राजविराज, ७ मंसिर । जिल्ला समन्वय समितिको विहीवार सम्पन्न मतदान प्रक्रियाबाट कार्य समिति चयन भएको छ ।
समन्वय समितिमा मधेशी गठबन्धनबाट उम्मेदवारी दिएका प्रभाकर यादव (मनोज)को नेतृत्वमा प्यानलै विजयी भएको हो । राजपाका यादवले २० मत प्राप्त गरेर निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमाले र काँग्रेस गठबन्धनका उम्मेदवार भुपेन्द्र यादवले १६ मत प्राप्त गरेका छन् ।
समितिका उप–प्रमुखमा संघीय समाजवादी फोरमका थनेश्वर यादवले २० मत प्राप्त गरी विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका सञ्जय कुमार पासवानले १६ मत प्राप्त गरेका छन् । महिला सदस्यमा राजपाकी लक्ष्मी देवी साफी २१, गीता कुमारी खङ्ग २०, संघीय समाजवादीबाट महिला सदस्यमा आशा देवी झाले १८ मत प्राप्त गरी विजयी भएका छन् । संघीय समाजवादी फोरम नेपालका बलदेव वाँतर यस अघि नै निर्विरोध निर्वाचित भएका थिए ।
यसैगरी राजपाका मो. दाउद हुसेन १७, फोरमका सलिम मियाँ १६ र ओमप्रकाश यादवले १७ मत ल्याएर विजयी भएका छन् । सप्तरीमा ९ नगरपालिका र ९ वटा गाउँपालिकाबाट ३६ जनाले मतदान गरेका थिए ।
जिल्ला समन्वय समितिका लागि ९ पदमा २१ जनाले उम्मेदवारी दिएकोमा ४ जना उम्मेदवारीले फिर्ता लिएका थिए ।