राजविराज, १० मंसिर । स्वतन्त्र मधेश गठबन्धनले आइतबार मधेशका जिल्लाहरूमा रंगभेदी गिरफ्तारीको वार्षिकी मनाएका छन् ।
२०७१ साल मंसीर १० गते नेपाल सरकारले काठमाडौंको सुन्धारा क्षेत्रबाट ३०० भन्दा बढी मधेशीहरुलाई छालाको रंग देखेरै गिरफ्तार गरेको घटनाको अवसरमा गठबन्धनले विभिन्न जिल्लाहरूमा यस वर्ष पनि मंसिर १० गते प्लेकार्ड सहित शांतिपूर्ण प्रदर्शन गर्दै ’रंगभेदी गिरफ्तारीको वार्षिकी’ मनाएको हो । यस अघि उक्त दिवस मनाउने क्रममा २०७२ सालमा १५० जना तथा २०७३ सालमा १०० भन्दा बढी स्वराजी पक्राउ परेका थिए ।
रंगभेद विरुद्धको दिवसको अवसरमा बाँके, बर्दिया, दाङ्ग, रुपन्देही, नवलपरासी, पर्सा, बारा, रौतहट, महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी र झापासहितका जिल्लाहरुमा रंगभेदी विरुद्धको दिवस मनाईएको जानकारी प्राप्त भएको छ ।
यसै क्रममा सप्तरीको विभिन्न स्थानहरुमा समेत रङ्गभेदी दिवस मनाईएको छ । जिल्लाको तिलाठी कोइलाडी, हनमाननगर कंकालिनी, महदेवा, तिरहुत, बर्साइन, डाक्नेश्वरी, रुपनी, खडक, कञ्चनरुपसहितका नगरपालिका तथा गाउँपालिकाहरुमा गठबन्धनका समर्थकहरुले रङ्गभेदी दिवस मनाएको जिल्ला संयोजक सुरेन्द्र मधेशीले जानकारी दिएका छन् ।
‘नो भोट’ अभियानको क्रममा भएको दमनको विरोधमा प्रदर्शन गरिएको हो । त्यस क्रममा सिरहाबाट राजकुमार यादव (त्यागी), रामकरण यादव र सुरेश प्रसाद यादवलाई नेपाल प्रहरीले पक्राउ गरेको छ । आउँदो निर्वाचनमा जनताले आफ्नो ‘राइट टू रिजेक्ट’ प्रयोग गरी ‘नो भोट’का लागि प्रचार–प्रसार गरेको अभियोगमा शनिवार सप्तरीको राजविराजबाट शंकर खड्गा, बाँकेको हिर्मिनियाबाट बेद प्रकाश र डुडुवा–६ बाट अब्दुल शेख, तथा मंसीर ७ गते बिहीबार रौतहटबाट अशोक सिंह र वीरेन्द्र कुमार साहलाई नेपाल प्रहरीले पक्राउ गरी हिरासतमा राखेको छ ।
गठबन्धनका सह–संयोजक प्रा. कैलाश महतोले पक्राउ परेकाहरुको विना शर्त रिहाईको माग गर्दै पहलकालागि सम्वद्ध पक्षसँग आग्रह गरेका छन् ।