राजविराज, ९ मंसिर । मधेशी गठबन्धनका केन्द्रीय नेताहरु वर्तमान संविधान विभेदकारी एवम् नश्लवादी चिन्तनबाट ग्रसित रहेको यसलाई संशोधन गर्नकालागि राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरमका उम्मेदवारहरुलाई मतदान गर्न आह्वान गरेका छन् ।
सप्तरी सदरमुकाम राजविराजमा शनिवार आयोजित बृहत चुनावी सभालाई सम्बोधन गर्दै केन्द्रीय नेताहरुले यस्तो आग्रह गरेका हुन् । संघीय समाजवादी फोरम नेपाल अध्यक्ष उपेन्द्र यादवले मधेश विरोधी शक्तिहरुलाई पहिचान गर्दै शहिदको बलिदानी र भावी सन्ततीको भविष्य सुनिश्चित गर्न संविधान संशोधन आवश्यक रहेको बताए । ‘यो संविधान नश्लवादी चिन्तनमा आधारित छ, यसको संशोधन नभएसम्म यसलाई कदापि स्वीकार गर्न मिल्दैन’ सप्तरी क्षेत्र नम्वर २ बाट प्रतिनीधि सभा सदस्यका उम्मेदवार समेत रहेका उनले भने ‘मधेशी, थारु, आदिवासी, दलित, जनजाति, मुस्लिम, लगायत उत्पीडित समुदायको बराबरीको हक सुनिश्चित गर्न मधेशबाट मधेशी गठबन्धनका उम्मेदवारहरुलाई जनताले जिताएर पठाउनु जरुरी छ ।’
मधेशमा २२ जिल्ला रहे पनि षडयन्त्र गरेर मधेश विरोधी पार्टीहरुले खण्डित गरेको चर्चा गर्दै हालको प्रदेश नम्वर–२ लाई ब्यालेटको माध्यमले कब्जा गरेर खोसिएको भू–भागकालागि संघर्ष गरिने बताए । प्रदेश नम्वर–२ लाई मधेश प्रदेश बनाउन दुई तिहाई बहुमत आवश्यक रहेकोले मधेश पक्षधर उम्मेदवारहरुलाई तटस्थ भएर मतदान गर्न अध्यक्ष यादवले आग्रह गरे । मधेशका जनतलाई माईनस गरेर जारी गरिएको संविधान संशोधन गरेर शोषित उत्पीडित जनताको अधिकार सुनिश्चित गर्न संशोधन नभए पुर्नलेखन गर्न बाध्य हुने समेत चेतावनी दिए ।
राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) का अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले मधेश विरोधी संविधान कार्यान्वयन हुन नदिने बताए । सप्तरीको राजविराजमा शनिवार आयोजित चुनावीसभालाई सम्वोधन गर्दै नेता ठाकुरले यस्तो चेतावनी दिएका हुन् । मधेशी जनताको हक अधिकार कुण्ठित गरेर संविधान जारी गरिएको वताउँदै नेता ठाकुरले मधेशीको हक अधिकार संशोधनमार्फत संविधानमा सुनिश्चित नभएसम्म संविधान कार्यान्वयन हुन नदिने बताए । उनले मधेश आन्दोलनका क्रममा राज्यद्वारा मच्चाईएको आतंकलाई महाअपराधको संज्ञा दिदै न्यायालयले उनीहरुलाई माफी दिएपनि ईश्वरले कदापि माफ नगर्ने बताए ।
अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले मधेशी जनताको हक अधिकार सुनिश्चताका लागि फोरम–राजपा गठबन्धनलाई निर्वाचनमा मत हालेर विजयी गराउन आग्रह गरे । अन्तरिम संविधानमा रहेको अधिकारलाई समेत कट्टा गरेर मधेश विरोधी संविधान बन्दुकको बलमा जबदस्ती लादिएकोले चर्चा गर्दै उनले भने ‘मधेशी जनताले अब चुक्नु हुँदैन, मधेशको पक्षमा उभिनुपर्ने बेला आएको छ ।’ 
मधेशी जनताले पटक–पटक धोका पाउँदै आएको चर्चा गर्दै उनले हरेक क्षेत्रमा बराबरीको हककालागि मधेश बिद्रोह भएको बताए । शान्तिपूर्ण मधेश आन्दोलनमा मधेशी जनतामाथि ताकीताकी टाउँका र छातीमा गोली हानेको स्मरण गर्दै उनले भने ‘मधेशी जनताले मधेश केन्द्रित पार्टीहरुलाई एक ठाउँमा आउन भन्यो, जनताको भावनालाई सम्मान गर्दै हामी ६ ओटा पार्टी एक भयौं र पछि संघीय समाजवादी फोरम नेपालसँग समेत सहकार्य गरेर एकै ठाउँमा आएका हौं, अब मधेशी जनताले समेत हाम्रा उम्मेदवारहरुलाई मतदान गरेर देखाउनुपर्छ ।’ मधेश आन्दोलनमा भएको चरम दमन आफुहरु कदापि नबिर्सने बताउँदै नेता महतोले शहिद र परिवारका बच्चाहरुको भविष्यलाई मतदान गरेर ताकत देखाउन आग्रह गरे ।
राजपा सप्तरीका संयोजक सुनिलकुमार झाको अध्यक्षतामा आयोजित सभामा संघीय समाजवादी फोरम नेपालकी राष्ट्रिय उपाध्यक्ष रेणु यादव, केन्द्रीय सदस्य डा. खालिद हुसैन हक, पार्टीका केन्द्रीय नेता सरिता गिरी, राजनीतिक समिति सदस्य शैलेन्द्र प्रसाद साहलगायतले सम्बोधन गरे । कार्यक्रम सञ्चालन संघीय समाजवादी फोरम नेपालका जिल्ला अध्यक्ष दिनेश कुमार यादवले गरे ।
चुनावी सभामा हज्जारौं जनसमुदायको सहभागिता रहेको थियो ।