राजविराज, १ भदौ । स्वतन्त्र मधेश गठबन्धनका केन्द्रीय संयोजक डा. सि.के. राउतले यतिबेला सप्तरीका बाढीपीडितहरुको अवस्थाबारे जानकारी लिने क्रमलाई तिब्रता दिएका छन् ।
डा. राउतले मंगलबारदेखि बाढी प्रभावित तथा डुवानमा परेका बस्तीहरुमा पुगेर उनीहरुको अवस्थाबारे जानकारी लिने क्रमलाई तिब्रता दिएका हुन् । जन्मस्थान सप्तरीको महदेवा पुगेर भारदहस्थित कंकालिनी मन्दिरमा पूजाआजा गर्दै बाढीप्रभावित क्षेत्रहरुको वस्तु स्थिति बुझ्ने कार्यलाई उनले निरन्तरता दिएका छन् । जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिकाको विभिन्न वस्तीका साथै बनरझुला, टिकुलिया, कुशहा, रम्पुरा मल्हनियाँ लगायतका वस्ती तथा अस्थायी शिविरमा पुगेर बाढीपीडितहरुसँग भेटघाट गरेका छन् ।
आफ्ना समर्थकका साथ डा. राउतले डुङ्गा चढेर तथा वस्तीहरुमा पैदलै हिडेर बाढीपीडितहरुप्रति सहानुभूति व्यक्त गरेका छन् । सोही क्रममा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै डुवानमा परेका वस्ती तथा सम्पर्क बिहिन बनेका सर्वसाधारणलाई उद्धार गर्न स्थानीय प्रशासनले गम्भिरता नदेखाएको भन्दै आक्रोश व्यक्त गरेका छन् । बाढीपीडितहरु भोकभोकै बसिरहँदापनि सरकारले राहत तथा उद्धारका कामलाई प्रभावकारी रुपमा अगाडि बढाउन नसकेको गुनासो गर्दै डा. राउतले भने ‘हालसम्म राज्य सम्वेदनाबिहिन बनेका छन्, आन्दोलनका बेला मधेशी जनतालाई गोली हान्न तत्पर रहने सरकारले अहिले विपत्तिमा परेका मधेशी जनतालाई वेवास्ता गरेको छ ।’
राज्यले संघ संस्थालाई राहत वितरणमा रोक लगाएको प्रति आक्रोश व्यक्त गर्दै उनले सरकारद्वारा लगाइएको उर्दीलाई तोड्दै मानवीय सहयोगमा जुट्न आहवान गरे । ‘सरकारले आफूपनि बाढीपीडितलाई राहत नदिने र सहयोग गर्न चाहने दातालाई पनि काम गर्न नदिने ठूलो विभेद हो, यसलाई तोडेर मानवीय सहयोगमा जुट्न म सबै पक्षसँग आग्रह गर्दछु ।’ गठबन्धनसँग आवद्ध स्वराजीहरुलाई राहत तथा उद्धार कार्यमा जुट्न समेत आहवान गरेका छन् । डा. राउत जिल्लाका अन्य क्षेत्रका बाढीपीडितहरुको अवस्था बुझ्ने कार्यलाई निरन्तरता दिएका छन् । जिल्ला बाहेक मधेशका अन्य स्थानहरुमा समेत यो कार्यलाई निरन्तरता दिइने जनाइएको छ ।