राजविराज, ६ मंसिर । सप्तरी सदरमुकाम राजविराज नगरपालिकाको मुटमै अवस्थित गजेन्द्र चौकदेखि शहिद दशन चौकसम्मको सडक निर्माण कार्यले तिब्रता पाएको छ ।
सडक विभागको सहयोगमा सडक डिभिजन कार्यालय लहान मार्फत तीन सय मिटर पक्की सडक निर्माण कार्यले तिब्रता पाएको हो । कुल एक करोडको योजना रहेकोमा ५५ लाखमा स्थानीय श्यामा कन्सट्रक्सनले पुस महिनाभित्र सम्पन्न हुने गरी ठेक्का लिएको सडक डिभिजन कार्यालयका ई. शोभितलाल ठाकुरले जानकारी दिएका छन् ।
उनका अनुसार सम्झौता अनुसार ३ सय मिटर लम्बाई र ७ मिटर चौडाई भएको उक्त सडकको दुवैतर्फ १.५ मिटर आरसिसी ढलान गरिने छ । अति व्यस्त मानिने मुख्य सडकलाई जेसिबीले खनेर छाडिदिएपछि धुलाम्मय र कच्ची बाटोमा आवागमनमा सर्वसाधारण समस्या भईरहेको थियो । सर्वसाधारण जनताको गुनासो आउन थालेपछि यस दैनिकले सडक निर्माणको विषयमा सडक डिभिजन कार्यालय पुगेर चासो लिएपछि निर्माण कामले तिब्रता पाएको छ ।
सब ग्रेड अर्थात जेसिबीले खनेर पुरानो कालोपत्रेलाई झिक्ने र सब बेस ग्राभेल (१५ से.मि.) कार्य सम्पन्न भईसकेको ई. ठाकुरले बताए । उनका अनुसार ५ से.मि. ग्राउटिङ्ग, ३ से.मि. तथा बालुवाको प्रिमिक्स कार्पेटिङ्ग अर्थात स्याण्ड सिल गरिने छ । यस अतिरिक्त राजविराज नगरको अन्य सडकहरुमा समेत काम थालिने उनले जानकारी दिए ।
राजविराज नगरपालिकामा हाल भईरहेको काम गुणस्तरीय हुनेमा आफुहरु सजग रहेको सडक डिभिजन कार्यालय लहान सिरहाका प्रमुख रामकुमार देवले बताए । आफुले समेत प्रत्यक्ष रुपमा निर्माण कामबारे जानकारी लिने गरेको बताउँदै आम नगरवासीलाई समेत सजग रहन आग्रह गरेका छन् ।