• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

मतदाता रिझाउन उम्मेदवारहरुको भोट माग्ने आ–आफ्नै शैली(हेर्नुहोस् तस्विर)

मतदाता रिझाउन उम्मेदवारहरुको भोट माग्ने आ–आफ्नै शैली(हेर्नुहोस् तस्विर)

राजविराज, ११ मंसिर । दोस्रो चरणको प्रतिनीधि सभा र प्रदेश सभाको चुनाव नजिकिंदै जाँदा उम्मेदवारहरु मतदातालाई रिझाउन धान खेतसम्म धाउन थालेका छन् ।
मंसिरको यो समयमा मतदाताहरुलाई धान काटेर भित्र्याउने चटारो परेकोले उम्मेदवारहरु खेतमै पुगेर भोट माग्न थालेका हुन् । ग्रामिण भेगका वासिन्दाहरुले यतिबेला वर्षभरिलाई हातमुख जोर्नकालागि पाकिसकेको धानबाली भित्र्याउने कार्यलाई प्राथमिकता दिएका छन् ।
सर्वसाधारणहरु बिहानै घरबाट निस्केर खेतमै दिनभरि धान काट्नमै व्यस्त रहने गरेकोले मत माग्न गाउँबस्ती पुगेका उम्मेदवारहरुलाई अधिकांश ज्येष्ठ नागरिक र बालबालिका मात्र भेटिने गरेको छ । मतदाताहरु नै नभेटिने भएपछि उम्मेदवारहरु समेत विहानै मत माग्न गाउँबस्तीहरुमा हुइँकिने गरेको स्थानीयवासिन्दाहरु बताउँछन् ।
उम्मेदवारहरुलाई घरदैलोका क्रममा मतदाताहरु कमै मात्र भेट्टिने गरेकोले उनीहरुले समेत बस्ती हुँदै धान खेत समेत धाउने गरेका छन् । मधेशमा यतिबेला धानबाली भित्र्याउने समय भएकोले गाउँमा कमै मात्र मतदाता भेट्टिने गरेको संघीय समाजवादी फोरम नेपालको तर्फबाट क्षेत्र नम्वर–२ प्रदेशसभा ‘ख’ का उम्मेदवार शैलेन्द्र प्रसाद साह बताउँछन् । ‘यहाँका बहुसंख्यक वासिन्दा कृषिमा आधारित छन्, मुख्य पेशा व्यवसाय नै कृषि हो’ उनी थप्छन् ‘अति व्यस्त समय भए पनि चुनावप्रति सर्वसाधारण जनता उत्साहित छन् ।’
अधिकांश मतदाताहरु धान काट्न, धानको बोझा ओसार्न, बयलगाडीमा बोझा भित्र्याउने तथा गहुँबालीकालागि खेत जोत्ने क्रममा भेटिने गरेका छन् । मतदातालाई आफ्नो पक्षमा पार्नकालागि उम्मेदवारहरुले नमस्ते, प्रणाम आदि भन्दै विनम्रताकासाथ प्रस्तुत हुने गरेका छन् । कतिपय उम्मेदवारहरुले भने खुट्टा ढोगेर आशिर्वाद थाप्ने गरेका छन् भने महिलाहरुलाई आफ्नो चिन्ह देखाउँदै मतदान गर्न आग्रह गर्ने गरिएको दृष्य छ्यापछ्याप्ति देख्न सकिन्छ । निहुरिने अभ्यास नभएका कतिपय उम्मेदवारलाई ढोग्दाढोग्दै ढाड समेत दुख्न थालेको एक उम्मेदवारले अनुभव सुनाए ।
मत माग्ने क्रममा कतिपय उम्मेदवारले भने एकै ठाउँमा गाउँका मान्छेलाई भेला पारेर सर्वसाधारणको गुनासो सुन्नुका साथै अन्य पार्टी तथा पूर्व जनप्रतिनीधिहरुमाथि दोष थुपार्दै मतदाताको मन जित्ने दाउमा छन् । जनताको पीडा तथा गुनासो सुनेर आफु चुनाव जितेपछि सबै समस्याको समाधान गर्ने आश्वासन समेत बाँड्ने गरेका छन् ।
यतिमात्र होइन मधेश आन्दोलनमा रहेका दलका उम्मेदवारहरुले संविधान संशोधन, आन्दोलनमा प्रहरी दमन, राज्यद्वारा गरिँदैआएको विभेद, मधेश प्रदेश लगायतका मुद्दाहरुको विषयमा चर्चा गर्दै मत माग्ने गरेका छन् । मधेश आन्दोलनमा चरम दमन, शहादत प्राप्त गरेकाहरु, घाइते तथा बच्चाहरुको भविष्यलाई समेत हेरेर मधेशी गठबन्धनका उम्मेदवारहरुले मत माग्ने गरेका छन् ।
यस्तै बाम गठबन्धन, लोकतान्त्रिक गठबन्धन लगायतका उम्मेदवारहरुले भने मधेशबाट बहुमत पाए संविधान संशोधनका साथै विकास र समृद्धिको कुरा उठाउने गरेका छन् । उनीहरुले विकास निर्माण तथा जनजिविकाको सवाललाई प्राथमिकताकासाथ उठाएर बाचा पुरा गर्ने प्रतिवद्धता गर्ने गरेका छन् ।
यस्तै विभिन्न पार्टीबाट असन्तुष्ट भई स्वतन्त्र उम्मेदवारी दिएकाहरुले भने पार्टीमा नातावाद, कृपावाद हावी भएको भन्दै त्यस्ता कार्य विरुद्ध आफुहरुले उम्मेदवारी दिएको बताउँछन् । विभिन्न आन्दोलनहरुमा आफुले महत्वपूर्ण भूमिका निभाउँदा पनि नाम नसुनेका उम्मेदवारहरुले चुनावमा टिकट पाएको स्वतन्त्र उम्मेदवारहरुको आरोप छ । स्वतन्त्रबाट उम्मेदवारी दिएकाहरुले भने विभिन्न मुद्दाहरु उठाएर मतदाता रिझाउनमा व्यस्त छन् ।

(तस्विरः विभिन्न माध्यमबाट संकलन गरिएको हो ।)