राजविराज, ८ मंसिर । सप्तरी सदरमुकाम राजविराजमा आयोजना गरिएको एक कार्यक्रममा सहभागी बुद्धिजिविहरुले वर्तमान संविधानमा मधेशको असन्तुष्टिलाई संशोधन मार्फत सम्बोधन नगरिए मधेशमा अर्को विद्रोह हुने बताएका छन् ।
मधेश सम्वाद समूह नेपालद्वारा राजविराज नगरपालिकाको सभाहलमा आयोजित लोकतन्त्र र मधेशः वर्तमान अवस्था एवम् भावी चुनौती विषयक अन्तरक्रिया कार्यक्रमका वक्ताहरुले यस्तो कुरा बताएका हुन् । राजनीतिक विष्लेशक प्राध्यापक अमरकान्त झाले मधेश आन्दोलनको भावनालाई लत्याउँदै बन्दुकको बलमा जारी गरिएको संविधान कदापि स्वीकार गर्न नसकिने बताए । शोषित उत्पीडित समुदायको हक अधिकार सुनिश्चित हुनुपर्नेमा वर्तमान संविधानमा खस आर्यको प्रतिनीधित्व सुनिश्चित गरेको बताउँदै उनले भने ‘मधेश आन्दोलन जस्तो विश्वमै यस्तो शान्तिपूर्ण आन्दोलन भएको छैन, तर यस्तो आन्दोलनको भावनालाई लत्याएर खस आर्य लक्षित संविधान जबरदस्ती जारी गरिएको छ, यो संविधान संशाधन नभएसम्म कदापि स्वीकार्य हुँदैन ।’
वर्तमान संविधानलाई अलोकतान्त्रिक एवम् विभेदकारीको संज्ञा दिँदै प्राध्यापक झाले यो संविधानले मधेशी जनतालाई कहिले पनि हित नगर्ने तर्क प्रस्तुत गरे । ‘अहिलेको सात प्रदेशको संरचनामा प्रदेश नम्वर २ बाहेकमा खस आर्य नै प्रमुख हुने अवस्था छ, यस्तो अवस्थामा मधेशको निर्णायक अवस्था रहँदैन’ उनले भने ‘वर्तमान संविधानमा गरिएको व्यवस्था अनुसार राष्ट्रपति, राष्ट्रसभा प्रमुख, सभामुख ईत्यादी मधेशी कदापि हुन सक्दैन ।’ संविधानमा भाषा, नागरिकता र प्रतिनीधित्व लगायतका सवालहरु पूर्ण रुपेण विभेदकारी रहेको बताउँदै मधेशवादी दलहरुले विगतमा गरेका कमीकमजोरीलाई सुधार गरेर एकतावद्ध भएर अगाडि बढ्नुपर्ने तथा मधेशी जनताले समेत मधेशको पक्षमा कठोर भएर उभिनुपर्ने प्रा. झाले बताए ।
कार्यक्रममा इतिहासविद् प्रा.डा. पिताम्बरलाल यादवले तीन ठूला दल मधेश र मधेशी जनताप्रति जिम्मेवार नरहेको भन्दै मधेशको पक्षमा मधेशी जनता लाग्नुपर्नेमा जोड दिए । अन्तर्राष्ट्रिय मूल्य–मान्यतालाई समेत लत्याउँदै मधेशी जनतामाथि गोली चलाई लाश कुल्चेर जबरदस्ती तीन दल विभेदकारी संविधान लादेको चर्चा गर्दै उनले भने ‘मधेशी जनतालाई पशुभन्दा पनि निकृष्ट व्यववहार गर्दै अन्तर्राष्ट्रिय मूल्य मान्यतालाई लत्याउँदै निहत्था मधेशी जनताको टाउँका र छातीमा गोली ठोक्नेहरुले कहिले पनि मधेशी जनताको हित गर्दैन ।’
कार्यक्रमका प्रमुख अतिथि मधेश आन्दोलनका शहिद दिलिप कुमार साहकी धर्मपत्नी पूनम कुमारी साहले मधेश आन्दोलनमा सहादत दिएकाहरुको बलिदानी खेर जान नदिन मधेशी जनताको हकमा संविधान संशोधन हुनुपर्नेमा जोड दिए । मधेश र मधेशी जनता अधिकार सम्पन्न नभएसम्म शहिदको आत्माले शान्ति नपाउने भन्दै उनले नेताहरुलाई अझ जिम्मेवार हुनुपर्ने आवश्यकता औंल्याउँदै उनले भने ‘मधेशी जनताले मधेश आन्दोलन र शहिदलाई नबिर्सन मेरो आग्रह छ ।’
कार्यक्रममा वरिष्ठ पत्रकार शिवहरि प्रसाद भट्टराई, नेपाल सद्भावना पार्टी गजेन्द्रवादीका अध्यक्ष विकास कुमार तिवारी, राजविराज नगरपालिकाकी उप–मेयर साधना झा, प्रा. जयनारायण यादव, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य अवधेश कुमार झा, महासंघका जिल्ला अध्यक्ष जितेन्द्र खड्गा, पूर्व अध्यक्ष धिरेन्द्र प्रसाद साह, महासंघका उपाध्यक्ष एवम् मैथिली साहित्य परिषद्का सचिव श्यामसुन्दर यादव, सचिव जितेन्द्र कुमार झा, नेपाल शिक्षक महासंघ सप्तरीका पूर्व अध्यक्ष भवेन्द्र प्रसाद यादवलगायतले मन्तव्य व्यक्त गरे ।
मधेश सम्वाद समूह नेपालका अध्यक्ष देबेश झाको अध्यक्षतामा आयोजित कार्यक्रम द्वन्द्व व्यस्थापनका विज्ञ हेमन्त झाले समन्वय गरेका थिए भने कार्यक्रम सञ्चालन साहित्यकार करुणा झाले गरिन् । सोही कार्यक्रममा शहिद पत्नी पूनम कुमारी साहलाई दोसल्ला ओढाएर सम्मान गरिएको छ ।