले गरे ।