राजविराज, ३२ साउन । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले भूकम्पका बेला मधेशले पहाडलाई सहयोग गरेको चर्चा गर्दै यतिबेला पहाडले मधेशलाई सहयोग गर्नकालागि प्रतिवद्ध रहेको बताएका छन् ।
सप्तरीको राजविराज नगरपालिकाको वडा नम्वर–१५ स्थित देउरीभरुवामा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो कुरा बताएका हुन् । देशमा विपत्तीको अवस्था आएकोले यति विपत्तीमा एक–अर्काको घाउमा मलम लगाउनुपर्ने बताउँदै उनले भने ‘भूकम्पका बेला मधेशले पहाडलाई सहयोग गरेको चर्चा गर्दै यतिबेला पहाडले मधेशलाई सहयोग गर्नकालागि प्रतिवद्ध छ ।’नेपाल प्राकृतिक रुपमा सुन्दर र मनोरम देश भए पनि बेलाबेलामा प्राकृतिक प्रकोपले दुःख दिने गरेको पूर्व प्रधानमन्त्री दाहालले बताए ।
विपत्तिलाई सबै मिलेर सामना गर्नुपर्नेमा जोड दिँदै उनले भने ‘विपत्तिलाई हामी सबै मिलेर सामना गरौं ।’ सप्तरीका बाढीपिडितलाई पार्टीले विशेष राहत उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरे । बाढीका कारण मृत्यु भएका परिवारलाई दुई÷दुई लाख राहत रकम उपलब्ध गराउने सरकारले गरेको निर्णय बाहेक माओवादी पार्टीले विशेष राहत उपलब्ध गराउने उनले बताए । अविरल वर्षासँगै खाँडो खोलामा आएको बाढीले बगाएपछि वेपत्ता भएका राजविराज नगरपालिका वडा नम्वर–१५ देउरी भरुवाका डोमी यादवकी पत्नी घनादेवी, छोराहरु मनाेज, सरोज परिवारसँग भेटघाट गर्दै अध्यक्ष दाहालले शोकाकुल परिवारप्रति समवेदना प्रकट गर्दै भने ‘धैर्य गर्नुस्, हामी सबै तपाईको साथ छौं ।’
उनले देउरी भरुवाका १ सय ८३ बाढीपिडित परिवारलाई २५ किलो चामल, एक कार्टन चाउचाउ र एक कार्टुनका दर वितरण गर्न सामुहिक रुपमा पूर्व प्रधानमन्त्री दाहालले राहत हस्तान्तरण गरे । उक्त अवसरमा गृहमन्त्री जनार्दन शर्मा, आपुर्ति मन्त्री शिवकुमार मण्डल, नेकपा माओवादी केन्द्रका पोलिटव्युरो सदस्य तथा सांसदद्वय उमेश कुमार यादव र अशोक कुमार मण्डल ‘अमर’ लगायतका व्यक्तिहरु सहभागी थिए । सोही अवसरमा देउरीभरुवाबासीले प्रधानमन्त्री र गृहमन्त्रीलाई डोमी यादवलाई शहिद घोषणा, क्षतिपूर्ती, परिवारजनको व्यवस्थापनलगायतका माग राख्दै ज्ञापनपत्र बुझाएका छन् ।यसअघि पूर्व प्रधानमन्त्री दाहाल, गृहमन्त्री शर्मासहितको टोलीले जिल्लाको कंकालनी हनुमाननगर नगरपालिका–११ स्थित ईनर्वाका मुसहर बस्तीका बाढीपीडितलाई भेंटघाट गर्दै राहत वितरण गरेका छन् । 

