राजविराज, १५ भदौ । निर्वाचन क्षेत्र निर्धारण आयोगले देशैभरि संघीय संसद्का लागि १६५ र प्रदेश सभाकालागि ३३० गरी प्रत्यक्षतर्फ कुल ३९५ क्षेत्रको सिमा निर्धारणसहितको प्रतिवेदन बुझाएको छ ।
आयोगले बुधबार साँझ नेपाल सरकारलाई प्रतिवेदन बुझाएको हो । आयोग सदस्य माधव अधिकारीका अनुसार एक नम्बर प्रदेशमा २८, २ नम्बर प्रदेशमा ३२, ३ नम्बर प्रदेशमा ३३, ४ नम्बर प्रदेशमा १८, ५ नम्बर प्रदेशमा २६, ६ नम्बर प्रदेशमा १२ र ७ नम्बर प्रदेशमा १६ निर्वाचन क्षेत्र निर्धारण गरिएको छ ।
नेपाल सरकारलाई बुझाएको प्रतिवेदन अनुसार सप्तरीमा निर्वाचन चार र प्रदेश सभाकालागि आठ क्षेत्रको प्रस्ताव गरेको छ । सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सासमेत गरी ३२ (बत्तीस) निर्वाचन क्षेत्र र ६४ प्रदेश सभा भएको छ ।
निर्वाचन क्षेत्र नम्वर १ मा सप्तकोशी गाउँपालिका, कञ्चनरुप नगरपालिका, अग्नीसाइर कृष्णासवरण गाउँपालिका, तिरहुत गाउँपालिका र हनुमाननगर कंकालिनी नगरपालिका परेको छ । क्षेत्र नम्वर–२ मा महादेवा गाउँपालिका, तिलाठी कोइलाडी गाउँपालिका, राजविराज नगरपालिका र छिन्नमस्ता गाउँपालिका परेको छ । यसैगरि प्रदेश नम्वर–३ मा रुपनी गाउँपालिका, शम्भुनाथ नगरपालिका, विष्णुपुर गाउँपालिका, बेल्ही चपेना गाउँपालिका र डाक्नेश्वरी नगरपालिका रहेको छ । यस्तै क्षेत्र नम्वर–४ मा खडक नगरपालिका, सुरुङ्गा नगरपालिका, बोदेबरसाइन नगरपालिका र बलान–विहुल गाउँपालिका परेको छ ।
३५ वटा जिल्लामा एउटामात्र निर्वाचन क्षेत्र निर्धारण गरिएको छ । सबैभन्दा धेरै १० निर्वाचन क्षेत्र भने काठमाडौंमा रहेको छ । दुईवटा निर्वाचन क्षेत्र हुने जिल्ला २१, तीनवटा निर्वाचन क्षेत्र हुने जिल्ला ७, चारवटा निर्वाचन क्षेत्र हुने जिल्ला ९, पाँच निर्वाचन क्षेत्र हुने जिल्ला तीन र ६ निर्वाचन क्षेत्र हुने जिल्ला एक मात्र छ ।
एक निर्वाचन क्षेत्र भएको जिल्लाहरुमा ताप्लेजुङ, पाँचथर, धनकुटा, तेह्रथुम, संखुवासभा, भोजपुर, सोलुखुम्बु, ओखलढुंगा, खोटाङ, रामेछाप, दोलखा, रसुवा, लम्जुङ, मनाङ, मुस्ताङ, म्याग्दी, पर्वत, अर्घाखाँची, प्युठान, रोल्पा, रुकुम पूर्व, रुकुम पश्चिम, सल्यान, जाजरकोट, डोल्पा, जुम्ला, कालिकोट, मुगु, हुम्ला, बाजुरा, बझाङ, डोटी, डडेलधुरा, बैतडी र दार्चुला रहेको छ ।
दुईवटा निर्वाचन क्षेत्र भएका जिल्लाहरुमा इलाम, उदयपुर, सिन्धुली, सिन्धुपाल्चोक, काभ्रे, भक्तपुर, नुवाकोट, धादिङ, मकवानपुर, गोरखा, तनहुँ, स्याङ्जा, बाग्लुङ, नवलपरासी सुस्ता पूर्व, नवलपरासी सुस्ता बर्दघाट पश्चिम, पाल्पा, गुल्मी, बर्दिया, सुर्खेत, दैलेख र अछाम रहेको प्रतिवेदनमा उल्लेख छ ।
तीनवटा निर्वाचन क्षेत्र भएका जिल्लाहरुमा ललितपुर, चितवन, कास्की, कपिलवस्तु, दाङ, बाँके र कञ्चनपुर छन् । चारवटा निर्वाचन क्षेत्र भएका जिल्लाहरुमा सुनसरी र दुई नम्बर प्रदेश अन्तर्गतका आठ जिल्ला (सिराहा, सप्तरी, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा) रहेको छ ।
यस्तै झापा, रुपन्देही र कैलाली जिल्लामा पाँच निर्वाचन क्षेत्र तथा मोरङमा ६ निर्वाचन क्षेत्र निर्धारण गरिएको छ ।